सुजना अर्याल

रङ्गीबिरङ्गी सुन्दरताले तिम्रो नयनलाई डोर्याउँछ नै होला
सुरिलो गुनगुनाहटमा तिम्रो मन रमाउँछ नै होला
मग्न बास्नामा तिम्रो ध्यान हराउँछ नै होला
तर फूलहरू ओइलिएर जान्छन् नै एक दिन।

ओइलिएर जाने फूलहरूलाई
किन सजाएर राख्छौ ए!
नासिएर जाने फूलहरूलाई
किताबको पानाभित्र नराख
सम्झनामा नराख
मिल्न देऊ फूलहरूलाई यही माटोमा
आफ्नै अस्तित्वमा हराउन देऊ।

उदाउँदो अस्ताउँदो घामसरह
बितिरहेको समयसरह
बगेर जाने नदीसरह
हराएर जानेलाई पनि सहज रूपमा लिऊ
मिल्न देऊ फूलहरूलाई यही माटोमा
तिम्रो स्मृतिमा जीवित नराख
किताबको पानाभित्र नराख
तिम्रो सम्झनाको बोझमा नराख।

फूलहरू समयमा ओइलाएकै जाती
यो संसारको कैदमा नराख।
म पनि ओइलिसकेपछि
यिनै फूलहरू सरह
मिल्न देऊ यही माटोमा
तिम्रो सम्झनामा नराख
यो संसारको कैदमा नराख।

Facebook Comments Box

Similar Posts