गणेश घिमिरे ’मार्मिक’
(छन्द: श्रग्धरा)
गाई पाल्दैन मान्छे कुकुर घरभरी पाल्छ साथै सुताई
गाईको दुग्धभन्दा अमृत मद भयो हाय कस्तो बुझाइ !
मान्छेमा भेद गर्छन् छुत अछुत भनी जातले भात छुन्छ
जल्ले विश्वास गर्छन् हर क्षण तिनकै साथमा घात हुन्छ ।
जो जो बन्दो छ माली हरबखत उही फाल्छ बोटै उखेली
मौका हेरेर विद्वान् दलबदल गरी भ्रष्टकै बोक्छ झोली
भ्रष्टाचारीहरुकै प्रतिदिन छ ठुलो दब्दबा देशभित्र
मर्छन् निर्दोष निर्धा गरिबजन यहाँ हाय कस्तो विचित्र !
सम्धी साला बुहारी टिकट जति सबै बाँड्छ नेता तिनैमा
राम्रोभन्दा छ हाम्रो पछि पछि दुनिया हिँड्छ संस्कार छैन
सोझासाझा र सज्जन् गरिबजन बरा बस्दछन् पेट काटी
नेता बन्दैन मान्छे किन भन जनता देशलाई नढाँटी ?
मान्छे गर्दै छ धन्दा निशदिन कसरी धर्मको नाम बेची
पाखण्डी धूर्त ढोँगी कति ठग धरतीभित्र छन् निर्विवेकी
कालो धन्दा कसैले हरबखत गरी बन्दछन् हाइहाइ
चोखो बन्छन् फटाहा कति सहज बलात्कारवाला लुकाई ।
बोक्सी भन्दै लखेट्छन् गरिब दलित भए बेसहारा बनाई
धामी उफ्रन्छ जान्ने बनिकन बलले मूत्र आची खुवाई
लाटोजस्तै रमाई खुबसँग रमिता हेर्छ हाम्रो समाज
यस्तै यस्तै कुराले सबल मुलुक यो नर्क बन्दै छ आज ।


