मीनाकुमारी लामा
म सानो छँदा
सोच्थेँ–
मेरा बाआमा कहिल्यै बुढो हुनुहुन्न !
घाम त बुढो हुन्छ !
बिहान झुल्कने घाम
साँझ बुढो भएर
रातभरका लागि अस्ताउँदा
सोच्थेँ
मेरा बाआमाले हरेक बिहान
घामलाई बोलाउनुहुन्छ
घरको आँगनमा
अहिले त
मेरा बाआमा आफै घाम बन्नुभएको छ
बादलले आकाशको घाम छेके पनि
मेरो घरमा घामको उज्यालो छेकिन्न
बाआमाको पाकेको अनुहारबाट आउने किरण
घामका किरणभन्दा तेजिला र शीतल हुन्छन्
घरमा बाआमा भएपछि
न बादल लाग्छ
न कुनै अभाव देखिन्छ
म सानो छँदा
सोच्थेँ–
मेरा बाआमा कहिल्यै बुढो हुनुहुन्न !
घाम त बुढो हुन्छ
तर अहिले उहाँहरु घाम बन्नुभएको छ !
बुढो हुनुभएको छैन ।


