दीपक समीर

शान्तिको खोजीमा मेरो आत्माबाट
जब उड्छ एउटा सेतो परेवा
विक्षिप्त मैनाको बथान उर्लिन्छ मैतिर
स्वर्गीय सपना बोकेर !
विवश म, आर्यघाटमा जलाउँछु लाइटर
र पोल्छु आफ्नै किरा परेको गिदी
त्यो एक रात टाँसिन्छु प्रेतसँग हिट्लरकी प्रेमिकाजस्तै
प्रश्न गर्छु उजेलीहरुलाई कुन सपना किनिदिऊँ भनेर
ठिक त्यसैबेला एकाएक देख्छु
टाढा क्षितिजमा हिउँको सिन्दुर
अनि निस्फिक्री चिच्याउँछु–
मभित्रको निर्दोष बालक हराएको सूचना
आक्रमण गर्छन् नशालु प्रश्नहरुले कि
हरिश्चन्द्र जति नै सत्य भए पनि के भयो ?
यहाँ मरिरहेछन् हाम्रा बलिसराहरु रित्ता बस्ती नै पिच्छे
जलिरहेछ मेरो समाज
बहुलाएका छन् स्वयं अप्सरा
जब पढ्छु यो अराजक समय र वाहियात जीवन
तब बिस्तारै जान्छु आर्यघाट
सांसारिक सुखको मलामी बनेर !
देख्छु–
एउटी निर्दोष चेली जलिरहेकी छ अपमानको रापले
तर उनकै बलात्कारी उनकै अगाडि
खेलिरहेछ म्यारिज खेल
आगो ओकल्नु छ, निल्नु छ चट्टान
पार्नु छ धुजा धुजा यो विभेदको संसार
त्यही युद्धको शङ्खघोषस्वरुप
प्रकृतिलाई लेख्छु एक रूमानी प्रेमपत्र
‘आमा ! म तिम्रो दशधारा दुधको रिन तिर्दै छु
छातीमा सङ्गिन रोपेर
नपत्याए हेर त–
पर क्षितिजमा कालो हुँदै छ घामको रङ !’

Facebook Comments Box

Similar Posts