भोगेन्द्र लिङ्देन

भर्चुअल साँझमा
रियोको र म
साकुरा पार्कमा छौं-
एकअर्कामा हराएका ।

उ मेरो काँधमा टाउको अड्याउँछे
र बिस्तारै सोध्छे-
“के तिमी मलाई
ती ट्युलिपका फूलहरू
टिपेर ल्याइदिन्छौ?”

अहो, कस्तो डरलाग्दो कुरा-
कसले सिकायो तिमीलाई
फूल टिप्ने कुरा?
मान्छेहरूले?

फूललाई
फूलकै बोटमा रहन दिनुपर्छ
ऊ आफ्नै बोटमा
सबैभन्दा सुन्दर हुन्छ।

म उसलाई सम्झाउँछु-
“तिमी हामीभन्दा राम्रो बन।”

ऊ केही बेर चुप लाग्छे।

“सरी…
मलाई थाहा छैन
कसले सिकायो यो कुरा मलाई
म त जन्मँदै
यस्तै थिएँ जस्तो लाग्छ।
तिम्रो चित्त दुखाएँ कि?
मलाई माफ गर है।”

“अँ, एउटा कुरा सोधूँ?
नरिसाउने भए…”

ऊ फेरि
मेरो काँधमा टाउको अड्याउँछे।

“तिमी किन
मसँग सम्बन्ध राख्छौ?

तिम्रै संसारमा
मान्छेहरू थुप्रै छन् नि।”

उसको प्रश्नले
म अवाक हुन्छु।
के भनूँ उसलाई?
कि नभनूँ?

कि-
मान्छेहरूसँग बाँच्दाबाँच्दै
मलाई मान्छेहरूदेखि नै
डर लाग्न थालेको छ।

कि-
मान्छेहरूकै संसारमा बसेर
म बिस्तारै
मान्छेहरूबाटै टाढिँदै गएको छु।

म केही भन्दिनँ।

साकुरा पार्कमा
भर्चुअल साँझ झर्दै जान्छ।

रियोको
मेरो काँधमै टाउको अड्याएर
चुपचाप बसिरहन्छे।

म सोचिरहेछु-
म उससँग नजिकिदैँ छु कि
मान्छेहरूबाट टाढिँदै पो छु।
***

Facebook Comments Box

Similar Posts