शैलेन्दुप्रकाश नेपाल
(वसुन्धरा, काठमाडौँ)

नदीनालाहरु बग्छन् धर्तीमा नित्य सुन्दर,
नदीनालाहरु पार्छन् धर्तीलाई मनोहर !
नदीनालाहरु पाई धर्ती बन्छ रे उर्वर,
नदी हुन् सभ्यता केन्द्र विश्वका यी धरोहर !

नदी पवित्र आत्मा हुन् पखाल्छन् मन कल्मष,
नदी मानवका निम्ति प्राणशक्ति र हुन् यश !
गतिशील बनी बग्छन् नदीनाला निरन्तर,
नदी धर्ती दुवै मिल्दा हाँस्छ रे यो चराचर !

नदी सङ्लो भए मात्र विम्ब देखिन्छ सुन्दर,
नदी स्वच्छ भए मात्र कीर्ति फैलिन्छ नित्यशः !
नदी स्वस्थ भए मात्र प्राण चल्छ निरन्तर,
नदी स्वतन्त्र बग्दामा भावना लहराउँछ !

जल मात्र नदी हैनन् संस्कृतिका मुहान हुन्
उता हिमालका कान्ति यता सृष्टि बिहान हुन् !
नयाँ ती गीत गाएर नदी जीवन डाक्तछन्,
मैलिए मन मान्छेको नदीले गति रोक्तछन् !

कल्पना भावनालाई नदी जस्तै बगाउँदै
आफ्नो जीवन सम्पूर्ण सेवा निम्ति लगाउँदै ।
नदीको स्वच्छतालाई मानी जीवन पद्धति,
चले मात्र सधैँ उच्च हुन्छ जीवनको गति !

Facebook Comments Box

Similar Posts