राजबाबु पहाडी
(वन विज्ञान अध्ययन संस्थान हेटौँडा, सानोपोखरा)

नानी हो हेरिहाल
त्यो हिमालमाथि आकाशमा
क¥याङकुरूङका बथानहरु ।
साइबेरिया भन्ने दूर देशबाट उडेका हुन्

अबदेखि यिनीहरु कहिल्यै उड्ने छैनन् ।
बिलाउने छन् आकाशमै कतै
या झर्ने छन् कुनै बन्जर भूमिमा
घामले फतक्कै गलेर ।

बनाउँथे जहाँ गुँड तिनीहरु
आणविक भट्टीका विकिरणले डढिसकेको छ ।
नभेटेर कतै जीवनका सम्भावनाहरु
सदाको लागि विदा भएर हिँडेका छन् ।

तिमीहरु जस्तै ती निर्दोष पक्षीहरु
अब कहिल्यै आकाशमा उड्ने छैनन्
मलामीझैँ हिँड्ने छन् चिहान भेट्न ।

जहाँ उड्थे तिनीहरु
कसैले उडाएर धुवाँको मुस्लो
अन्धकार बनाइदिएको छ
एसियाली उडान पथको गल्लीलाई !

कसरी उड्लान् ती चराहरु अब आकाशमा
छैन बाटो
र पुग्ने ठाउँ पनि छैन ।
छैन कुनै पाइला राख्ने ठाउँ
न त कतै विश्राम गर्ने चौतारो पनि ।

लगाएर हज्जारौँ वर्ष
तिनका पुर्खाले
बनाएका पक्षी पथ भत्काइदिने अपराधी
यतै कतै छद्म भेषमा डुलिरहेको हुन सक्छ ।

त्यसैले
यसपालिको यो याममा
अन्तिम वसन्त उत्सव मनाइहाल ।
रोपिहाल अन्तिमपटक काँक्राफर्सीहरु
फेरि
जीवनको लयात्मक खेल खेल्न पाउने छैनौ

मनाइहाल वसन्त गीत ।
यी चराहरुसँग अन्तिमपटक ।
तिमी फेरि गाउन पाउने छैनौ

उल हेर इन्द्रेणीलाई अन्तिमपटक ।
त्यही इन्द्रेणीको डोली चढेर
अब वर्षा पनि आउने छैन ।
सुन, यो जीवनको अन्तिम वर्षा हुने छ
कुनै बेहुली भित्रिने छैन तिम्रो संसारमा ।
रित्ता रित्ता हुने छन्
इन्द्रेणीहरु
डोलीहरु
खेतहरु
नदीहरु ।

हेरिहाल पुतली नाचेको
फूलहरु फुलेको

अब फुल्ने छैनन् यी यसै गरी ।
डुल्ने छैन माहुरीहरु तिम्रा बगैँचामा

आगो बोकेर आकाश आइसक्यो
अनि मृत्यु बोकेर तुफान ।
निभ्ने छ तिम्रो दियो सदाका लागि

धर्ती बल्ने छ

हेर
ऊ पश्चिमबाट आउँदै छ मृत्यु आँधी बोकेर ।

त्यसैले
फेरिहाल अन्तिम श्वास ।
फेरि फेर्न पाउने छैनौ ।
मेरा प्यारा नानी हो !
तिम्रै भागमा परेको छ
यो स्वान सङ !
मनाइहाल यो अन्तिम वसन्त उत्सव
र गाइहाल जीवनको अन्तिम गीत ।

Facebook Comments Box

Similar Posts