नारायण निरासी

थारु यादव शत्रुका अघि परी लड्छन् सिमानातिर
सीमास्तम्भ हराउँदा मुलुकको गर्दैन सत्ता पिर
बढ्छौँ सङ्गिन सोझिए पनि स्वयम् तोड्दै कडा जन्जिर
हामी गिँड्न तयार छौँ दशगजा मिच्नेहरुका शिर ।

यो छाती पहरासमान रहँदा छेडिन्न क्षेप्यास्त्रले
गोर्खाली निहुरन्न दुस्मनहरु आएर सन्त्रासले
झुक्दैनौँ बलभद्रका अमरका सन्तान कोहीसित
लड्छौँ भोजपुरे खुँडा र खुकुरी बोक्दै पराईसित ।

औँलो चुस्न दिँदा पछाडि डुँडुलो झुक्याउँदै निल्दछन्
पाएसम्म अरुहरु वर सरी हाम्रो खुसी लुट्दछन् ।
खप्दैनौँ पहिचान मेट्न रिपुले किल्ला उखेल्दै हिँडे
छप्काई गिँड फाल्दछौँ बगरमा मेची र काली तरे ।

बर्खामास डुबानमा परिरह्यौँ सीमा कुरेकाहरु
हामी मात्र भयौँ दुःखाइ सहने आनन्दमा छन् अरु
कर्णाली बबई तिनाउ कमला कोसी फुटेको दिन
हाम्रो वास बगाउँदै पर लग्यो बाढी पसेको क्षण ।

वैरीले नझुकाउँदा प्रकृतिले झुक्ने बनायो किन ?
हाम्रो गाँस कपास वास लुटिँदा आएन कोही दिन
पस्दै छन् घरका धुरी दलिनमा डस्ने तिनै बारूला
हे हावा लगिने न कान्तिपुरमा किल्ला सरेका कुरा !

हात्ती हुल गाउँमा छिरिरहे भाला लिई खेद्दछौँ
सुस्ताका गढवालका जमिनमा हामी ध्वजा गाड्दछौँ
बर्सौंदेखि बस्यौँ अझै युगयुगौँ सीमा कुरी बस्दछौँ
तिम्रा बन्दुक तोप बारूद सबै पन्छाउँदै बाँच्दछौँ ।

Facebook Comments Box

Similar Posts