तेजविलास
(इच्छाकामना ३, चितवन)
उत्ताउलिएर कुदिरहन्छ
प्राप्तिको यात्रामा
अभावले निथ्रुक्क भिजेपछि
निरासिएर पुनः थचक्क बस्दै
आत्ममूल्याङ्कन गर्छ बल्ल
मान्छेका मनोकाङ्क्षा
हजार सपना देख्नु
सङ्घर्षको चाप नबुझ्नु
रस र स्वादको जीवन सम्झनु
उसको दोष होइन
हुँदै होइन
त्यसैले त मान्छे
हिसाब गर्दैन घाटाको
अनुमान गर्दैन दुःखको
सोच राख्दैन हारको
पटक पटक पछारिँदा पनि
उठिरहनु छ उसले
जागिरहनु छ ऊ
प्रथमतः जागेर ऊ
जगाएर आसपास
फालेर अल्छी
हटाएर अवरोध
धेरै पो गर्नु छ उसले
अरुको नजरमा चमत्कार
आफ्नो यात्रामा सफलता
विचारलाई नराख्ने हो भने बन्धक
केही नगरोस् उसले
केही गरेको ठहर्छ
राल नचुहाउने हो भने धनमा
आँखा नगाड्ने हो भने पदमा
ऊ पुग्न सक्छ
एउटा छुट्टै सगरमाथाको तहमा
अनि पो
मान्छे प्रस्तुत गर्न सक्छ आफूलाई
मनोकाङ्क्षा छैन भने कलुषित
पूरा गर्न सक्छ योजना
मान्छे लोभियो त सकियो
मान्छे कर्ममा जब लाग्छ एकोहोरो
उठ्यो ऊ
पक्कै उठ्यो
ऊ उभिन सक्छ कसैको साथविना
परिचय बन्छ उसको
कसैले मेट्न नसक्ने गरी ।


