रूमानी कुलुङ
(उर्लाबारी, मोरङ)

म
केवल
घाँस काट्ने एउटा घाँसी न हुँ
समयको निर्मम पाइतालामुनि दबिएको
एउटा निरीह पृथ्वीवासी न हुँ ।

यो निम्छरो युगले पनि
कहिल्यै नसोधेको
कहिल्यै नखोजेको
एउटा गुमनाम प्यासी न हुँ ।

घाँस काट्नुबाहेक
मैले कुवासम्म खनेको न हुँ ।

त्यही कुवा भएर
आउने/जाने
तिर्खाएका बटुवाहरुको
प्याससम्म मेटाएको न हुँ ।

मलाई थाहा छ,
म धनको गरिब भए पनि
मनको धनी नै हुँ ।

आफूभित्रको त्यागेर आडम्बर
आफ्नो सिपलाई मर्न नदिएकोसम्म न हुँ ।

यो नश्वर शरीरको अन्तर्बाेधले
सुकीर्ति खातिर
थोरै कष्ट उठाएकोसम्म न हुँ ।

हो,
प्रिय भानुभक्त !
मेरै कलाको प्रेरणाले
आफूभित्र चेतनाको दियो जलायौ तिमीले
र, यो लोकमा आफूलाई अमर बनायौ ।

तर,
प्रिय भानुभक्त !
मेरो एउटै प्रश्न छ तिमीलाई
कि, मेरो न्वारानको शुभनामलाई मेटेर
‘घाँसी’ मात्र चिनायौ किन ???

Facebook Comments Box

Similar Posts