भोगेन्द्र लिङ्देन
फूलहरू फुलिरहने गाउँमा
फूलहरूको सुगन्धसँगै
तिमीसँग फेरि
एउटा जुनी बाँच्ने इच्छा छ
जहाँ हरेक बिहान
तिम्रो मुस्कानजस्तै उज्यालो होस्
जहाँ हरेक साँझ
तिम्रो काखमा आएर निदाओस् ।
फूलहरू फुलिरहने गाउँमा
पाखाभरि फुलेका फूलहरूले
हाम्रो प्रेमको कथा भनोस्
बाँसझ्याङका पालुवाहरूमा
हावाले हाम्रो गीत गाओस्
र फूलहरूको सुगन्धमा
हाम्रो प्रेम सधैँ बाँचिरहोस् ।
फूलहरू फुलिरहने गाउँमा
कुनै पुरानो चौतारीमुनि
तिमी र म फेरि भेटिऔँ
पहिलो भेटजस्तै
भेट होस् न है त्यो
अनि छुटेका सबै कुराहरू
एक–एक गर्दै पूरा गरौँ ।
फूलहरू फुलिरहने गाउँमा
उभौलीमा आरू फुलेपछि
माछा र चराहरूसँगै उँभो लागौँला
अनि
उँधौलीमा पैयुँ फुलेपछि
माछा र चराहरूसँगै उँधो लागौँला ।
फूलहरू फुलिरहने गाउँमा
फूलहरूको गीतसँगै
तिमीसँग फेरि
एउटा जुनी
बाँच्ने इच्छा छ
त्यसैले ती फूलहरूसँगै
तिमी एक पटक फेरि फुलन है ।


