नाकारा
(खोटाङ)
मलाई झोक चल्छ र
खान्छु रक्सी …
के गर्नु त सुन्तली !
मैले रक्सी छोड्न सकिनँ
तिमीले कचकच गर्न छाडेनौ ।
बुझ्न त बुझ्छु नि !
तिमी नमात्ने लोग्ने चाहन्छौ ।
तर, झोक चल्छ सुन्तली
मलाई झोक चल्छ !
छोरो विदेश गयो उतै रोपियो ।
घरखेत लेखिदिएको
साहुले हामीलाई छाडेन ।
छोरी अलि के बढेकी थिइन्
साइँदुवाको च्यान पार्न सकेनौँ ।
चाडपर्व आउँदा
एक बोडी मासु दिन
आनाकानी गर्छन् जमानीहरु ।
न तिमीले लगाउन पायौ गतिलो लुगा
न मेरो छ !
सुन्तली !
हाम्रो सँघारभित्र उस्तै अभाव छ
सँघारबाहिर उस्तै दुःख छ
र त झोक चल्छ सुन्तली मलाई
हामीलाई यो कस्तो हैरान हो !
र पिउँछु झोकमा
र डुल्छु
कसैलाई नभेटेपछि
घरको जर्किन
थेचारेको हुँ झोकमा !
मलाई थाहा छ
तिम्रो मन कटक्क भा’कोछ
मेरो त झन्
जर्किन कुचिएको भन्दा
बेसी कुच्चिएको छ ।
मलाई खान देऊ सुन्तली !
म खाएर मर्दिनँ
बरू जाग्छु कस्सेर
र भन्न सक्ने हुन्छु
जोड जोडले
‘यो कानो र अन्धो राज्यसत्ता
कहिले पग्लन्छ हँ !
मैले अरु के के
कुच्याउनुपर्छ अझै !’
…
सुन्तु, म तिमीलाई
खुब माया गर्छु ल !