अमृता नेपाल

काश कि किताब हुन्थ्यो जीवन
जिउने हर एक नाता, एक अध्याय
हरेक पानाहरू, हरेक दिनका दस्तावेज
हरेक अक्षर, ती हर एक भावना
कुनै सेता, कुनै राता, बैजनी कुनै
कुनै रंगहीन, निरस र फिक्का, ईन्द्रेणी कुनै
काश कि किताब हुन्थ्यो जीवन ।

काश कि किताब हुन्थ्यो जीवन
अझै परिस्कृत बनाउन मिल्ने
अर्को संस्करणलाई
भुल सुधार्दै लैजान मिल्ने
अर्को पटकलाई
त्यसो हुन्थ्यो भने कसो हुन्थ्यो होला
त्यसो हुन्थ्यो भने
शायद म च्यातिदिन्थें
मेरो किताबको ‘हामी’ अध्याय
र लेख्‍ने थिएँ होला ‘म’
मात्र ‘म’
आफ्नै खाली र भरिपनाको साथ
आफ्नै आर्जन र गुमाईहरूको साथ
जहाँ तिमी नपाउनु सिवाय
दोस्रो गुनासो हुन्थेन होला
जहाँ तिमी नहुनु बाहेक
दोस्रो अभाव हुन्थेन होला
काश कि किताब हुन्थ्यो जीवन ।

तिमीसँगको अध्यायमा त हेर न
तिमी हुनुभन्दा बाहेक केही छैन अरु
तिमी पाउनुभन्दा सिवाय केही पाईन अरु
भएर ‘हामी’ हुनुभन्दा एक्ला एक्लै
रहेर साथ रहनुभन्दा बेग्ला बेग्लै
म हटाईदिन्थें यो निरस पाना
र भरिदिन्थें बेग्लै कुनै कहानी
काश कि किताब हुन्थ्यो जीवन ।

कुर्दा कुर्दा साथ, हात बढाएरै बसिरहेथें
माग्दा माग्दा माया, आश जगाएरै बसिरहेथें
तर एक भारी जिन्दगी, तिमीसँगै बाँची सक्दासम्म
म हुनुको अर्थलाई, तिम्रो हुनुले मेटाई सक्दासम्म
तिमीलाई हेर्न मनै नलाग्ने
निरस अक्षर भैसकेछु
त्यसैले त होला
तिमी कर्तव्यको चस्मा नाकमा अड्याएर
झन् झन् पर हेरिरहेछौ
फर्कन्छु र साथ दिन्छु भन्ने आशा देखाएरै
दुरी एकनास बढाईरहेछौ
म तिम्रो नामको निशान
सँधै सँधैलाई मेटाईदिन्थें
काश कि किताब हुन्थ्यो जीवन ।

 

आखिर
कोलाहलको कानैनिर
कति चिच्याओस् सम्बन्धको सास
बचाउ बचाउको नारा लगाउदै
डोबै छेउको पाईतालाले
कति पछ्याओस् एकोहोरो आकार
पर्ख, फर्कको आशा लगाउँदै
म उखेलेर तिमीलाई आफुबाट
त्यही रोपिदिन्थे जहाँ फुल्न चाहन्छौ
म मेटाएर आफैलाई तिमीबाट
त्यही पुराईदिन्थें जहाँबाट सुरु भएथ्यो हाम्रो यात्रा
जस्तो कि हुन्छ नि कल्पनामा
आज जत्तिकै ताजा हिजो
जस्तो कि हुन्छ नि सम्झनामा
खात खातमा घात बसेको
म दशकअघि पुगेर आफै
बरु मेटाईदिन्थें अक्षर सबै
पल्टाएर फेरि पल्टिसकेको पाना
च्यातिदिन्थें सबै सबै
अनि लेख्‍नेथिएँ बेग्लै कथा
त्यो प्रेम, विश्वास र प्रतिक्षाको
बिर्सिएर सबै व्यथा
महसुस नै नहुने यो प्राप्तिको
काश कि किताब हुन्थ्यो जीवन …

Facebook Comments Box

Similar Posts