तेजप्रकाश श्रेष्ठ

रोल्पा !
तिम्रो शिर सिस्ने हिमालको चहक
जलजलाको विशाल वक्षस्थल
खोलानालाको रक्तसञ्चार
वनजङ्लको शीतल पवन
रम्य सुुरम्य लागिरहेछ मलाई ।

मकै, भटमास, खोन्चा र
भाङ्टिमुरको चटनीको अर्नी
ढेडो, सिस्नो, साग र दहीको छाक
बिर्सन नदिने जमर्को तिम्रो
मिठो र स्वादिला लागिरहेछ मलाई ।

म झकाउन थालेछु बसको सिटमा बस्दाबस्दै । ढिकीच्याउँको लयमा सदरमुकाम लिवाङ छाडेपछिको यात्रा छचल्किरहे हृदयभरि ।
कार्तिक ५, २०७६ को झिसमिसे बिहानको ५ बज्दै थियो । प्रजातान्त्रिक चोकमा जिपहरुको लस्कर लाग्न थाल्यो । आजको यात्राका लागि बसभन्दा जिप उपयुक्त हुने रहेछ । हाम्रो लोकवार्ता टोली बाटोघाटोको स्तरअनुरुप नौदशओटा जिपमा सवार भई परिवर्तन गाउँपालिकाका लागि प्रस्थान गर्यौ लस्करै ।
हाम्रो जिप दायाँबायाँ गर्दै उत्तरतर्फ हानिँदै गयो । भादाङ घर भएका हाम्रा जिपचालक नवीन घर्तीमगर हसमुख र मिजासिला रहेछन् । उनी स्थानीय ठाउँ र रस्तीबस्तीको नाम र परिचय दिन चुक्दैनथे । मेरो उत्सुकता पनि मेटिदिन्थे बेला बेला ।
‘हेर्नोस् सर, ऊ परको गाउँ पूर्वसभामुख ओमसिरी घर्ती मगर र नेता वर्षमान पुनको गाउँ हो । त्यहाँ उहाँहरुको पुरानो घर छ ।’ जिप चालकले हामीलाई देखाउँदै भने ।
हो त ! रोल्पा माओवादीका ठुला ठुला नेताको घर हो नि । गाउँ मात्रै देख्न पाउँदा पनि रमाइलो लाग्दोरहेछ ।
यो गाउँ मारीदाङ (माडी चौर) । रोल्पा नगरपालिका वडा ७ । त्यहाँ रङ्गशालाको अस्तित्व देख्दा लाग्यो रोल्पा राजनीतिमा मात्र होइन खेलकुदमा पनि पछि रहेनछ । जिपको लस्कर देख्दा उदार मन र हृदयका साथ रोल्पाली लोकवार्ता पनि जम्जमाइरहेको लाग्यो मलाई ।
अग्लाहोचा डाँडापखेरा आए । कल्कलाउँदा खोलानाला तेर्सिए । पानीको छेलोखेलोमा रसायो मेरो मन । मेलम्चीको आयातित पानीको काठमाडौँली मृगतृष्णा सल्बलायो । ड्याङ्सी र माडी खोला तर्यों । माडी गाउँपालिका छिचोल्न थाल्यो जिपले । प्राकृतिक सौन्दर्यले जता पुगे पनि मन्त्रमुग्घ पार्दै थिए । नेपाली धराको विशेषतालाई नमन गर्दै अघि बढिरह्यौँ ।
उनले भने, ‘माडी अर्थात् मगर भाषामा ‘मारी’ भनिन्छ यस नदीलाई । ‘मा’ भनेको पानी र ‘री’ भनेको हराएको हुुन्छ । मारी खोलाको पानी दबेर गएकोले मारी भनिएको हो । यसै नदीको नामबाट यस गाउँको नाम माडी राखिएको हो ।’ नामकरणको अर्थ थाहा पाउँदा गदगद भयो मन ।
उनले फेरि भने, ‘माडी नदीमा माछा मार्ने एउटा प्रविधि छ । त्यसलाई मगर भाषामा लिम्का झार्ने (मैनेरी) भनिन्छ ।’
‘कस्तो प्रविधि हो त्यो लिम्का झार्ने ?’ मेरो मुखबाट फुत्त निस्कियो ।
‘चिउरीको पिना प्रयोग गरी माछा मार्ने प्रविधि हो । रोल्पामा चिउरीको गाछ प्रशस्त पाइन्छ । चिउरीबाट तेल वा घिउ बनाइन्छ । त्यसैको छोक्रा हो पिना । नदीमा पिना राखेर सजिलैसंँग माछा मार्न सकिन्छ । पिनाको रागले माछा लट्ठिन्छन् र पानीमाथि तैरिन्छन् । त्यसै बेला माछा समातिन्छ । बुझ्नुभो सर ! यसको अर्को पनि महङ्खव छ । खडेरी परे नदीमा लिम्का झारे पानी पर्छ भन्ने विश्वास गरिन्छ । गाउँलेहरु जम्मा भएर लिम्का झार्ने गर्छन् ।’ उनले गौरवसाथ भने । लोकविश्वासले नै त सजिलो पारेको छ लोकजीवन ! विश्वासमै त अडेको छ विश्व !
‘अहिले पनि लिम्का झार्ने गरिन्छ ?’ मेरो प्रश्नमा उनले भने, ‘काँ सर ! माओवादीले चौपट पारिगो नि ! गाउँलेहरु जम्मा हुने, खेल्ने रमाउने दिन त कता गए कता । त्रासैत्रासमा जिउनुपर्दाको जीवन कस्तो हुन्छ सर । भुक्तभोगीलाई नै थाहा होला । हुन त म पनि माओवादीमा लागेकै हुँ । त्यति बेलाको गाउँ त के गाउँ र ! श्मशान नै त हो, सर ।’ उनको सुस्केराले विवशता ओकलिरहेको थियो ।
‘हाम्रा महान् नेतामध्ये कृष्णबहादुर महरा एक हुन् । उहाँको घर वाङ लिवाङ हो ।’ भन्दै थिए उनी । आफ्नै जिल्लाका व्यक्ति उच्च पदस्थ भएकोमा खुसी हुनुपर्ने हो तर उनी सभामुख महराको चालामालाले नियास्रिएका देखिन्थे । उनी भन्दै थिए, ‘खै के हो के हो ? नेताहरुको कुरै बुझ्न नसकिने । जनक्रान्ति कालमा यी नेताहरुको आदर्श, दृढता र त्यागमा नै त हामी होम्मिएका थियौँ आगाको भुङ्ग्रोमा । सुख, चैन र स्वतन्त्रताको स्वप्न कसको मिठो हुँदैन र ! म पनि त होमिएकै हुँ आँखा चिम्लेरै । तर खै ? म ताक्छु मुढो, बन्चरो ताक्छ घुँडो । नेताहरुको मति किन बिग्रेको हो ?’ सुइय्य सुस्केरा हाल्छन् उनी । सभामुख महराको दुष्कार्यले अधिकांश रोल्पावासीको शिर झुकेको अनुभव गर्दै थिएँ म पनि ।
जिप खोलाको किनारैकिनार केही बेर हुइँकिएर घ्याच्च रोकियो । पहिले आएका अरु एकदुई जिप पनि रोकिएका देखिए । हामी ओर्लियौँ । अगाडि एउटा छाप्रे पसलमा हाम्रै सहयात्रीको घुइँचो देख्दा अल्मलिएँ म ।
‘आउनोस् ! आउनुहोस् !’ प्रेम खत्री सरले हाँस्दै भन्नुभयो । त्यो कुुङवाङ थप्थुुङ्सी भन्ने स्थान रहेछ । ठाउँ रमाइलो लाग्यो । खोलाको किनारमा हरियालीयुक्त खेतबारी । खोलाको कलकल ज्यादै मनमोहक थियो । अर्नी अर्थात् ब्रेकफास्ट ख्बाउने दीपज्योति फर्निचरका मालिक हरिबहादुर थापामगरको सौजन्य मिठो थियो ।
टेबुलमा उसिनेका मकैको घोगा टोकरीमा सजिएका थियो भने ढक्कीमा पिठोको डल्ला डल्ला रोटी मुस्कुराइरहेको थियो ।
‘लौ यस्तो डल्ले रोटी त मैले कहिल्यै खाएको थिइनँ । के रोटी हो ?’ डल्ले रोटी हातमा लिँदै म जिज्ञासु बनेँ ।
‘यो रोटीको नाम ‘खोन्चा’ हो । यो मगर समुदायको विशेष अर्नी र खाना हो । ‘खोन्चा’ गहुुँ, भटमास, कोदो, फाफर आदि मिसाएर पिसिएको पिठो पानीमा मुुछेर डल्लो डल्लो पारिन्छ र उम्लिएको पानीमा खसालेर पकाइन्छ ।’ टीकाकुमारी बुढामगर हुन् कि अरु कुनै स्थानीय बहीनीले हाँस्दै भनेकी थिइन् । उनीहरुको मुस्कान झनै मिठो थियो ।
भाङको गेडा, गोल्भेडा र टिमुुरको चटनीमा खोन्चा चोबेर खाँदा नौलो स्वादमा लट्टठियो मेरो जिब्रो । हरियो मकै र खोन्चा पेटभरि खायौँ थपी थपी । सहयात्रीहरुले केही मकैका घोगा र खोन्चा झोलामा पनि बोके । मैले पनि एक घोगा मकै र एउटा खोन्चा बोक्न छोडिनँ । यात्रामा भेटिएका नौला नौला स्वाद त्यसै छाड्न मन लागेन, झोलामा थन्क्याएर हिँडे । साँच्चै पछि भोक लाग्दा मज्जा पो भयो त । बाँडीचुँडी खायौँ ।
दायाँबायाँ वनपाखा हराभरा थिए । बोटबिरूवामा चिउरीको बोट प्रशस्त हुने रहेछ रोल्पामा । जिप चालकले त पहिले नै भनेका हुन् । मैले वनै चिउरीको बासनाले मग्मगाइरहेको अनुभूत गरिरहेँ । यदाकदा चिउरी पेलेर तेल निकाल्दा रहेछन् स्थानीयवासीहरु । आयस्रोतको बलियो आधार । त्यो पनि अहिले छुटिसकेको बुझ्दै छु । नत्र त चिउरी सङ्कलन गरेर घिउ र सखर उत्पादन गर्न सकिने प्रबल सम्भावना रहेछ । घरेलु उद्योगकै रुपमा विकसित गर्न सकिन्थ्यो तर कसैको ध्यान पुुगे झैँ लागेन ।
एउटा घमाइलो पाखामा टाढैबाट घर्ती गाउँ देखियो । यो गाउँ माडी गाउँपालिकामा पर्दोरहेछ । जाँदै गर्दा दोबाटो छुट्टियो । त्यहाँ सहिद मार्ग जोडिन आउँदोरहेछ । जिप घर्तीगाउँतर्फ उक्लेन त्यति बेला । सरासर लाग्यो परिवर्तन गाउँपालिकातर्फ खोलैखोला ।
राङ्की गाउँको चप्काबाट माडी नदीको पुुल तरे सम्माननीय उपराष्ट्रपति नन्दबहादुुर पुुनको घर पुुगिँदो रहेछ । माडी नदीको किनारकै डाँडोमा रहेछ । जिप चालकले गौरवसाथ देखाए, हेर्यौं हामीले टाढैबाट । आफ्नो गाउँठाउँको एउटा गाउँले देशकै उच्च स्थानमा पुग्दा कसलाई गौरव नलाग्ला र ! मुमुक्क हाँसे डाँडापाखा र खोलानाला ।
बिहान १० बजे परिवर्तन गाउँपालिका ५, पुुतला खोलाले फूलमालाको भव्य स्वागत बर्सायो । वातावरण लोकवार्तामय बनिरहेको थियो । लोकबाजा दमाहा बजे झ्यामझ्याम । कार्यक्रम सुरू हुन केही बेर अझै बाँकी रहेछ । हामी हाँकियौँ अझ अगाडि ।
गर्याङ झ्याम (सांँघुरो खोला) को अवलोकन सुखद रह्यो । दुवैतिर उतुङ्गका डाँडाको साँघुुरो गल्छेडोबाट प्रवाहित माडी नदी । त्यसैको एक छेउको ककारो कोपिएर बनाइएको छवाङ जाने सडक । भयानक पहरो दुवैतिर तर आर्कषक र रमणीय दृश्य । अहा ! यस्ता रमणीय धराहरुको भण्डारै न त हो नेपाल । सदुपयोग गर्न मात्र पो जानेका छैनौँ त ! तर परिवर्तन गाउँपालिकाले खुट्याउँदै रहेछ यस्ता प्राकृतिक सम्पदाहरु । पर्यटकीय गन्तव्य बन्ने सम्भावना छताछुल्लै देखिन्थे ।
सहयात्री गायत्री पराजुली बैनी तम्सिइन् मसँग फोटो खिच्न पहरोलाई साक्षी राखेर । लोकवार्ता र लोकपरिवेश छङ्छङायो मादी नदीसँगै । डा. कपिल लामिछाने, डा. ध्रुव भट्टराई, डा. ध्रुव घिमिरे, प्रवीण पुमा पनि हौसिए । सामूहिक फोटो पनि खिच्यौँ मनग्गे । दृश्यावलोकन सकिएपछि पुुतला खोला बजार फर्कियौँ ।
पहिले राङकोट, धाङ्नुुङ गादा भनिने पुतलाचौरमा पुतला खोला बजार बसेको रहेछ । त्यहीँ हालै बनेको परिवर्तन गाउँपालिकाको भवनको प्राङ्गणमा लोकवार्ता कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको थियो । जम्जमाइरहेका थिए लोकवार्ता संवाहक गाउँलेहरु ।
बजारले हामीलाई मकैको ढिँडो, सिस्नोको दाल, सागको तरकारी र दहीसहितको लोकखाना पस्कियो । शुद्ध र स्वादिष्ट लोकखानाका परिकारका नयाँ स्वाद मिठो मान्दै थपी थपी खायौँ । काठमाडौँतिरको झैँ ओडालेको ढिँडोको डल्लो भने भेटिनँ । खोलेभन्दा बाक्लो र ढिँडोभन्दा पातलो रोल्पाली ढिँडो आफ्नै रुप र स्वरुपमा गमक्क थियो । सम्भवतः ढिँडो ओडाल्ने प्रविधि अन्तको भन्दा बेग्लै थियो कि !
पेट भरिएपछि लोकवार्ता कार्यक्रम जम्जमायो मस्तले । पुतलाचौर भरिए गाउँले बालबालिका, युवायुवती तथा बुढाबुढीका जमातले । स्वागत, मन्तव्य, कार्यपत्र प्रस्तुतिका साथै लोकसंस्कृति उर्लियो पुत्लाखोलाको छङ्छङ्मा । पैसेरू नाच, मयूर नाच, भुमे नाच आदि लोकनाच र लोकगीतमा मक्खियो वातावरण ।
मादल, झ्याली, बाँसुरी, दमाहा, दौरी वा दुदी (ढोलकजस्तो तर छोटो) बाजाको तालमा ताल मिलाउँदै गोडामा दुई दुईओटा पैदन (भित्र गेडीहरु राखिएको फलामको कल्ली, सायद घुँगरूको विकल्प) लगाएर छमछम नाचे खुट्टा बजार्दै पैसेरू नाचका नचारूहरु । शिरमा कालो टोपी, सेतो हाफ कमिज, कालो स्टकोट, कटीमुनि बोल्ला (अल्लो) को फेरा र गोडामा जुत्ताका साथै पैदन पहिरिएका नर्तकहरुका समूहिक पैसेरू नाचले मन्त्रमुग्ध तुल्यायोे सबैलाई । तिहारमा नाचिने पैसेरू नाच हामीले अहिल्यै हेर्न पाइरहेको थियौँ, हेर्यौं घित मरून्जेल ।
यसै गरी हेर्यौं दमाहा, ट्याम्को, झ्याली, छ्यालदड बाजाकोे रन्कोमा मयूर नाच वा सारङ्गे नाच । मयूरको प्वाँख र पुच्छर भिरेका युवायुवतीको समूह मादल र दुदीको तालमा लट्ठी लडाउँदै कहिले सुस्त र कहिले तीव्र गतिमा आङ मर्काउँदै गोलाकार रुपमा घुम्दै नाचिएको मयूर नाचमा रमायो मन ।
यिनै लोकबाजाहरुको तालमा खुकुरी नचाउँदै छमछम नाचिएको भुमे नाचको आकर्षण बेग्लै थियो । चुमाराङ समूह, अजम्बरी सांस्कृतिक समूह, पूर्णिमा सांस्कृतिक युवा समूह, परिवर्तन गाउँपालिकाका यस्ता लोकनाचगानले लोकवार्तालाई जुरूक्कै उठाएको अनुभव गरेँ मैले । लोकवार्ता संवाहक सबैको उत्साह र उमङ्गमा रन्कियो सिङ्गो गाउँ । अनुसन्धाताहरुले अवसर भेट्टाए खोस्रिन लोकवार्ताका केस्रा केस्रा ।
गाउँपालिकाका उपाध्यक्ष हितकुमारी बुढामगर र सिङ्गो गाउँपालिकालाई धन्यवादको माला पहिराएर हाम्रो समूह उक्लियो घर्ती गाउँमा लोकवार्ता रन्काउन ।
साँझ झर्नै लागे पनि घर्ती गाउँ लोकवार्तामय बन्यो । माडी गाउँपालिकाको घर्ती गाउँ नगरोन्मुख रहेछ । ठुल्ठुला पक्की घर, होटल र विद्यालयले सुशोभित थियो । मूलतः घर्तीमगरहरुको बाक्लो बस्ती रहेको घर्ती गाउँको श्रीकृष्ण माध्यमिक विद्यालयको प्राङ्गण नाच्यो छमछम मयुर नाच, पैसारू आदि नाचहरुमा । यी नाचले रोल्पाको लोकवार्ता जीवन्त रहेको अनुभव गराइछाड्यो ।
साँझ त्यही विद्यालयमा माडी गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनको अध्यक्षतामा कार्यपत्र सत्र सम्पन्न हुँदा साँझको खाना खाने बेला नाघिसकेको थियो । कार्यपत्र प्रस्तुतिले स्थानीय जनसमुदायमा लोकवार्ताको उपादेयता, महङ्खव, प्रस्तुति र संरक्षणको अनिवार्यतालाई झक्झकाएको अनुभव गर्दै थिएँ म । कार्यपत्रभन्दा पनि स्थानीय स्तरमा लोकसंस्कृतिको जगेर्ना गरिनु महङ्खवपूर्ण पक्ष थियो । यो महसुस गरिरहेको थिएँ म ।
भोलिपल्ट अर्थात् कार्तिक ६ गते सखारै भाले बास्यो, ‘कुखुरी काँ ।’ यस्तो भाले बासेको कहाँ सुन्न पाइन्छ र हत्पति । नगर क्षेत्रमा त यस्तो सम्भावना कमै पाइन्छ अचेल । ‘एकान्त होटल’मा मेरो मिठो निद्राले सुमधुर अवतरण गर्यो । स्फूर्तिको ज्वारभाटा फुट्यो झलल ।
बिहान मुसुक्क हाँसिरहेको सिस्ने हिमाललाई नमन गरे । बसको हर्न बज्यो, ‘ट्वाँट्वाँ ।’ हिजोका जिपहरु घर्ती गाउँमै छाड्यौँ । अब बसको यात्रामा रमाउन थाल्यौँ हामी । बस यात्राको रौनक बेग्लै हुन्छ, सबै सहयात्रीको सामूहिक हाँसो र उच्छवासमा झुम्नु कम रोमाञ्चक हुँदैन । त्यसमा पनि स्थानीय दिदीबहिनीको सहभागिता थपिएर रौनक हलक्कै बढेको थियो । उनीहरुको कोकिल कण्ठबाट प्रवाहित लोकभाखाले यात्रा झन् रोमाञ्चक बन्न पुग्यो । रौसिए हाम्रा लोकवार्ताविद्हरु पनि लोकभाखा पछ्याउन । यात्राभर दोहरी रन्कियो झमझम वर्षा भए झैँ, अन्ताक्षरी घन्कियो कल्कलाउँदो नदीझैँ । लोकवार्ता रौसियो रनक्कै ।
राईझुमा बर्सियो लेकबेँसी गम्काउँदै । पानको पात बल्झियो नागबेली बाटाभरि । यति बेला खट्कियो तुल्सीमान श्रेष्ठको, जो लोकगीतमा छमछम नाच्न सक्थे र धाराप्रवाह गाउन सक्थे । उनको साथ थिएन हामीसँग । निष्ठुरी कालले उडाएर लगिसक्यो । उनको स्मृतिमा गायौँ हामीले गीत र झार्यौं केही थोपा आँसुु र माडी गाउँपालिकाकै मिनाही गाउँको कोर्चावाङको सहिद स्मारकमा श्रद्धाञ्जली दिन पुग्यौँ ।
त्यस भेगमा जनयुद्धताका जनयुद्धकर्मीले सामूहिक वीरगति प्राप्त गरेका थिए रे । कति बीभत्स दृश्य थियो होला त्यो । जिरिङ्ग भयो मन । यिनै जनयुद्धका सहिदको स्मृतिमा प्रतीक्षालय निर्माण गरिएको रहेछ । भावपूर्ण श्रद्धाञ्जली अर्पण गरी सुस्तायौँ केही बेर ।
नजिकैको बजारमा अर्नी खाँदै गर्दा दिदी बमकुमारी बुढाको घर पनि टाढैबाट देख्यौँ । यस कार्यक्रमका केन्द्रीय संयोजक दिदी बमकुमारी बुढाको गाउँघर रमाइलो देखिन्थ्यो । उहाँको घर डाँडाको नाकैमा तेर्सिएको धापा गाउँमा झलमल्ल घाम लागिरहेको थियो । बसबाटै प्राकृतिक सौन्दर्यमा मुग्ध हुँदै अघि बढिरह्यौँ ।
घुम्दैफिर्दै फेरि रोल्पा नगरपालिकाकै सिमानामा पर्ने दार्बोट गाउँ पुगिएछ । त्यहाँबाट ओरालो झर्यो बस । त्रिवेणी गाउँपालिकाको सुन्दरता आँखाभरि समेटेँ मैले । चक्री खोला, सिवाङ र दर्बाई खोलाको सङ्गम रहेछ त्रिवेणी । सुन्दर गाउँबस्तीले हामीलाई मोहित तुल्याउँदै थियो ।
त्रिवेणीकै नुवागाउँको अरनिको माध्यमिक विद्यालयले स्वागत गर्यो । पिपलको पातको सुन्दर ब्याच वितरणले लोकवार्ता फव्रmक्क फव्रिmयो । ब्याच निर्माणका लागि आयातित रिबन नै किन आवश्यक पर्यो र ! नुवागाउँको झैँ सुझबुझ भए पुग्दोरहेछ । हामी लोकभावना र लोकप्रविधिमा मक्खियौँ ।
बिहान करिब दश बजे नुवागाउँमा लोकवार्ता फक्रियो ढकमक्क । सिङ्गारू नाच, पैसारू नाच, सोरठी नाचमा घन्किए ढोलक, दमाहा, झ्याली, मादल, बाँसुरी । त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष सावित्रा बुढाको अध्यक्षतामा कार्यक्रम र खानपान रमाइलो वातावरणमा सम्पन्न भयो ।
त्यसपछि लेकतर्फ उक्लियो सडक ! रून्टी गाउँपालिका पुग्दा नपुग्दै नेपाली सेनाको खड्ग दल गण, सुरक्षा गुल्म रहेको स्थान दहवन पुगिएछ । गुल्मका प्रमुखसमेतको अगुवाइमा रून्टीगढी गाउँपालिकाको एउटा लेकमा तारा खसेको स्थान हेर्न गयौँ ।
तारा खस्नु संयोग नै हो । कहिले खसेको हो ? इतिहास जान्ने कोही भएन । तर तारा खसेको विश्वास जीवन्त छ । भिरालो धरातलमा त्यहाँ ठुलो खाडल देखियो । ठुलो डल्लो पिण्ड खसे झैँ खाल्डो गोलाकार देखिन्थ्यो । साँच्चै ! तारा खसेकै स्थान हो भने त्यस्तो महङ्खवपूर्ण स्थानलाई संरक्षण गर्नुपर्ने होइन र ! स्थानीय सरकारले नै सडक निर्माण गर्दा विचार पुर्याउनुपर्ने हो । तर त्यो स्थानलाई नै अतिव्रmमण गरेर सडक निर्माण गरिनुका साथै ढुङ्गा खानी सञ्चालन गरी क्षतविक्षत पारिँदै रहेछ । खिस्रिक्क भयो मन । यस्तो दुष्कार्य रोक्न र संरक्षण गर्न स्थानीय सरकारले चासो देखाउनुपर्ने बेला भइसकेको अनुभव गरेँ मैले । पर्यटकीय आकर्षक स्थल पनि त बन्न सक्थ्यो । त्यसपछि हामी रून्टी गाउँपालिकाको होलेरी बजार भित्रियौँ ।

Facebook Comments Box

Similar Posts