डा. यज्ञेश्वर निरौला
(सहप्राध्यापक, रत्न राज्यलक्ष्मी क्याम्पस)
१. परिचय
कवि जीवनाथ अधिकारी नेपाली साहित्याकाशमा छन्दकविका रुपमा उदाएका प्रतिभा हुन् । यसअघि विभिन्न पत्रपत्रिका तथा मुहारपुस्तिकामार्फत पाठकसमक्ष कविता प्रस्तुत गर्दै आएका कवि अधिकारीको ‘जूनभित्रको आगो’ छन्द कवितासङ्ग्रह (२०५९), ‘मास्कले थिचिएको जिन्दगी’ छन्द कवितासङ्ग्रह (२०७७), ‘अविदित यात्रा’ छन्द कवितासङ्ग्रह (२०७७) प्रकाशित छन् । यी तीनओटै सङ्ग्रहका कवितालाई हेर्दा प्रगतिवादी कित्तामा उभिएका कवि अधिकारीका धेरैजसो कविता देशप्रेम र राष्ट्रियताको विषयगत परिधिमा लेखिएका छन् भने मानवीय संवेदना, मानवता, सामाजिक बेथिति, राजनीतिक विसङ्गति, चाकडी चाप्लुसी तथा भ्रष्टाचारको पराकाष्टा, प्राकृतिक प्रकोपले नेपाली समाजमा निम्त्याएको सङ्कट, मान्छेको मानसिक वैचारिक स्खलन, नैतिकतामाथिको सङ्कट, पूर्वीय आर्यसभ्यताप्रति आस्था, जीवनबोध, आदर्श भावना, खस्कँदो गौरवमय इतिहास, मान्छेमा देखा पर्दै गएको विकृत मनस्थिति आदि पनि कवि अधिकारीका कवितामा देखिएका विषयगत परिधि हुन् । यिनै विषयमा कविले काव्यचेतना भर्दै नेपाली समाज र राजनीतिमा देखिएका विसङ्गत परिस्थितिप्रति व्यङ्ग्य प्रहार गरेका छन् । कवि अधिकारीको शैलीगत विशिष्टताका रुपमा रहेको व्यङ्ग्यात्मकता उनका अधिकांश कवितामा व्यक्त भएको छ । प्रस्तुत आलेखमा कवि अधिकारीका कवितामा पाइने काव्यात्मक स्वरुपका यिनै सन्दर्भलाई सौन्दर्यशास्त्रीय मान्यता, क्रान्तिकारी चेतना एवम् प्रगतिवादी भावनाका आधारमा विश्लेषण गरिएको छ ।
२. देशभक्तिको भावना
आफू जन्मेहुर्केको ठाउँ, प्रकृति, समाज, भौगोलिक अवस्था आदिको चित्रण, आफ्नो संस्कृति, रीतिरिवाज, चालचलन, रहनसहनलगायतका कुरालाई कवितात्मक प्रस्तुति दिँदै यी विविध विषयप्रति आस्था जगाउनु कवि अधिकारीले प्रस्तुत गरेको देशप्रेमको भावना हो । उनले प्रकृतिका माध्यमबाट प्रस्तुत गरेको देशको महिमागान, माटोप्रतिको अगाध प्रेम, खोलानाला, वनजङ्गल, हावापानी, कोकिलकण्ठ, गाउँबेँसीमा किसानले गरेको परिश्रम, त्यसबाट उब्जेको अमूल्य अमृतमय सम्पदा, ऋषिमुनिले विकास गरेको सभ्यता आदिको सुन्दर अभिव्यक्ति देशप्रेमको नमुना हो । कविले उपयुक्त भावलाई ‘मेरो देश, स्वदेशगान, नयाँ वर्ष यसरी आओस्, मेरो सान, नेपाल सुन्दर देश हो, मुटु हुन्छ सधैँ सिङ्गो’ आदि कवितामा व्यक्त गरेका छन् । उनले भनेका छन् ः
कति वन मुरलीका बाँसजस्तो निगालो
विगत विगत सारा काव्यको यो सँगालो ।
ऋषिमुनिजन रच्थे ज्ञानविज्ञान धारा
झटपट मनबाटै सभ्यता खुल्छ सारा । ।
(स्वदेशगान: ७)
म जाऊँ अन्त के खोज्न यो नेपाल ब्रह्माण्ड हो
सुरम्य सम्पदाभित्र यौटा सुन्दर चित्र हो ।।
(नेपाल सुन्दर चित्र हो: १०)
माटाको सुगन्ध, प्रकृतिको सौन्दर्य, प्राचीन आर्य सभ्यताको महिमागान, वनपाखा, खोलानाला आदिको गौरवगाथा मात्र देशभक्तिको भावना होइन । आफ्नो देशको, समाजको, वरपरको वातावरणको बिग्रँदो अवस्थाको चित्रण गर्दै सुधारको अपेक्षा पनि देशभक्ति एवम् राष्ट्रप्रेम नै हो । बिग्रँदै गएको नेपाली समाजको समन्वयात्मक भावनालाई कसरी पुनस्र्थापन गर्ने, खस्कँदै गएको राष्ट्रको गरिमालाई कसरी उच्च बनाउने, मौलाउँदो भ्रष्टाचारलाई रोकेर समुन्नत समाजको निर्माण कसरी गर्ने भन्ने कुरामाथि कवि चिन्तित देखिन्छन् । बिग्रेभत्केको सोच, विखण्डन भएको सामाजिक परिवेश, मनमा मौलाउँदै गएको भ्रष्ट आचरण, छिन्नभिन्न अवस्थामा पुगेको संस्कृति, समाज र देशका नेता नेताबिचको लुछाचुँडी र घम्साघम्सी अनि त्यसको फाइदा उठाएर मौलाएको कालाबजारीजस्तो भ्रष्टतन्त्रलाई सुधार गर्नैैपर्ने कविको दृढ अभिव्यक्ति उनका कवितामा अभिव्यक्त भएका छन् ।‘शान्तिको मन रून्छ, आँसुमा दुख्छ घाउ, किन ?राष्ट्र नै नाङ्गिएछ, कुर्सी महिमा, बत्तीमा तेल हालौँ, नयाँ नेपाल, मिल्नै पर्दछ आखिर, जुट्तैनौ किन हो, विश्व एक जुट बन्दछ, भाग्नेछन् खलपात्र, चाकडी, अग्रता छिन्नहुन्छ रे’ आदि कवितामा कविले देशमा मौलाउँदै गएको विकृत भावना, दश बर्से जनयुद्ध र त्यसपछि नेपाली जनताले भोग्नुपरेका पीडा, देशलाई लुटेर स्वार्थपूर्ति गर्ने कपूतलाई निमिट्यान्न पार्नुपर्ने भाव व्यक्त गरेका छन् । साथै, जन्मभूमिको सुरक्षार्थ प्रत्येक नेपाली जुरूक्क नउठे लामो व्रmान्ति र जनताको बलिदानपछि हुर्केबढेको गणतन्त्रको वृक्षमा फलेको अमृतमय फल खान नपाइने भन्दै कवि अधिकारीले सबै नेपाली जनता एक ढिक्का भई निद्राबाट ब्युँझिएर जर्जर अवस्थामा पुगेको देशलाई उत्थानका निम्ति आह्वान गरेका छन्:
उच्चा माथ समस्त विश्वभरमा हाहा गिरायौ किन ?
चाँडा भाव उदार भित्र दिलको सङ्कीर्ण पार्यौ किन ?
पुर्खाको पसिना चुकाउन भनी यत्नै गरेनौ किन ?
आमाको मुटु रोपिँदा हृदयमा, छुरी झिकेनौ किन ?
(किन: ५)
रून्छन् स्यालहरु विरक्त सुरमा बस्ती उजाडीकन
चस्का पस्छ चसक्क घोच्छ मुटुमा झस्कन्छ है यो मन ।
दौँतेरी परराष्ट्र काँ’ पुगिसके हामी कहाँ छौँ अझै
हाम्रा सन्तति पाश्र्वमा धमिलिए कुन शानले बाँच्नु है
(हाम्रो अहो जीवन: ४)
छिमेकीले कहिले सुस्तामाथि बलात्कार गर्छ, कहिले लिपुलेक काटेर लैजान्छ । प्राकृतिक प्रकोपले ग्रस्त भएका बेला नाकाबन्दी लगाउँछ । छिमेकीप्रतिको सद्भावनापूर्ण व्यवहार उसमा निमिट्यान्न भएको छ । औपचारिकतामा ठिक्क पार्छ तर भित्रभित्रै छुरा धस्छ । मातृभूमि विदेशीको व्रmीडास्थल भएको अवस्थामा समेत दलका नेताहरु आपसी कलहमै अल्झेर स्वार्थमै लिप्त छन् । छिमेकीको यस्तो असह्य व्यवहारप्रति अनि नेताको मरन्च्याँसे खेलप्रति असन्तुष्ट हुँदै कविले आव्रmोश व्यक्त गरेका छन् । स्वार्थभन्दा राष्ट्र ठुलो भन्दै कविले सङ्कीर्णता, लोभ, मोह र धृष्टता सबै त्यागी राष्ट्र निर्माणमा जुट्न आग्रह गरेका छन् । अनेक रुपका खलपात्र भएर आर्थिक, सामाजिक, सांस्कृतिक दोहनले खोव्रmो बनाइसकेको देशमा योग्य, बहादुर, सक्षम र निःस्वार्थी नेताको खोजी गर्न पनि कवि पछि परेका छैनन् । नेपाली संस्कृति, परम्परा र रीतिरिवाज पूर्वीय आर्य संस्कृतिको परम्पराको जगमा विकास भएको छ । यो संस्कृति नेपाल र नेपालीको पहिचान हो । पूर्वीय सभ्यता–संस्कृतिलाई अनुशरण गर्ने नेपाली समाज आज पश्चिमाहरुको झिलिमिलीमा रमाउन थालेको छ । आफू र आफ्ना पूर्वज, आफ्नो सभ्यता भुलेर पेसाको पछि लागी आफन्त, नातागोता, इष्टमित्र त्यागेर पैसाकै भ्रममा परी पश्चिमा सभ्यतामा रम्न व्यस्त भएको आजको प्रवृत्तिले देशलाई नराम्रोसित भड्खालामा पु¥याउन सक्छ । संस्कृतिमै देशको मौलिकता अडेको हुन्छ । सभ्यता र संस्कृति मासिए भने देशको पहिचान हराउँछ । नेपाल र नेपालीको पहिचानको उचाइ भनेको राष्ट्रिय संस्कृति हो । नेपालभित्र विदेशीको ज्यादती, सांस्कृतिक आव्रmमण आदि कुरालाई कविले आफ्ना कवितामा उठान गरेका छन् । ‘छिमेकी, जुट्तैनौ किन हो, म पूर्वैको मान्छे, लौ भोर भो’ आदि कवितामा देशको मौलिक संस्कृति र अन्तर्राष्ट्रिय परिवेशका माध्यमबाट कवि अधिकारीले देशभक्तिको भावना व्यक्त गरेका छन् ।
३. क्रान्तिकारी चेतना
मानवमूल्यमा ह्रास ल्याउने सशक्त अस्त्र द्रव्यपिशाची भावना हो । यसै भावनाले मान्छेलाई चाकडीको पराकाष्टामा पु¥याउँछ । को आफन्त, को पराइ, देख्नै चाहँदैन । भ्रष्टाचारी प्रवृत्ति मौलाउँछ । सामाजिक, राजनीतिक, सांस्कृतिक र ऐतिहासिक मूल्य र मान्यतामाथि सक्दो प्रहार हुन थाल्छ । हत्या, हिंसा, बलात्कार, लुट, चोरी, डकैती, छलकपट आदि प्रवृत्तिको शासनले समाज र देश आव्रmान्त हुन्छ तैपनि तिनबाट द्रव्यमोह हट्दैन । मानव आफूले आफैलाई विनाशको भड्खालातिर धकेलिरहेको छ । सुन्दर प्राकृतिक छटा, चम्किलो घाम, सुन्दर फूल, फूलको वासना आदि जीवनसापेक्ष वस्तु हुँदाहुँदै पनि त्यसलाई नबुझेर आजको मान्छे नकारात्मक दिशातर्फ उन्मुख छ । मान्छे मान्छेको स्तरमा बाँचेको छैन । हराउँदै गएको मानवीय संवेदनशीलताका कारण मान्छेले आफैलाई शोषण गरिरहेको छ । जाली, फटाहा, कालकूट विषले भरिएका स्वार्थीपनले समाज खर्लप्पै खाएको छ । छलकपटरहित स्वच्छता र निर्मल एवम् पवित्र भावना समाजमा बत्ती बालेर खोज्नुपर्ने अवस्था आएको छ । कवि अधिकारीले समाजमा मौलाउँदै गएको यसप्रकारको विकृत परिस्थिति एवम् विसङ्गत अवस्थाप्रति विद्रोह व्यक्त गर्दै व्रmान्तिकारी चेतना प्रस्तुत गरेका छन् । ‘फाटेका दिल जुटाऔँ, उठून् सारा मान्छे, लोकको आत्मरक्षा, मान्छे हरायो किन, विश्व एक जुट बन्दछ, चाकडी, पौरख, सोच्नुपर्ला कि, ती निर्मला पन्तको, आजको मान्छे, सन्दीप सल्काउने, स्खलित गौरव, मालामाल कमाल, तँ खा’ आदि कवितामा कविको व्रmान्तिचेत एवम् मानव मूल्यको गिर्दो अवस्थाको चित्रण छ । कविले मानवमूल्य जगाउने सन्देशसमेत आफ्ना कवितामा यसरी प्रस्तुत गरेका छन् ः
ढुङ्गो भएको मन मृत्यु हुन्छ
सुक्तै गएको मन भृत्य हुन्छ
विवेकका पङ्ख सबै गुमाई
सकिन्छ बस्नै कसरी रमाई ।
(फाटेका दिल जुटाऊँ: ४)
के रून्छौ जब कर्म धर्म घटिया पारेर बाँचेपछि
भित्रैबाट मनुष्यता थिलथिलो पारेर नाचेपछि
प्यासी हुन्छ आसाध्य मानिस स्वयं घाँटीहरु रेटिँदा
केको सृष्टि बनाउला सुललिता आफू स्वयैं मेटिँदा ।
(मान्छे हरायो किन: ४)
उपयोगी शिक्षाको अभावमा चेतना भएर पनि समाज चेतनाशून्य भएपछि विकृति विसङ्गति मौलाएको कविको धारणा छ । वैदेशिक रोजगारीका निम्ति युवा बिदेसिनाले गाउँ सुनसान छ । वृद्ध मातापिताले संसार छाड्दै गए । परिवार र छोराछारी गाउँ छाडी सहर पसे । बचेखुचेका केही व्यक्तिमा कर्म गर्नुपर्छ भन्ने भावना घट्तै गएकाले कुनै समयका हराभरा खेतबारी अहिले बाँझै छन् । संस्कृति र मानव मन भत्कँदै छ । यस्तो विकराल परिस्थितिमा नेताले भाषण गर्दैमा, कलमवीरले कलम चलाउँदैमा सुतेकाहरु जागा हुन नसकेको भाव कविले प्रस्तुत गरेका छन्:
को सक्छन् मन भाँचिए यदि भने जोड्ने कला ल्याउन
फाली कल्मष भित्र भित्र दिलको धोएर सुद्ध्याउन
कैले शुद्ध हुँदैन हा ! दिल भने धोएर पो हुन्छ के ?
यौटै हुन्न भने समस्त दिलमा छोएर पो हुन्छ के ?
(लेखेर पो हुन्छ के ?: ६)
मान्छे मान्छेमा बढ्दै गएको विभेदको खाडलका कारण दुर्जन र सज्जनबिच हानथाप, द्वन्द्व बढ्दै गएको छ । अत्याचारी, दुराचारी, हत्यारा, भ्रष्टाचारी, कालो धन्दामा निर्लिप्त भएर लाग्ने अहङ्कारी प्रवृत्ति एउटा पक्षमा उभिएको छ भने अर्को छेउमा शान्त, सिधा, साधुपन, सज्जन, इमानदार, मानवसेवी प्रवृत्ति उभिएको छ । एउटै पँधेराको पानी र एउटै भूमिमा उब्जेको अन्न खानेका बिच पनि यति ठुलो भिन्नता देख्ता कवि अचम्ममा परेका छन् र उनी समतामूलक समाजको परिकल्पनामा जुटेका छन् ः
सबै देखून् धर्तीभर सकलमा पूर्ण समता
विवेकी सारा हुन् पर र वरमा पूर्ण ममता
अहो हाम्रो धर्ती ! अच्युत अलका स्वर्ग छ यहीँ
कहाँ खोज्ने अर्को परपर अझै स्वर्ग छ यहीँ ।
(आजको मान्छे: १०)
आजको मानवमा एकाकी भावना बढ्दो अवस्थामा छ । आपूm मात्र सत्ताभोगमा लागिरहन पाए हुन्थ्यो, आपूm मात्र सुविधा भोगमा निर्लिप्त हुन पाए हुन्थ्यो, भन्ने आत्मकेन्द्री भावनाले जरो गाडेको अवस्था छ । तसर्थ उसले आपूmबाहेक अरु कसैलाई देख्न छाडिसकेको छ । शक्ति हुनेले अरुको समेत भाग हड्पेर लिइहाल्छन् र मोजमस्तीमा जिन्दगी बिताउन थाल्छन् । निर्धा र कमजोरहरु पछि परेको परेकै गर्छन् । मानवमा हुर्कंदै गएको यस किसिमको प्रवृत्ति अन्त्य भएको कविले देख्न चाहेका छन् । तसर्थ स्वर्गीय आनन्दमय भूमि नेपालमा जन्मेका सबै जनतामा विवेक भरिँदै आओस् र सबै मानवमा समता र ममतापूर्ण भावनाको विकास भयो भने मात्र सबै मानव सुखी हुने छन् भन्ने भाव कविले आफ्ना कवितामा व्यक्त गरेका छन् । माक्र्सवादी सौन्दर्यशास्त्रीय मान्यताका आधारमा हेर्दा पनि उनका कविता उत्कृष्ट देखिन्छन् ।
४. आशावादी भावना
कृषिप्रधान देश भनेर परिचित नेपालका गाउँ र गर्खामा रहेका खेतबारी बाँझै छन् भने नेता, मन्त्री, कर्मचारी गमलामा धान रोपेर रोपाइँ दिवस मनाइरहेका हुन्छन् । कृषि, विकासनिर्माण आदि जुनसुकै क्षेत्रमा मौलाएको विकृतिबाट मुक्त हुन आवाज उठाउँदै कविले रातो झन्डा फर्फराउँदै पहाड फुटाएर सम्याउनुपर्ने, रातमा पनि झलमल्ल घाम लागेजस्तै जताततै विद्युत्को उज्यालोले ढाक्नुपर्ने अत्यन्तै आशावादी र ऊर्जाशील भाव व्यक्त गरेका छन् । कविले भनेका छन्:
रातो फर्फर केतु जोर करले बोकेर त्यो आउला
ढुङ्गाको पहरो फुटाउन सके संसार सम्याउँला ।
सन्ध्या रात रहन्न खुल्छ प्रतिभा चौतर्फी आकाशमा
यौटा सन्दर साँझ घुम्छ जगमा, धोका डुबे भासमा ।
(पहाड सम्याउँला: ८)
बिग्रँदै, ढल्दै र खस्कँदै गएको मानवीय मूल्यको पुनस्र्थापन गरी मानवताको दियो जगाउँदै समाज, देश र विश्व परिवेशमै मानवतावादी भावनाको विकास गर्नुपर्ने भावनासमेत कवि अधिकारीका कवितामा व्यक्त भएको छ । साथै नेपाली समाजबाट हराउँदै गएको सांस्कृतिक चेतना र सांस्कृतिक पहिचानलाई पुनरागमन गराउन कविले आह्वान गरेका छन् । समाजमा मादल घन्कन छाडिसक्यो, कमजोर शिक्षाका कारण जनता बौद्धिक रुपमा पिछडिएका छन् । संस्कृतिको मुहान सुक्न थालेको छ । हामी छिचिमिराझैँ भएका छौँ । कमजोर पखेटाका कारण आफै मासिँदै छौँ । कविले संस्कृति, परम्परा, पहिचान नमासी सक्षम, निडर, सुरम्य परम्पराले भरिएको क्षमतावान् समाज निरन्तरताका निम्ति आग्रह गरेका छन् ।
५. सूक्तिमयता
पदलालित्य, भावमय गहनता, सूक्तिमयता, लयात्मकता, वस्तु र भावको अन्तरमिश्रण आदि तङ्खवका कसीले कवित्व शक्तिलाई घोटेर हेर्दा देखा परेको सारतङ्खवले कविको वास्तविक पहिचान दिन्छ । कवि अधिकारीका कवितामा उप¥युक्त सबैखाले तङ्खव एकपछि अर्को गर्दै जागरूक भएर आएका छन् । सूक्तिमयताको उदाहरण:
जो आफ्नो मुटु चिन्दैन त्यो के मानिस हुन्छ र ?
माटो चुम्न नजान्नेले के भित्री दिल छुन्छ र ?
(मुटु हुन्छ सधैँ सिङ्गो: ६)
मान्छे मान्छे भएदेखि स्वर्ग ओर्लन्छ पाउमा
वृत्ति दानवको आए प्यार बल्झिन्छ घाउमा ।
(सोच्नुपर्ला कि: ९)
कवि अधिकारीका कवितामा सूक्तिमयताका यस्ता धेरै उदाहरण पाइन्छन् । आकाशमा चरा उडेझैँ स्वच्छन्द भएर आएको भावनालाई शब्दरुपी फूलका थुँगाको मालाझैँ उनिएर अमृत रस निरन्तरझरिरहोस् भन्ने कविको कवितासम्बन्धी भावना यसरी व्यक्त भएको छ ः
फुलून् लाखौँ लाखौँ सबल मनका भावलहरी
उडून् पन्छी राम्रा सुलय गतिमा स्वर्ग नगरी ।
बनोस् भारी वर्षा अमृतरसझैँ काव्यकलना
झरोस् मच्ची मच्ची विरह नबनोस् गीत–झरना । ।
(अमृतरसझैँ काव्यकलना : २)
सिर्जना स्वर्गभन्दा ठुलो छ । स्वर्गीय आनन्द प्राप्त गराउने कविताले विश्वसंसारै हाँकोस् भन्ने कविको भावना यसरी व्यक्त भएको छ ः
झटपट मन खोली भित्रको बात बोलूँ
तनहृदय दुवैको सारको बात खोलूँ ।
कवि रविसम रश्मि–तेजले देश ढाकून्
श्रमरत कर कैल्यै सुस्ततामा नथाकून् । ।
(स्वर्गभन्दा बडा छ: १)
वास्तवमा रविले सुवर्णदेखि दुर्गन्धसम्म र महलमेखि झुपडीसम्मका कुनै पनि कुरामा भेदभाव नगरी सबैमा समानताका दृष्टिले बराबरी ताप दिन्छ । अझ सूर्यको तापले दुर्गन्धित वस्तुमा रहेको दुर्गन्ध बिस्तारै विनाश गर्छ र माटामै विलीन बनाइदिन्छ । कविको भावना पनि त्यसै गरी आउनुपर्ने मान्यता कविहरुले नै व्यक्त गरेका हुन्छन् । कवि अधिकारीले पनि आफ्ना कवितामा ‘कवि रविसम रश्मि’ भनेर कवि र रविलाई समान दृष्टिमा हेरेका छन् ।
६. निष्कर्ष
मुक्त छन्दमा भन्दा बद्ध छन्दमा कविता रचना गर्न रूचाउने कवि अधिकारीका यस सङ्ग्रहका सबै कविता पद्य लयमा रचना गरिएका छन् । प्रचलित वर्णमात्रिक छन्दमा देशप्रेम, देशको महिमागान, सांस्कृतिक गौरवको महिमा, प्राकृतिक सौन्दर्यको चित्रणमार्फत मातृभूमिप्रतिको अगाध मायाममता, समाज र देशमा देखा परेका विकृत पक्ष र त्यस्तो विकृति निम्त्याउने नेता, कर्मचारी, व्यापारीलगायत समाजका अगुवाप्रति तिखो व्यङ्ग्यभाव व्यक्त गर्नु कवि अधिकारीका कवितामा पाइने मूलभूत वैशिष्ट्य हुन् । कविले यस सङ्ग्रहमा सत्रओटा छन्द प्रयोग गरेका छन् । शार्दूलविक्रीडित, शिखरिणी, मन्दाक्रान्ता, भुजङ्गप्रयात, वसन्ततिलका, उपजाति, पञ्चचामर, मालिनी, स्रग्धरा, अनुष्टुप्, इन्दिरा, वंशस्थ, तोटक, द्रुता वा सुन्दरी, हारिणी, तृणक वा चामर, विलोला कवि अधिकारीले यस सङ्ग्रहमा प्रयोग गरेका छन्दहुन् । यसर्थ उनी समकालीन नेपाली छन्दवादी कवि निर्मोही व्यास, डिल्लीराम अर्याल, रामप्रसाद ज्ञवाली, देवी नेपाल, जगत् उपाध्याय प्रेक्षित्, प्रह्लाद पोखरेल, रमेश खकुरेल, प्रभा भट्टराई, दिव्यलक्ष्मी पोखरेल, कल्पना काफ्ले, धरणीधर गुरागाईं, गणेश मार्मिक आदिको पङ्क्तिमा उभिन पुगेका छन् ।
सन्दर्भ सूची
अधिकारी, जीवनाथ. (२०५९). जूनभित्रको आगो. भक्तपुर: पिङ्गलादेवी अधिकारी ।
अधिकारी, जीवनाथ. (२०७७). अविदित यात्रा. भक्तपुर: पिङ्गलादेवी अधिकारी ।
अधिकारी, जीवनाथ. (२०७७). मास्कले थिचिएको जिन्दगी. भक्तपुर: पिङ्गलादेवी अधिकारी ।
भण्डारी, जगदीशचन्द्र. (२०५५). प्रगतिवादी नेपाली कविता: रेखाङ्कन र विश्लेषण. काठमाडौँ: मुन्नी भण्डारी ।
भण्डारी, जगदीशचन्द्र. (२०६५). सौन्दर्यको भूमिका. काठमाडौँ: अखिल नेपाल लेखक संघ ।
लम्साल, शक्ति (२०६३). माक्र्सवाद, समाजवाद र साहित्य. काठमाडौँ: ऐरावती प्रकाशन प्रा.लि. ।