इन्द्रकुमार श्रेष्ठ ‘सरित्’

झुन्डिन्छ कहिले यो भिरमा
हामफाल्छ कहिले त्यो भिरमा
स्थिर त्यो पटक्कै छैन
चुर्ना पो परेको छ कि उसलाई
एक ठाउँमा ऊ अडिनै सक्दैन ।

कहिले रातोलाई राम्रो भन्छ
कहिले सेतोलाई राम्रो भन्छ
हिजोआज त
ऊ कालोलाई राम्रो भन्न थालेको छ
मनन गरेरै यसो भनेको हो कि ?
उसको बुद्धिलाई
औँसाले गिजोल्न थालेको हो ?

नाटक नै नगरी
ऊ नाटक गर्छ
कलाकार होइन ऊ तैपनि
रूने, कराउने, जोसिने, जोस्याउने
अभिनय ऊ निकै राम्रो गर्छ
तर दर्शकले अब थाहा पाइसके
यो ढटवारेको वास्तविकता
यो जस्तो देखिन्छ त्यो होइन
यसले जे भन्छ त्यो सत्य होइन

तैपनि
चमेरो यहाँ झुन्डिन्छ
चमेरो त्यहाँ झुन्डिन्छ
न त यो चरा न त यो पशु
भ्रमित पार्दै अरुलाई
दैनन्दिन नौलो भ्रम मञ्चन गरिरहन्छ ।

Facebook Comments Box

Similar Posts