अनुज श्रेष्ठ ‘पृथक्’

मसँग उसको कुनै तस्बिर छैन
सामाजिक सञ्जालमा पनि छैन, ऊ
भन्ने गर्छ – म असामाजिक प्राणी हैन
ऊ, मसँग भने निर्धक्क बात मार्ने गर्छ
म, उसलाई राम्ररी चिन्छु ।

स्वभाव उसको
आफैबाट निरपेक्ष रहने

टोलाइरहने मात्र पनि गर्दैन ।

ऊ, अरुलाई ढाट्न जान्दैन
छलकपट त परको कुरा
उसलाई कसैले छल्दा पनि
किन छल्यौ ? – भन्दैन
बरू ऊ चुपचाप सहिदिन्छ ।

अरु जोकसैलाई आफूजस्तै ठानीदिने
अनौठो बानी छ उसको ।

निस्कन्छ कता कता
सहरको बाटो र गल्लीहरुमा
हल्लिरहन्छ यताउता, ऊ
उसलाई कहीँ जानु छ – कसैलाई भेट्नु छ
भौँतारिरहन्छ दिनभर यसैत्यसै ऊ ।

लखरलखर बाटोमा हिँड्दै गर्दा
बाटोमा भेटिएका
कुनै अपरिचित मानिस मुसुक्क हाँसिदिँदा
वा, अपरिचित अभिवादन मात्रले पनि ऊ
अनायास झस्कन्छ – अचम्मित हुन्छ ।
कहिल्यै नचिनेका – नभेटेका
कहिल्यै बोल्दै नबोलेका
बिनाकुनै स्वार्थ – कोही किन मुस्कुराउँछ ?
उसले भेउ पाउँदैन
ऊ झनै सशङ्कित हुन्छ ।

उसलाई
आफ्ना भनाउँदाहरुले
मिठो वचन बोलेको था’छैन
र त, तिर्खाएका हुन्थे उसका कानहरु सधैँ
सुन्न
बोलीमा मिठास, अनि न्याना संबोधनहरु ।

उसको आफ्नो किसिमको दुनियाँ छ
तर भन्न सक्तैन, आफ्नै साक्खे दाइले झैँ दुनियाँलाई –
‘तँ कुन दुनियाँमा छस् !’

अंशमा ह्याकुला र हड्डीको विवादमा बोल्न सकेन
चुपचाप बस्यो
अंश मार्दा पनि प्रतिवाद गर्न सकेन
देख्नेहरु ढुङ्गा भै’दिए
तब उसलाई विश्वास भयो
ढुङ्गाहरु देख्दैनन् – सुन्दैनन्
सुन्न सक्नेहरु पनि बहिरा भै’दिएर
नबोली
मौन चुपचाप चुपचाप भै’दिए
उसले, अरुको मनमा लागेको लेउको भेउ
त्यो पनि कहिल्यै था’पाउन सकेन ।

बेला बेला ऊ आफैसित रिसाउँछ
राम्ररी बोल्न पनि जान्दैन ऊ
अरुसित बात मार्दा मात्रै पनि त्यसै त्यसै झर्किने गर्छ
त्यसैले गाउँघरकाले उसलाई झक्करे भन्छन्
भन्छन् –
‘अक्करे बिनासित्ति झर्किन्छ’
‘बोल्दाबोल्दै बिचैमा तर्किन्छ’
‘बेला न कुबेला सन्किने गर्छ’
गाउँघरभरि ऊ बदनाम छ ।

उसलाई
नागरिकतामा आफ्नो नाम
अक्करबहादुर लेखिदिएको मन पर्दैन
ऊ, नाम मेट्न सक्तैन – आफ्नो बानी फेर्न पनि सक्तैन
ऊ आफूलाई निर्बल ठान्ने
कसैको मुख थुन्न नसकेपछि
उसलाई लाग्छ – आफूसित अक्कल छैन
अनि, ऊ भित्रभित्रै आफैसित मुर्मुरिन्छ ।

आफ्नो कुरा राख्न मात्र पनि
जोखना हेराउनुपर्ने नियतिको ऊ
शालीन अराजक बन्न खोज्छ –
सक्तैन
भद्र अवज्ञा गर्न खोज्छ –
सक्तैन
थोपरिदिएको सामाजिक मूल्य र मान्यताहरु
कागत च्यातेसरि ध्यार्र च्यात्न खोज्छ
ऊ त्यसो गर्न पनि सक्तैन ।

साक्खे दाइले
उसको अंशको खेतबारी र घडेरी
धितो राख्दिएर
ठुलै रकम कुम्ल्याउँदासम्मन् चुइँक्क बोल्न नसक्ने ऊ
आठ महिने छोरो बोकी स्वास्नी माइत हिँडेपछि
तब, ऊ भित्रभित्रै भुत्भुताउन थालेको हो
उसलाई कैलेकाहीँ
अक्करे भिरबाट फाल हालेर मरुँ कि झैँ लाग्छ
ऊ आफैमाथि बज्रन सक्तैन – ऊ मर्न पनि सक्तैन ।

उसको जिन्दगी पनि आफ्नै नामजस्तै भएको छ
गाउँघरभरि ऊ बदनाम छ
उसलाई लाग्छ – ऊ पानीमरूवा हो

आमाबाउ पाल्नु
र स्याहार्नुको सामान्य भेद पनि छुट्याउन नसक्ने
दाइको दम्भको विरूद्ध कुर्लिंदै ऊ
अलिक झिल्को रोप्न खोज्छ मथिङ्गलमा –
सक्तैन
शिथिल मथिङ्गलमा अगुल्टाले झोस्न खोज्छ –
सक्तैन
भिरमा कतै अल्झिए झैँ, कठै !
ऊ खस्न पनि सक्तैन – त्यान्द्रो समाएर उठ्न पनि सक्तैन ।

उसलाई
तल परेको पनि था’छैन – माथि परेको पनि था’छैन
त्यसैले गाउँघरभरि ऊ बदनाम छ
भन्छ – ‘अक्करे सोझो छ’
‘मूर्ख छ’
‘चुपचाप जे पनि सहन्छ’
‘जे गरे पनि हुन्छ –
उसलाई जसले जे भने पनि हुन्छ’
जवाफ फर्काउने ल्याकत नराख्ने
गाउँघरभरिका लागि ऊ लाटोबुङ्गो हो ।

लुसुक्क लुक्ने गर्छन् जनप्रतिनिधिहरु
गाउँका टाठाबाठाहरुका भित्री खल्तीहरुमा
त्यस्तोमा ऊ फिटिक्कै शङ्का गर्दैन
साँवाअक्षर नचिन्ने ऊ
सर्जमिनमा जहिल्यै एक्लो पर्छ ।

पहुँच छैन उसमा
शीतल निवासको शीतल
न त पुसको ठिहिर्याउने जाडोमा
सिंहदरबारको गर्मी
चोरी औँलो ठड्याएर
सडकबिचोबिच सधैँ सधैँ उभिइरहने
एक मात्र प्रतीक एकताको
ए, कता हिँडिस्, अक्करे ? – पृथ्वी बाजे सोध्छ
उसका नमरेका आसहरुका लासलाई
छेवैको सर्वोच्च इजलास गिज्याइरहे झैँ लाग्छ

उसले आज,
सिंहदरबारकै बाटो समाएको छ
अनायास,
उसको टुप्पीदेखिन् पैतालासम्मन् रन्केको छ
आज ऊ
झिल्को मात्र हैन
मनभरि आगो सल्काएर सन्केको छ
मदिराशालाको प्राङ्गणमा
तीनपाने प्याला समाउन छाडेर ऊ
भएजतिका कागतपत्र बोकी
न्यायशालाको मुद्दा–फाँट पसेको
उसले
आसहरुलाई लास बन्न नदिन
इजलाससामु चिच्याई चिच्याई भन्ने छ –
‘श्रीमान्, अन्याय भयो !’
‘न्याय पाऊँ !’
‘श्रीमान्, न्याय पाऊँ !’

ढिलै भए पनि
अब भने ऊ, अक्करे साइँला
अर्कै भएको छ
अन्यायी विरूद्ध उसको लाटो रिसले
अब, उसको दुनिया चर्कै हुने भएको छ ।

मसँग उसको कुनै तस्बिर छैन
सामाजिक सञ्जालमा पनि छैन, ऊ
भन्ने गर्छ – म असामाजिक प्राणी हैन
उसलाई
मसँग निर्धक्क बात मार्न सहज लाग्छ
असहजमा मलाई सम्झने
अक्करबहादुर
अर्थात्
अक्करे साइँलालाई म राम्ररी चिन्छु ।

Facebook Comments Box

Similar Posts