खडक आर. सी. मिलन
(छेडागाड नगरपालिका २- साल्मा, जाजरकोट)
यहाँ घाम पनि डराएर पसिनाको
थोपाहरूमा लुकेर बस्छ,
यहाँ समयको चाल सुस्त हुन्छ,
जसरी अन्त्यपछि दौडिने केही रहँदैन।
म अगाडि उभिएको छु-एउटा चिताको छेउमा।
नजिकै एउटी बुढी आमा-हात जोडेर उभिएकी,
शरीर लरबराएको छ, आँखा सुकेको छ,
शायद आँसु सबै बर्सिसके…
र बाँकी छ-
स्मृतिको खरानी।
अर्को कुनामा छ घनघोर मौनता।
एक जना छोरो, जसको हातमा मोबाइल छ —
“लास्ट राइट्स” लाई पनि अब “फोटो अप” बनाउँछ।
दुःख पनि अब डिजिटल छ क्यारे!
बालकहरूको रोदन, रगत र पसिनाको गन्ध
मसानघाटको हावामा मिसिन्छ।
यहाँ धुपको धुवाँमा हराउँछ
पिता गुमाएका नाबालकको निराश भविष्य।
अझ पनि याद छ-
एक पटक एउटा पागलजस्तो देखिने मान्छे आयो,
र चिच्यायो:
“ए मसान! सबैको नाटक सक्ने तिमी अन्तिम रंगमञ्च हौ!”
त्यसपछि म सोच्न थालें-
साच्चै, यहाँ कुनै नाटक बाँकी रहँदैन।
न घमण्ड, न द्वेष, न मोह।
शरीर-चुपचाप, अनुहार-निर्विकार।
र जीवन-
केवल एउटा सम्झना, यदि कसैले सम्झिने हो भने।
यहाँ मन्त्रहरू जपिन्छन्,
तर मृत्युको सत्य झन तीव्र भएर गुञ्जिन्छ।
यहाँ मलाई लाग्छ,
हरेक आगोको लप्का भन्छ —
“जिउ, तर साँचो भएर जिउ।”
“पाउँदा गुमाउने कुरा पनि सोच।”
“सास हुँदा मूल्य बुझ।”
मसानघाट…
यो कुनै अन्त्य होइन,
यो चेतनाको एउटा झिल्को हो,
जहाँ जिन्दगी आफूलाई टुलुटुलु हेरिरहेको हुन्छ —
एकदम नांगो,
एकदम साँचो।


