महेश प्रसाईं
नेपथ्यता:
विषाक्त जीवाणुनिसृत
धुलो छ, धुवाँ छ, तुवाँलो छ,
छरपस्ट रछान पनि छ,
खोल्सा–झाडीमा फ्याउरोका झुन्डहरुद्वारा
आहाराकेन्द्रित सुसेली चलाउँदा
किलामा झुन्डिएको दाम्लो
र आँतमा अल्झिएको
हिक्हिक् चुँडाएर
अराजक बर्बराहटको
उही पुरानो ऋतु छ,
अपाश्र्वता:
अपवित्र चरित्रप्रधान
आशङ्का छ, कुण्ठा छ, चिरकाल वितृष्णा छ
आहालमा डुवान, चिड्चिडाहट पनि छ
चिलाउनेका हाँगाबाट, भुर्रर भुर्रर
वारिपारि मच्चाउने पखेटाधारी
विरह बर्साउन लताकुञ्ज कहाँ कहाँ
नाभीमा डढेलो सल्काएर,
हिउँद र वर्षाको
उही पुरानो गनगन छ,
दृश्यायित:
पाइलैपिच्छे थाक्यौ हौली
ए गर्भिणी परी,
धर्तीसित जीवनको सुमधुर सम्बन्ध
त्यही बाडुलीभर वाचा मात्र कहाँ हो र !