सुमन ‘शिरीष’ पोखरेल
(सिरानचोक ४, गोरखा)
गुदीबिना पनि धेरै सुन्दर पल्टिन्छन् बोक्राहरु
अनाज चुपचाप भित्र बस्छ मै ठुलो भन्छन् धोक्राहरु ।
ओजन हुँदो हो त अडिग हुन्थ्यो आफ्नै अडानमा
रित्तो भएरै त हावाको तालमा मच्चेर देखाउँछन् कोक्राहरु ।
भरिएको फलको रस कसले नचाहला र पिउन
ऊभन्दा म थुप्रो छु प्रमाणित गर्छन् निचोरिएका छोक्राहरु ।
मौन बस्छ चिन्तक जीवनजगत् अनुभव गरेर
जिन्दगीबारे प्रवचन दिन्छन् चिन्तनबिनाका खोक्राहरु ।
एक इसारा, एक सङ्केत काफी हुन्छ बुझ्नेहरुका लागि
मुर्खहरु बुद्धिमान् भनाउन सुकाउँछन् घोक्राहरु ।