नवराज रायमाझी
(बनेपा १, काभ्रे)
विगतलाई सम्झँदै
वर्तमानलाई नियाल्न खोज्छु,
आफैभित्र
जीवनको परिभाषा खोज्न थाल्छु ।
दुःख र अभावका
विगतका कठिन पलहरु,
जीवनका जिजीविषाहरुमा गरिएका
कठिन सङ्घर्ष,
सङ्घर्षभित्रका वर्तमानका भोगाइहरु
आफैमा तरङ्गित भइरहेछ ।
कसैको दुःख देख्नै नसक्ने भई
सबैको सुख खोज्दाखोज्दै,
आफै दुःखको सागरमा
डुबुल्किनु मार्नुपर्ने रहेछ ।
सक्षम, ऊर्जावान् र सहयोगी हुँदा
सबैको आँखाको नानी बनिएछ,
तर साथको जरूरत पर्ने बेला नपाइँदा,
आफैमा एक्लोपनको आभास हुने रहेछ ।
दुःख, कठिनाइ र सङ्घर्षका उपलब्धि
आत्मसात गर्नेले नगर्दा,
जिन्दगी
शून्य, निस्सार र अर्थहीन लाग्ने रहेछ ।
सुख, शान्ति, अमनचयनको खातिर
बेलगाम दौडिरहँदा,
आफ्नैले कर्तव्य र दायित्व बिमुख भइदिँदा,
आत्मसम्मानमा चोट पुग्ने रहेछ,
जीवन साँच्चै नीरस बन्दो रहेछ ।
कर्तव्य र जिम्मेवारीको
भारी बोक्दाबोक्दै गलिएछ,
भारी बिसाउने चौतारी खोज्दै गर्दा
आफै चौतारी बनिएछ ।
सोचाइ, गराइ र भोगाइको
प्रतिविम्ब नै जीवन भएछ,
जति दुःख परोस् या सकस
आफै जुध्नुपर्ने रहेछ ।
सुखद भविष्यको परिकल्पनामा डुब्दै,
दुःखसँग साक्षात्कार गर्नुपर्ने रहेछ ।
क्यानभासभित्र मसीले लत्पतिएको
आकार विहीन,
यो कस्तो विचित्रको जिन्दगी रहेछ ।


