वसन्त अनुभव

अदालतमा सम्बन्धबिच्छेदको बहस चलिरहेको थियो ।
‘के तपाईंलाई लोग्नेले हातपात र कुटपिट गर्ने गरेका छन् ?’ कठघरामा उभिएकी सुनमायालाई वकिलले सिधा प्रश्न गरे ।
‘छैन ।’ मुन्टो हल्लाएर उनले सङ्केत गरिन् ।
‘गालीगलौज वा चर्को आवाज ?’
‘छैन ।’
‘जबर्जस्ती करणी वा दुर्व्यवहार ?’
‘छैन ।’
‘…….’
वकिलले प्रश्न सोध्दै गए, उनले उत्तर दिँदै गइन् ।
‘यो पनि गरेको छैन, ऊ पनि गरेको छैन; गर्यो चाहिँ के ? के भएर सम्बन्धबिच्छेद गर्न लागेको त ?’
‘हो, उहाँले मलाई कुनै गालीगलौज, दुर्व्यवहार अझ भनौँ अहिलेसम्म चर्को स्वरसम्म गर्नुभएको छैन । तर मैले जे चाहेकी थिएँ, त्यो उहाँले दिन सक्नुभएन ।’
‘अरे प्रभु, खुलस्त भन्नुस् न ! तपाईंले के चाहनुभएको थियो जो उहाँले दिन सक्नुभएन ।’
‘समय ! हो, समय । बिहे भइसकेपछि लोग्नेसँग रमाइलो गर्ने, सुखदुःखका कुरा गर्ने, रिसाउने, खुसाउने रहर सबैको हुन्छ, मेरो पनि थियो तर उहाँलाई फुर्सद कहाँ हुनु र ! दिउँसो अफिस भइहाल्यो, बिहान, बेलुका र राति मोबाइल । यसरी एउटै घरमा अपरिचितझैँ बस्नुको के औचित्य रह्यो र ! त्योभन्दा अलग भएकै ठिक ।’

Facebook Comments Box

Similar Posts