शिवप्रसाद जैसी

राजधानी पसेको पनि एक दशक नाघिसकेको थियो । औपचारिक शिक्षा पूरा गरेकोले सरकारी जागिरप्रति त्यति सन्तुष्टि थिएन । विकल्पबारे सोचेर घोत्लिन्थ्यो । कसैसँग गफ भने गरेको थिएन । मनमनै आफै भौतारिएको त होइन तर कता कता के के नपुगे जस्तो महसुस गर्दै थियो । घरका चाहनाहरु बढ्दै थिए । छोरो जागिरे भएको खबरले आशाहरु थपिनु अस्वाभाविक थिएन । पढने बेला घरबाट पठाएको सामलतुमल र पैसाको हिसाब गर्ने हो भने उसको जागिरबाट प्रतिमास प्राप्त हुने तलब असन्तुलित थियो । वर्तमान मूल्यमा नबदलिकन हिजो घरबाट पठाएको रूपियाँलाई हिजोकै मूल्यमा राखी मुद्राको समय मूल्यलाई बेवास्ता गर्दा पनि बाआमाले पठाएको खर्च नै आजको उसको जागिरबाट प्राप्त हुने बेतनभन्दा बढी हुन्थ्यो । प्रतिमहिना बाले हिजो पठाएको पैसा र आज उसले पाउने तलब ब्रेकइभनमा हुन्थेन । लाभलागत विश्लेषण गर्दा उसको जागिर घाटाको थियो ।

तलब प्राप्त गथ्र्यो । कोठाभाडा बुझाउँथ्यो । सरसामान किन्थ्यो । मनमनै डेबिट क्रेडिट गर्थ्यो । हरेक महिना अर्को महिना नौलो लुगा किन्ने रहरमा कल्पिन्थ्यो । बाआमा, दाजुभाउजू, दिदीबहिनीलाई आउँदो दशैंमा पूर्वकल्पित भावनाअनुरुप नौलो लुगा अलिकति गहनापात कल्पनामै किन्थ्यो । वास्तविक कारोबारको लेखा व्यवस्थापन लाभलागत सजिलै वास्तविकतामा आधारित भएर नै गथ्र्यो तर कल्पनामा गरिएका कारोबारको हिसाब वैज्ञानिक तरिकाले राख्न नमिल्ने सैद्धान्तिक पढाइले गिजोल्थ्यो । वास्तविक कारोबारभन्दा कल्पित कारोबार कति राम्रा हुन्छन् । कहिले आकाश पुग्छन् त कहिले पाताल खस्छन् यिनको तुलना कसरी वास्तविक कारोबारमा हुन्छ जस्तो लाग्थ्यो । वास्तविक त त्यही एउटै त हो पाउने पाएर दिनेले दिएपछि सकियो । न पाउनेले सम्झिनुपर्यो न दिनेले । कारोबारसँगै तिनीहरुको मृत्यु हुन्छ । घरभाडामा घरबेटीले नगद पाउँछ उसलाई के मतलब रामेले देओस् कि श्यामेले, कालेले देओस् कि गोरेले चाहिएको पैसा हो । मोल हो, घरको कोठाको मासिक मोल । हुन त घरबेटीले घर बनाउँदा किनेका इँटा, सिमेन्ट, बालुवा, छड, झ्यालढोका बेच्नेले पनि कहाँ घरबेटीको याद गर्यो होला र उधारो बाँकी रहेसम्म सायद पक्कै उसको याद गर्यो होला । खाता राख्यो होला । फोनको घन्टी बजाए होलान् । हिसाबकिताब खातापाता नराखेका भए उसको मुहार सात जुनी नबिर्सने गरी दिमागले तस्बिर खिचेर दिमागको भित्री भागमा नमेटिने गरी सेभ गरे होलान् । पैसा पाउनेबित्तिकै लेखा नगदमा परिणत भयो होला । नगदमा परिणत हुँदा घरबेटी लेखाले आफै चट् गरिदिन्छ । गर्यो होला । दिमागमा भए दिमागले अर्को कुनै घरबेटीलाई सेभ गरेर मेरो घरबेटी डिलिट गर्यो होला । घरबेटी नगदमा परिणत भएपछि तिनका नामनिसाना कतै रहेनन्, रह्यो त केवल नगद ।

घरबेटीले ठेक्का दिए होलान् । ठेकदारले मिस्त्रीकुल्ली लगायो होला । घरबेटीले ठेकेदारलाई दिएको हिसाबकिताब राखे होलान् । ठेकेदारले कुल्लीमिस्त्रीलाई बाँडफाँड गरेर आफ्नो लाभलागत विश्लेषणसहितको ब्रेकइभन त निकाले होलान् । घर बनेपछि ठेकेदारले घर हस्तान्तरण गर्यो  होला । घरबेटीले घरका रुपमा सम्पत्ति जोडे । ठेकेदारले नगद पायो । ठेकेदार र घरबेटीको सम्बन्ध सकियो । ठेकेदारले अरुलाई घरबेटी बनाउन अर्को घर सुरू गर्यो होला । घरबेटी कोठा भाडामा दिएर भाडा लिन्छन् । म भाडा तिर्दै छु । मैले छाडेर गएँ भने अर्को डेरावाल आउला । भाडा तिर्ला । के मलाई ती घरबेटीले सम्झेलान् र ? अँह, कुरा नगदनारायणको हो । नगदमा भएका कारोबारमा अरु सबै स्वाट्टै प्लसमाइनस जिरो हुन्छन् । कुनै स्वाद हुँदैन । बिस्मृतिमा जान्छन् । तर यी कल्पित कारोबार भने मजाका हुँदा रहेछन् । महिनौँबर्सौं दिमागबाट हट्दैनन् । कलमकापी केही चाहिँदैन हिसाबकिताब राख्न बडो गजब छ । मनले सुमसुम्यायो, मनले नै औँला चलाएर छाम्यो, मनले नै पसल, मल घुम्यो मनका आँखाहरुले खुब हेर्यो, छान्यो चाहिए जति । दियो दिनुपर्ने जतिलाई । बाँड्यो पाउने जतिहरुसँग खुसी । पटक पटक दोहोर्याई तेहेर्याई  त्यही कुरा मनमा फनफनी घुमायो । आझ, भोलि, पर्सि, महिना, वर्ष, बर्सौंवर्ष, आहा क्या मजा ! बाले छोराले दिएको दौरासुरूवाल सम्सुम्याई तलदेखि माथि आँखा गाडेर हेरेको देख्यो । आमाले चौबन्दी र धोतीमा भेटाएको छोराको स्पर्श, भाइले कमिजमा र पेन्टमा भेटाएको दाजु । बहिनीले फ्रकमा फनन घुमेको दाजु हेर्यो कहिल्यै धित नमर्ने गरी । बिल्कुल बेजोडले । मजै बेग्लै मनमै डेबिट मनमै क्रेडिट तर कहिल्यै नपन्छिने गरी वासलातमा प्रविष्ट हुने स्थायी दायित्व ।

फोनको घन्टी टिनिनी बज्यो । झस्क्यो । झल्याँस्स ब्युँझे जस्तो । ‘पारी गाउँका भन्तेले गड्डा चौकी भान्सारमा पिउनको जागिर खा’को पाँच वर्ष मात्रै भएको छ । गतिलो नौलो फराकिलो घर बनाइसक्यो । बाजेले बना’का पुराना घरको पनि पत्थरी छानो भत्काएर नौलो निला जस्तापाताको झकिझकाउ पाखो भएको हाम्रा गाउँबाट टिलिक्क टल्कने बनाई सुधारेर आफ्नो जन्मथलोमा बाजेको नाउँ राखिसक्यो । मलवारतिर पनि जग्गा जोड्यो भन्ने गाइँगुइँ हल्ला छ ।

पारि कोल्टाको वनपालेले पनि मलवारतिर राम्रै व्यवस्था गरेको मेरा यिनै आँखाले देखेर आएँ । तल्लागाउँका हवल्दारको बसाइ त तैँले नदेख्ने कुरै भएन । आफैले देखेकै छस् । हामीले भन्नै परेन । अँ, त्यो गैराघरे छ नि हाम्रा गाउँको पहिलो एसएलसी भन्यो कि के पास गर्ने त्यो खडदार भएको पनि धेरै भयो । त्यसको घरमा त जता हेर्यो त्यतै टल्किन्छ रे नि त । पूरै सुकिला ढुङ्गा लगाएका छन् अरे घरका खुड्किलामा र शौचालयमा । सुनेँ मात्र कता अनामनगरतिर प्रधानमन्त्री बस्ने नजिकै छ अरे । तँ त गएको होल्लाई आफ्नै गाउँको किन नजानु । आफ्नाको भएकै राम्रो । कहिल्यै यो राजधानी देख्न पाए मेरा यी आँखा पनि पवित्र हुन्थे ।

अँ, साँच्चै तँ त अधिकृत हाकिम भएको छस् भन्ने सुनेँ । वर्ष दिन त भइसक्यो घर बनाइ कि नाई जागिर कता भान्सारको हो कि ? त्याँ काठमाडौँमा भान्सार हुन्छ कि नाई । भान्सारमा भए त एक वर्षमै घर हुन्छ भन्दा सुनेको छु । काँ जागिर खान्छस् सकेसम्म नेतालाई भनी भनसुन गरी भान्सारमै जानू बाबै । साथीहरु नातिनातिना खेलाउने भए । तँ पढ्दापढ्दै बुढो भई ब्या पनि गरेको छैन । बुढेसकालमा खाएको जागिरमा धनसम्पत्ति चाँडो चाँडो जोड्नू, अब ढिला नगर्नू । तेरो बा धेरै दिक्काएको छ । अरुका छोरा जागिर खान्छन् तेरो छोरो पढ्दापढ्दै बुढो भयो भन्छौँ हामी सबैले । लुगाकपडा भाँडाकुँडा कत्तिक पठाको छस् घरमा । हामी सबै आश मानेर बसेका छौँ । हामीले पढाउन सकेनौँ । तेरा बाले खुबै दुःखकष्ट सहेर तँलाई राजधानीमा पढाएको हो । तँसँगैकाले बिहेवारी घरव्यवस्था गरिसके । म सदरमुकाम आएका बेला तेरा बाले एकपल्ट फोन गरेर भलोफुच्रो के छ फोनबाट सोधेर आउनू भनेको थियो । म आफै पनि तिम्रो स्वर सुन्न आतुर भएकोले फोन गरेको हुँ । मैले लामै कुरा गरेँ । ह्याँ गोजामा पैसा पनि छैन रूप्पे मस्तै उठिसक्यो होला । अरु पनि आफ्नालाई फोन गर्न लाइन बसेका छन् । तँ कसो छस् यत्ति भन्न फोन गरेक हुँ । हाकिम भएकोले कमाइदमाइ राम्रै होला । राम्ररी बस्नू आफ्नोबिरानो चिन्नू अरु म के भनौँ । पढेलेखेका मान्छलाई । म तेरा बाका मितको दाइ बोलेको । ल राखेँ ।’ टिँटीँ आवाज आयो ।

एकोहोरो सुन्यो । दोहोरो संवाद हुने अवसर प्राप्त भएन । मनमनै सोच्यो बुढासँग पैसा भएनछ । त्यही नम्बरमा आफ्नो कार्यालयको फोनबाट घन्टी बजायो । व्यस्तको आवाज फक्र्यो । लामो समयपछि फोन लाग्यो । उताबाट हलोको आवाज आयो । म लेक गाउँको सन्तबहादुर बोलेको त्याँबाट एकछिनपहिले मेरा मित जेठाबाले फोन गर्नुभएको थियो । खबर सोध्न पाइएन उहाँलाई पाऊँ न हजुर भन्यो । उताबाट ‘तपाईं को बोल्नुभएको हो हामीलाई थाहा छैन । मैले त्यो लेक गाउँ पनि चिनेको छैनँ । ह्याँ फोन गर्ने मान्छे कति आउँछन् कति, सबैलाई सम्झेर कहाँ साध्य हुन्छ । फोन गर्छन् । मिनेटको हिसाबले पैसा दिन्छन् जान्छन् । हामी कसैको मुख पनि हेर्दैनौँ । मान्छे पनि चिन्दैनौँ । यो पिसिओ हो । मन्छे लाइनमा छन् । मैले राखेँ ।’

मनमनै सोच्यो, बुढाले उधारो राखेर गएका भए कम्तीमा पनि यी नानीले तिनलाई चिन्थिन् । बुढाको नामठेगाना लेखेर उनको खातापाता बनाउँथिन् । उधारोले सम्बन्ध पो बनाउँदो रहेछ । यो पैसा त घाती पो रहेछ मानिसको जानपहिचान नाम थर ठाउँठेगानामा तगारो हालेर उछिन्दो रहेछ । पैसाले चिनजानमा भाँजो मात्र हालेन मेरो गाउँको नाम पनि लेख्न दिएन त्यो पिसिओको खातामा भन्दै मनमनै गुनगुनायो भन्नु त कसलाई भन्थ्यो र । काममा सहज मन गएन ।

गाउँलेको अनामनगरको घर सम्झ्यो । उसको घरमा गएर चिया खाँदा उसले लगाएको फुर्ती सम्झ्यो, ‘आजकाल पढेर के काम । डिग्रीसिग्री भन्या त्यस्तै हो । म त पहिलो एसएलसी हो त्यो गाउँको । जागिर खाएँ । धनसम्पत्ति जोडियो । जेठो छोरो अमेरिका छ । कान्छो क्यानाडा । छोरी अस्ट्रेलिया छ । बिहादान पनि यतैउतै गर्नुपर्ला । त्यता गाउँतिर बिहा गर्न खोज्ने मन त थियो तर मेरा छोराछोरीलाई पढेलेखेको जोडी मिल्ने कहाँ पाइएला र । जेठो त कुइरिनीसँगसँगै बस्छ भन्छन् । अमेरिका जान कहाँ सजिलो छ र । तिमीहरु गाउँबाट आएकालाई त आकाशको फल यो विदेश ।’

‘माड्साब के हो पढ्दै त होला नि घर जाने होइन । हामी त हिँन्यौँ । आज हाम्रो गुठी छ । माड्साबलाई लैजाऊँ भने डिस्टर्ब होला । पढने बानी छ । हामी त यस्तै हो । मारो गोली पढाइसढाइ ।’ सुब्बा सापको आवाजले उसलाई छोयो । ‘केको गुठी ?’ उसले सोध्यो । ‘खानपान गुठी । हप्ताको एकदिन सामूहिक अरु दिन मनको गुठी हामी त बिन्दास है माड्साब । के गर्नु छ र पैसा जोडेर छोराछोरी ठिकठाक छन् अब दिने हो बेलुका जाने भए हिँडौँ ।’ यति झ्वाफ दिएर सुब्बा साप गुठीको टोली लिएर हिँड्नुभयो । सन्तबहादुर पनि पछि पछि लाग्यो ।

सार्वजनिक बसमा चढेर गफैगफमा हिँडेको टोलीको गफमा सन्तबहादुर मिसिन खोज्दै थियो तर उसलाई दिउँसोको फोनले झड्का दिइरहेकोले ऊ खुलेर गफमा जम्न सकेको थिएन । तैपनि समूहमै थियो । बसबाट ओर्लेर बानेश्वरको रमझम रेस्टुरेन्टभित्र टोली छिर्यो  सन्तबहादुरसँगै ।

के खाने भनी सुब्बा सापले सोधे । सन्तबहादुरभन्दा सिनियर हाकिमले जवाफ दिए, ‘जिम्मा सुब्बा सापको । खाने चिज सबै चल्छ । मगाउनुहोस् ।’ ‘भेज कि नन्भेज ?’ जिस्केको भावमा सुब्बासापले फेरि सोधे । ‘केको भेज नि साप । चिकेन चिल्ली, चिकेन साँधेको, काजु साँधेको, मटन सेकुवा अनि बँदेल छैन ?’ वेटरले ‘छ’ भन्यो । ‘त्यो तिम्रोअनुसार बनाएर ल्याऊ है । रेडलेबल ।’

‘हिसाबकिताब तपाईंको है सुब्बा साप’ फेरि परिचित आवाज आउँछ । ‘मेरो त हिसाब मात्र हो सर मिलाउने ऊ लेखापाल साप । मलाई यो डेबिट क्रेडिट साह्रै झ्याउ लाग्छ । लेखापाल सापले सब ठिकठाक गोस्वारा भौचर, सन्तुलन परीक्षण, बैङ्क समाधान विवरण र एक्कैचोटि वासलात बनाएर ठिक पारिदिनुहुन्छ ।

सुब्बा साप सन्तबहादुरतिर फर्केर नौलो नजरले, ‘सन्तबहादुर माड्साब यो जागिर हो । भरखर खानुभएको छ । यहाँ ‘नि तपाईंको त्यो मूल्यमान्यता नैतिकताको कुरा आउँदैन । यहाँ त तपाईंले नगदनारायण कुरा गर्नुपर्छ । दिउँसो फाइल आउँदा गेरका नन् फाइनान्सियल कुरा नगर्नू नि । ती तपाईंका मूल्यमान्यता के के नैतिकता, समाजसेवा, ग्राहकसेवा, जनसेवा, जनभावना पढ्ने किताबमा ठिक छ । मनोभावनामा पनि ठिकै छ । हामी पनि नपढेका त कहाँ हो र माड्साब । वास्तविक जीवनमा यिनीहरु लागु गर्ने हो भने त त्यो एउटा पहिलेको हाकिम थियो नि के नाम रे सर ?’ सिनियर हाकिमतिर सङ्केत गर्दै ‘त्यो जोईले छोडेर हिँडेको के ?’

‘त्यो इमानदार बहादुर … कठै बिचरा ! यो रमाइलोमा त्यसको कुरा नल्याउनुस् त । त्यसको बिजोग सुन्न चाहन्नँ ।’ बिचैमा रोकिए वरिष्ठ हाकिम । ‘त्यसको त एक वर्षमा सातपटक सरूवा गराइयो नि हजुर ।’ सुब्बा सापको गर्विलो स्वर घन्कियो । एक्कासि सुब्बा सापको प्रशंसा चुलियो ।

‘ल ल सर भन्नुस् त त्यो अर्थ मन्त्रालयमा हजुरले के गर्नुभएको ?’ लेखापालले सोधे ।

‘के गरेको नभन्नुहोस् न के गरिएन । त्यहाँका सहसचिवलाई त थुरूरू चुड्कीका भरमा तह लगाइयो नि । सचिव चुपचाप । मन्त्रीको अँगालोमा बसेर बाहिरियाहरु भित्र्याएर चाहिने जतिको उन्नयन गरियो । नाम नसोध्नुहोस् है कुरा बाहिर जान्छ । कुरा लिक हुनु हुँदैन । सन्तबहादुरतिर फर्किंदै ‘माडसाब सावधान है । तपाईं यो गुठीमा नयाँ हुनुहुन्छ । हामी जे गर्छौं यहीँ हो बाहिर कुरा चुहिनु हुँदैन । सस् ।’ चोरऔँला सबैको ओठबाट नाक छुने गरी माथितिर खडा हुन्छ । एकछिन सुनसान । ‘हाम्रो गठबन्धन बलियो हुनुपर्छ, कसैले टुटाउन नसक्ने ।’

सन्तबहादुर डेरा शान्तिनगरतिर गयो । त्यहाँ उसको विद्यार्थीकालको डेरा जस्ताको तस्तै थियो । रेडलेबलले उसमाथि कब्जा जमाउन सकेको थिएन सायद । दिउँसोको टेलिफोनको झड्का रेडलेबलभन्दा बलियो थियो । ऊ त्यसैमा घोत्लियो । ओछ्यानमा पल्टिएर फेरि कल्पनाको सागरमा डुब्यो के के सोच्यो के के । उसले अघिको रमझमको हिसाब राख्नुपरेन । यसो पल्टिँदै थियो । उसको आँखा पुरानो नोटमा प¥यो । त्यसमा लेखिएको थियो, कुनै पनि सार्वजनिक निकायमा काम गर्दा पुर्वनिर्धारित नियमकानुनको अधीनमा रही नैतिक मूल्य र मान्यतामा खलल नपुग्ने गरी सेवाग्राहीलाई सार्वजनिक सेवा प्रदान गर्नुपर्छ । व्यवस्थापनका सिद्धान्तहरु अवलम्बन गरी समूहमा कार्य गर्नुपर्छ । न्यायिक सिद्धान्तका आधारमा सार्वजनिक प्रशासन चलाउनु स्थायी सरकारको आधारभूत मान्यता हो । यो आधारभूत मान्यतालाई कार्यान्वयन गर्नु स्थायी संरचनामा कार्यरत हरेक सदस्यको व्यक्तिगत उत्तरदायित्व र सामूहिक जिम्मेवारी हो । यो जिम्मेवारी पूरा गर्न राज्यको संवैधानिक निकायले मेरिटोक्रेसीका आधारमा योग्यतम व्यक्तिको छनोट गरेको हुन्छ । ध्यान कता कता मोडियो ।

नक्साल प्रहरी हेडक्वाटरको नजिक बनावटमा परम्परागत दरबारजस्तो देखिने तर अत्याधुनिक रेस्टुरेन्टमा जरायोको सुकुटीसँग ब्लुलेबलको चुस्की लगाइरहेका थिए निर्माण कम्पनीका ठेकेदार र अरु व्यवसायीहरुले । साथमा थिए दिउँसोका तिनै सुब्बा र केही थान अरु राजनीतिक पार्टीसँग सम्बन्धित बिचौलियाहरु । सुब्बा सापले एक जना नयाँ पार्टीका नयाँ सदस्यलाई अरुसँग चिनजान गराउँदै ‘उहाँ पनि हामीजस्तै मिल्ने मान्छे हो । उहाँको पार्टीबाट पनि अब परिवर्तन हुने मन्त्री मण्डलमा प्रतिनिधित्व हुने र त्यसका लागि सम्पर्क व्यक्ति उहाँ हुन सक्ने भएकोले मैले हाम्रो भविष्यसम्मको बाटो हेरेर नै उहाँलाई बोलाएको हुँ । यसमा हामी सबैको भलो हुने भएकोले हामी एकअर्काका पूरक भएर सहयोगी हुन सक्छौँ भन्ने हामी सबैको विश्वास छँदै छ । अरु हामीहरु बिच त पुरानै सम्बन्ध छँदै थियो । अब आजदेखि उहाँ पनि हाम्रो यो समूहको सक्रिय सदस्य हो । यो सबै संयोजन मैले नै गर्ने भएकोले तपाईंहरु नहिच्किचाई अप्ठ्यारो नमानी सहज रुपमा रमाइलो गर्न सक्नुहुन्छ ।’

‘मन्त्रिमण्डल हेरफेर हुने भयो । कुन कुन पार्टीबाट मन्त्री बनाउने भन्ने छलफल र सरसल्लाह गरेर निक्र्योल आजको बसाइबाट निकाल्न सकियो भने राम्रो हुन्छ’, सुब्बा सापले प्रस्ताव राखे । मलाई त जलस्रोत मन्त्रीको बढी चासो छ । यसमा मेरो ठुलो लगानी भइसक्यो । अर्को नयाँ आयो भने फेरि फन्दामा परिन्छ कि भन्ने डर छ’, हाइड्रो कम्पनीको मालिकले भन्यो, ‘यत्रो पैसा बाँडिसकेँ । फेरि बाँड्नुपर्यो भने त म बरबाद हुन्छु । न घर न घाट बनाएर पो जान्छन् कि क्या हो ! म आजकाल निदाउन छाडेको छु । निदाउनका लागि यो झोलको सहायता लिनुपरेको छ । मेरो कुरा अरुको भन्दा बढी सिरियस छ है सुब्बा साप ।’ ‘चिन्ता नलिनुस् अध्यक्षज्यू, हामी भएको के काम हजुर । हाम्रो काम यस्तै बेला त हो नि होइन हजुर’ मन्त्रीको नजिकका मानिससँग इसारा गर्दै सुब्बा साप बोल्न थाल्नुभयो, ‘हजुरको योभन्दा पहिलेको लगानी त त्यो छैन त्यसको काम तीन वर्ष ढिला गरेर अलिकति कमसल खालको सामान प्रयोग गर्दा मुद्राको समय मूल्य र कमसल सामानबाट बचिहाल्यो नि हजुर । मलाई ज्ञान छैन र ? डिले इन प्रोजेक्टले असुल गर्यो  नि हजुर अपरचुनिटी कस्ट त आयो नि । मरेको त सरकार हो नि हजुर हामीले कसलाई के बिगारेका छौँ र बिजुली किन चाहियो चाँडै । ल हात पड्काऊ’ दुवैले दाहिने हात टस गरे । एकछिन हाँसो छायो । आइडिया कसको सुब्बाको भने अध्यक्षज्यूले ।

‘मेरो पनि कम छैन हजुर, मैले सडकको ठेक्का लिएको यसमा घाटाको घाटै हुने भैगो फेरि अर्को ठेक्का पारेर घाटापूर्ति गरौँला भनेको मन्त्री फेरिए म बरबाद, सुब्बा साप ।’

‘हैट्, ठेकेदार साप के कुरा गर्नुभएको हजुरले । काम पनि ढिलो अनि सामग्रीको मूल्य मजदुरको ज्याला भुक्तानी नगरी उता जग्गामा लगानी गरेर निकालिहाल्नुभयो नि । फेरि कसको दाल गल्छ, हामी छैनौँ, हामी हजुरका लागि अब त्यो करोडको ठेक्काको कुरा नगरिबक्सेला । अब अरबमा हो । भरोसा हजुरको छ कहाँ पुग्नुपर्ने हो पुगौँला । फेरि सुन्नुहोस्, बालुवागिट्टी र काठमा जस्तो मालामाल अन्त कहाँ छ र ? यो त किन्ने होइन बेच्ने मात्र हो । जङ्गलको काठ, नजिकका खोलाको बालुवा अनि गिट्टी गाडीमा लोड गर्ने अलिकति ज्याला र इन्धनले खर्च टार्ने हो, लिएर साइडमा झार्ने हो । पैसो गोजीमा । कहिलेकाहीँ ती केजाति जनप्रतिनिधिलाई मिलाउने र पुलिसलाई एसो एकदुई बोत्तल सुँघाउने आफ्नो दुनो सोझ्याउने । अटेरीलाई जान्या छ नि वर्षमा पाँचपटक सरूवा गरेर डाँडा कटाउने, हिसाब मिलाउने, टन्टै साफ ।’

‘मलाई साह्रै समस्या छ है सुब्बा साप मेरो घरमा राखेको पैसाले निदाउनै सकिराख्या छैन । पक्ड्यो भने के गर्ने । सबलाई अर्तीउपदेश दिएर सिकाउने सुब्बा सापले मेरो बेखबर’ भन्दै सिनियर हाकिम चिच्याए ।

‘यस्तो सानो कुरामा डराउने ऊ जग्गा कारोबारी साहुजी हुनुहुन्छ । ल साहुजी उहाँको पैसा कसरी थोरै बनाउने भन्दिनुहोस् त ।’ सुब्बा सापले जग्गा कारोबारीतिर इसारा गरे । जग्गा कारोबारीले ‘मलाई सिकाउने हजुर होइन । सिकाउनुभा’ छैन उहाँलाई । भरखर त चरीले पाउ टेक्यो हजुर सङ्गत भरखर हुँदै छ । ल उहाँलाई त्यो दरबारमार्गको तीन आना जग्गा छ करोडमा किनेर दुई करोडमा पास गरिदिनुहोस् त चार करोड चट् । अब भएन ।’

‘वा सुब्बा सापको दिमाग, मानेँ ।’ खितखित हासो छुट्छ । सबै जना दाहिने हात उठाउँछन् । एकअर्कामा टस गर्छन् । मुद्रा व्यवस्थापन भन्छन् ।

‘ए हजुर, मेरो कुरा पछि पर्यो । कसैको ध्यान गएन । म आयातकर्ता हो । यो सरकारले आयात कर बढाउँदै छ भन्छ । स्वदेशी उत्पादनलाई बढावा दिने रे । मैले के गर्नु । म मर्नु । म त आत्महत्या गर्नुपर्ने हुन सक्छ । मैले त्यत्रो रकम बाडिसकेँ’ भन्दै आयातकर्ताले दुःखेसो पोखे ।

‘के भनेको महोदय त्यत्रो कच्चा पदार्थमा कर बढाएर हजुरलाई सघाएको होइन । हिसाब मिलान भएन । स्वदेशी उत्पादन भन्यो जनतालाई सुनायो यतापट्टि कच्चा पदार्थमा ह्वात्त आयात कर बढाएपछि को भयो मालामाल । दिमाग चाहिन्छ दिमाग । यो सब दिमागको खेल हो । यस्तो कुरो कसले बुझ्छ ! यी नेतालाई हामीले पालेकै छौँ । जनतालाई के मतलब, कुनचाहिँ जनताले बुझ्छ यस्तो कुरो । कसैले बुझेर कुरा गरेछ भने हामी गरौँला नि इलाज । यो सर्वपक्षीय रात्रिभोजको के काम, किन निरास’ भन्दै ढाडस दिए सुब्बा सापले ।

सरकारी कार्यालयका लागि चाहिने आवश्यक चिज कम्पुटर, फोटोकपी मेसिन र मसलन्दसम्बन्धी सम्पूर्ण कार्य मैले गर्ने वातावरण मिलाउनुपर्छ । अहिलेसम्म थोरै मात्र मैले पाइरहेकोमा हालको मन्त्रिपरिषद् बनेपछि केही कार्यालयका प्रमुख र कर्मचारीले मलाई नटेरी अटेरी गर्दै छन् । यसका लागि मैले अरु साथीलाई सहयोग गरे जस्तै मेरो पोल्टामा यो काम गर्नलाई सबैको सहयोग चाहिने छ’ भन्दै कार्यालयका सामग्री आपूर्तिकर्ताले आफ्नो दाबी प्रस्तुत गरे ।

छपाइसम्बन्धी कार्यको पनि तद्नुसार हक दाबीवालाले आफ्नो विषयवस्तु फ्लोर गरे ।

स्वास्थ्यसम्बन्धी सामग्री औषधीमूलो र उपकरणको व्यापार सबैभन्दा भरपर्दो भएकोले यसमा हाम्रो समूहले विशेष ध्यान दिनु आवश्यक छ भन्ने प्रस्ताव पनि त्यहीँ बिचबाट फुत्त निस्कन्छ । निस्केका प्रस्तावहरु सबै वित्तीय हुन्छन् । गैरवित्तीय कारोबार बैठकमा छलफलका विषयवस्तु बन्ने कुरै थिएन । बनेनन् । निर्णयहरु सर्वसम्मत हुने गरी छलफललाई अघि बढाइँदै थियो । नयाँ थपिएको पहिलेदेखि केही नबोली बसेको नयाँ पार्टीको प्रतिनिधिले मुख बङ्ग्याउँदै तल्लो ओठ बाहिर निकालेर ‘सबै कुरा ठिकै होला तर मलाई यो जोखिम र श्रम गर्ने व्यवसाय बिल्कुल मन पर्दैन, गर्नेहरु गर्नुहोस् तर मलाई जोखिमविहीन चाहिन्छ । कुनै लगानी नचाहिने । श्रम गर्नु नपर्ने खुत्रुक खुत्रुक होइन ग्वाम्म डल्लै आउने व्यवसाय मन पर्छ । त्यो भनेको सरूवाबढुवा गर्ने, ठेक्कापट्टा मिलाइदिने अनि बिचमा बसेर बिल्कुल नगद कारबार गर्ने । खातापाता बैङ्क सब वाइयात मेरा लागि ।’ ऊ नरोकिँदै, ‘कहाँ हुनुहुन्छ महासय, यत्रो गफ गरेको के नि, पहिलो प्राथमिकता नै त्यही हो । त्यसपछि ‘दुध केमा भातमा’ त्यो मिलाउने पनि आफ्नैलाई भनेको हो । रूट क्यानल ट्रिटमेन्ट । दाँतको उपचार खै बुझेको । दाँतको आरसिटी गर्दा माथिबाट खोप्दै तल छिर्ने अनि तल जराबाट उपचार गर्दै माथि आउने विधि हामी प्रयोग गर्छौं । त्यसैले मन्त्रिपरिषद्बाट सुरू हुन्छ खोतल्न अनि जरा पत्ता लगाएर आफै बिचौलिया आफ्नै मान्छेलाई काम बिल्कुल समावेशी । सबै पार्टीका सबै सङ्गठनका मानिसको नजिकका व्यापारीसँगको बिल्कुल इन्क्लुसिभ !’

सबैका विषयवस्तुमा एकअर्काले आफ्ना रायसुझाव प्रस्तुत गर्दै मन्त्रिपरिषद् हेरफेरसम्बन्धी छलफल सुरू हुन्छ । कसलाई कुन मन्त्री बनाउने सम्बन्धमा वादविवाद हुन्छ । मन्त्रीहरुसँगको पुरानो सम्बन्धका बारेमा एकअर्कालाई एकअर्काले जानपहिचानको लामो इतिहास बताउँछन् । इतिहास, इतिहास हो वर्तमान इतिहासबाट पृथक् हुन सक्छ । हामीभन्दा पहिले कोही सम्पर्कमा गएर कन्भिन्स गरिसकेका हुन सक्छन् । त्यसो भए कुन मन्त्रीलाई ट्रयाकमा ल्याउन के कसो जुक्ती लाउनुपर्छ । जुक्ती लगाउन को को खट्नुपर्छ । पहिलो जुक्तीले काम नगरे अरु वैकल्पिक जुक्ती के के हुन सक्छन् । हालसम्म सम्पर्कमा नभएका सम्भावित मन्त्रीसँग कसरी पुग्ने भन्नेबारे लामो छलफल हुन्छ । उनीहरुका नजिकका मानिस के कुराका सौखिन छन् । श्रीमतीहरुसँग कसको जानपहिचान हुन सक्छ । श्रीमतीहरुका सोखहरु के कस्ता छन् । नगद कारोबारमा विश्वास गर्छन् कि कम्पनीका सेयरमा जस्ता सबै कुराको निक्र्योल गरिन्छ । चलाउन नसकिने मन्त्रीलाई मन्त्रिमण्डलमा प्रवेश कसरी रोक्ने, रोक्न नसके तिनको बदनामको व्यवस्था गर्न कुन कुन पत्रकार प्रयोग गर्ने । कुन मिडियाले सहयोग गर्न सक्छ । त्यसलाई कसरी प्रयोग गर्ने भन्नेबारे मिहिन छलफलपछि सुब्बा सापले सम्भावित मन्त्रिमण्डलको खाका प्रस्तुत गर्छन् र कार्यान्वयनका लागि पार्टीका उपस्थित प्रतिनिधिहरुलाई जिम्मा लगाइन्छ । कोसेलीको पोका हस्तान्तरण हुन्छ ।

एकआपसमा गफ हुँदै थियो । सार्वजनिक सम्पत्ति भाडामा लिने कुरा पनि छलफलको विषय थियो । यो सार्वजनिक सम्पत्ति भाडामा दिने ठाउँमा अलि सजिलो हुनुपर्ने अहिलेको त्यो नयाँ अधिकृत अलि बाउँठिएको जस्तो छ । त्यसले त मान्ला जस्तो छैन नि । मै लागेको दुईचारपटक त्यसलाई ल खानपिनमा बसौँ भनेको सुन्दै सुन्दैन बस्नै मानेको छैन । केही छैन उपाय ? एक जना सहभागीले सार्वजनिक सम्पत्ति भाडामा लिने कुरा अघि सारे । हो हो त्यो अलि जठी छ है भन्दै अरुले सहमति जनाए । इलाज के गर्ने भन्ने विषयमा लामो छलफल चल्यो ।

सुब्बा सापले जुक्ती निकाले, ‘मैले सुरू गरिसकेको छु चिन्ता नलिनुस् । बेलुका बसेर रातो पदार्थ चखाइसकेँ । कालोनिलो हुँदै माथि उकाल्नुपर्छ, लाइनमा आउलान् । आज उनको जिल्लाबाट फोन आएको थियो । उनले थाहा नपाउने गरी मैले अर्को सेटबाट सुनिरहेँ । उनका मितबुबाको दाइको फोन रहेछ । पैसा नकमाएकोले पैसा कमाउनेको उदाहरण दिएर एकोहोरो गिज्याएजस्तै फोन गर्दै थिए । त्यसैले पनि पैसो चाहिँदो रहेछ । पैसो नहुँदा गाउँमा हेला गर्दा रहेछन् भन्ने परेको जस्तो अनुहार देखिन्थ्यो । त्यसमाथि हामीले पनि माड्साब भनी छेड्खानी गरेकै छौँ । बिस्तारै लाइनमा आउलान् । नआए जान्छन् हुलाक सेवा विभागमा । हामी कम छौ र ?’

‘कसा कसा काँ गए मुसा चल्ला दरबार । सन्ते माड्साबको उपचार हुन्छ । ढुक्क हुनुहोस् ।’ सुब्बा सापको अन्तिम बोलीसँगै सन्तबहादुर झसङ्ग बिउँझिन्छ निद्राबाट । टाउको भारी हुन्छ । कानका लोती ताते जस्ता हुन्छन् । निधारबाट पसिना निस्किन्छन् । जिउ थरर काप्छ । शरीरमा पानीको कमी भएको महसुस गर्छ । बिस्तारै ओछ्यानबाट उठेर घटघट पानी पिउँछ ।

कारोबारको लेखाभन्दा जीवनको लेखा व्यवस्थापन बहुत कठिन हुन्छ भन्ने कुराको हेक्का भरखर राख्न थालेका बेला बिपनाभन्दा सपनाको बैठक र छलफल बहुत कठिन छ जस्तो महसुस गर्छ । घोत्लिन्छ । बिपनाको बैठक र कार्य त जुधेर पनि सकिएला । दिनमा हुने कामको लेखाजोखा त राम्ररी राख्न सकिएला राति अँध्यारोमा बन्द कोठामा हुने कार्यको रेखदेख व्यवस्थापन कसरी गर्न सकिएला । दिनमा भेट्नेहरु त सजिलै चिन्न सकिएला । रातमा हुने भेटलाई कसरी छुट्ट्याउन सकिएला । हामीले दिनमा गर्ने व्यवस्थापनभन्दा अगाडि रातमा कुव्यवस्था भए कसरी जिउने । कसरी जिउन सक्ने बनाउने भन्ने कुराले सन्तबहादुरलाई खुबै सताउँछ । सन्तबहादुर खाना पकाउँदैन । भोक जाग्दैन । मन पूरै अघाएको जस्तो हुन्छ । जिउले खान माग्न छोडे जस्तो भरखर खाएर नपचे जस्तो अरूचिकर महसुस गर्छ । पकाउन मन लाग्दैन । अफिस जान हिँडेको सन्तबहादुर बानेश्वर चोकमा पुगेपछि अमेरिका, क्यानाडा, अस्ट्रेलिया, कतार, दुबई, जापान, जर्मनी जाने भिसाका लागि सम्पर्क गर्नुहोला भन्ने साइनबोर्ड पढ्छ र भ¥याङ चढेर उकालो लाग्छ ।

ओभरसिज कम्पनीको मालिकले उसको योग्यताको प्रमाणपत्रको कपी माग्छ । प्रमाणपत्र हेर्छ । प्रमाणपत्रका आधारमा तपाईंको वर्किङ भिसा क्यानाडाका लागि उपयुक्त हुने तर अस्ट्रेलिया, अमेरिका, युरोप सबै ठाउँमा अप्लाई गर्न सकिने सल्लाह दिन्छ । तपाईंको प्रमाणपत्र हेर्दा विद्यार्थी भिसामा पनि जान सकिने तर केही समय लाग्ने भएकोले पर्खनुपर्ने सुझाव दिन्छ । सन्तबहादुर भने यो झन्झटिलो जागिर खानुभन्दा सजिलो गरी काम गरेर र फन्दामा नपर्ने ठाउँमा तुरून्तै जाने निर्णयमा पुगिसकेको हुनाले प्रव्रिmया अगाडि बढाउन अनुरोध गरेर फर्कन्छ ।

दिउँसो १२ बजे मात्र कार्यालय पुगेकोले उसले आधा दिन क्याबी लिन्छ । कोठामा पुगेर काममा मन नलागी नलागी तल्लीन हुन थाल्छ । जसोतसो काम सकेर बेचैन मन लिएर घर जाने बेलामा सुब्बा सापले, ‘के हो माड्साप हिजोकोले राम्ररी छाडेको छैन कि क्या हो ? एकदिन खाए त्यस्तै हुन्छ । बानी पार्नुपर्छ सब ठिक हुन्छ’ भन्छन् ।

नभन्दै एक महिनामै सन्तबहादुरको क्यानाडा जाने पक्का हुन्छ तर उससँग पैसा हुँदैन । बाआमासँग माग्न सक्ने स्थिति पनि थिएन । बाआमासँग पैसा छैन भन्ने कुरा ऊ स्वयम्लाई थाहा हुँदाहुँदै माग गर्ने कुरा पनि भएन । उसले चिनेजानेका साथीभाइ सबैसँग हारगुहार र अनुरोध गर्छ । कतै पाउँदैन । उता कन्सल्टेन्सीले पैसा बुझाउन उर्दी जारी गरिसकेको हुन्छ । क्यानाडा गएपछि प्रतिमास किस्ताबन्दीमा बुझाउने कबुल गर्न तयार हुन्छ तर उसले मान्दैन । कसैलाई सुइँको पनि नदिइ जान खोजेको सन्तबहादुर आजित भएर सुब्बा सापलाई गुहार्न पुग्छ । खित्का छाडेर हाँस्दै सुब्बा सापले ‘यस्तो सानो कुरा माड्साब, यो त चुड्कीका भरमा गरिन्छ’ भन्दै एक जना व्यापारीकाँ पुर्याउँछन् । व्यापारीलाई बेलीविस्तार लगाएपछि उनी प्रत्येक महिना वार्षिक ३६ प्रतिशतका दरले ब्याजसहित किस्ताबन्दीमा तिर्ने गरी ऋण दिन राजी हुन्छन् । पैसा उतै क्यानाडामा भएको छोरोलाई बुझाउने सर्त हुन्छ । सन्तबहादुरको बाका नाममा भएको गाउँको जग्गा भोगबन्दकी राखी बेलैमा ऋण नतिरे जग्गा स्वतः व्यापारीका नाममा पास हुने बाध्यात्मक कानुनी कागज गराएर सन्तबहादुरलाई ऋण उपलब्ध गराइन्छ । सन्तबहादुर सुब्बा सापप्रति अनुगृहीत हुँदै कहिल्यै नफर्कने गरी देश छाडेर परदेश लम्किन्छ ।

Facebook Comments Box

Similar Posts