रामचन्द्र दाहाल

‘ए सन्देश तेरो अङ्कललाई फोन लगा त नाति ! त्यो घरैमा होला । आमाछोरासँगै बसेर बात मारे जस्तो बना है बाबु ! अस्तिको जस्तै । अँ त्यस्तै पारेर देखा भनेको । स्याबास नाति !
अहा … ! यी छ्याङ्ग देखिगो नि मेरो मुकु (मुकुन्द) बाबु ! सन्चै छौ ?’
‘हामी सन्चै छौँ आमा ! हजुरलाई कस्तो छ ? सन्चै हुनुहुन्छ नि ?’
‘म त यता सन्चै छु छोरा ! बरू त्यता तिमीलाई के कसो छ भनेर क्या ? जैले पनि मेरो मन तिमीहरुमाथि नै छ के गरुँ नातिनातिनी, बुहारी सबै सन्चै छौ नि ?’
‘यहाँ हामी सबै सन्चै छौँ आमा !’
‘ए ! ल त्यति भए त मलाई सन्तोष भैगो नि । सधैँ खुसी रहनू ! अनि खाना खायौँ त ?’
‘छैन भर्खरै कामबाट फर्केर कोठातिर जाँदै छु आमा ! हजुरले चैँ खानुभो त ?’
‘मेरो पनि खाने बेला भो तँसँग बोलेर खान्छु भनी पर्खाएकी छु ।’
आमाले भिडियोमा अत्यन्त गद्गद हुँदै मसँग कुरा गर्नुभयो ।
‘१०७ वर्षमा पनि हाम्री आमा कति तन्दुरूस्त ! आमाका मौलिक वस्त्र आभूषण कति सुहाएका ! आमाको टाठो बोली, भरिलो उज्यालो अनुहार ! आमा कति राम्री देखिनुभयो । म परदेश हिँड्दा छाडेको आमाको मुखमोहोडाभन्दा अझ भर्भराउँदो पृथक् अनुहार ।’ आमाको हाउभाउको उर्जा देखेर म पुलकित भएँ ।
बोल्दाबोल्दै आमा मज्जाले हाँस्नुभयो ।
के देखेँ मैले सपना ! आमालाई सन्चो भएन कि ? सपनामा झस्केर म अर्काे सपना देख्दै थिएँ । सपनामै ब्युँझेर अर्काे सपना देख्दैमा यति धेरै डराउनुपर्ने थिएन । तर म सपनाको मध्यान्तरमा भयभीत थिएँ ।
‘भोलि कसैले आमाप्रति सद्भाव देखायो भने बिहान ब्युझेर सुनाउनुपर्ला सपना ।’ सपनाको गुनासो नसुनाउँदा पनि हुने थियो तर मभित्र उकुसमुकुस थियो । मैले नमिठो बिहानीको अनुभूत गर्न सपना देख्दै थिएँ । आफ्नै मन हलुको पार्न श्रीमती र बालबच्चालाई सुनाउनै पर्ने थियो । अलिक बेचैनीसाथ सुनाएँ सायद । कसैले चासो दिए जस्तो गरे कसैले अदृश्य ओठ लेप्र्याए झैँ गरे ।
मैले मनमनै विचार गरेँ, ‘जो जसको गर्भमा पालियो, जसले जसको स्तनपान गर्यो, जसको लाडप्यारमा हुर्कियो, उसैलाई सपनाले तर्साउँदो रहेछ । उसैको मन पोलेर आन्दोलित हुँदो रहेछ । बाँकी त विदेशको रमझम, सुखसयलको भौतिक भावले नातासम्बन्धबाट टाढिँदै जाने रहेछ । सपनाभित्र पनि कस्तो विडम्बना !’
मैले विदेश जाने रहरमै धेरै सपना देखेको हुँ । आज विदेशको चटारोमै कार्यालय जाने समयको सपना देख्दै छु । अत्यन्तै व्यस्त दिनचर्या भोग्नुपर्ने विदेशी भूमिको भागदौड सम्झिँदै छु । सपनाभित्र अनेक तरङ्ग उर्लेर फोनको घण्टी बज्यो । ‘अनिष्ट बज्यो कि ?’ आत्तिदै फोन उठाएँ । भलै स्थानीय नम्बर रहेछ ।
घरमा फोन गरेर आमाको सन्चोबिसन्चो सोध्नु थियो । उद्वेलित मन शान्त पार्नु थियो । अनिष्ट खबर सुन्नु नपरोस् भन्दै भारी मन केही हलुको पारेर सिरानको फोन उठाएँ । नम्बर थिच्दै थिएँ, थर्थराएर हातबाट मोबाइल खत्रक्क भुइँमा खस्यो । म झसङ्ङ झस्केर ब्युुँझिए । पसिनाले सर्वाङ्ग भिजिसकेको रहेछु । उठेर बस्दा पनि सपनाभित्रको सपनाले पछ्याउँदै थियो । फटाफट दुई गिलास पानी पिएँ । थोरै पानी तालुमा ठोकेर सपनाको ह्याङओभर उतारेझैँ टाउको हल्लाएर करबलले आफूलाई विपनाको धरातलमा ओरालेँ र झट्टै सम्झिएँ, ‘आमा ब्रह्मलीन हुनुभएको छ महिना भइसकेको थियो ।’

Facebook Comments Box

Similar Posts