दुर्गा पी. अधिकारी
(सिङ्ताम, पूर्व सिक्किम, भारत)

हाम्रो गाउँमा आयोजन गरिएको भानुजयन्ती समारोहमा धनवीर दाजुलाई रामायण पाठ प्रतियोगितामा भाग लिन निम्त्याइएको थियो । उनी लय हालेर रामायण पाठ गर्नमा खप्पीस मानिन्छन् । शब्द स्पष्ट उच्चारण गर्छन् । गाउँमा कसैको बिहे भए उनलाई श्लोक गाउन निम्त्याइन्छ ।
कार्यक्रम सुरू भयो । मुख्य अतिथिद्वारा भानुभक्तको तस्बिरमा माल्यार्पण गरिसकेपश्चात् धनवीर दाजुलाई रामायण पाठ प्रतियोगिताका निम्ति उद्घोषक महोदयद्वारा मञ्चमा बोलाइयो । चिटिक्क परेर नेपाली पोसाकमा सजिएर हातमा रामायण र खटिया बोकेर मञ्चमा धनवीर दाजुको प्रवेश भयो । खटिया राखेर त्यसमाथि रातो रूमालले बेरिएको रामायण राखे अनि बिस्तारै खोलेर रामायण पाठ गर्न लागे ।
धनवीर दाजुको स्वर, लय र भाका सुन्दा सबैले ताली बजाएर वाह ! वाह ! गरे ।
धनवीर दाजुको रामायण पाठ सकिएपछि एक जना हेर्दा भद्रभलादमी देखिने महानुभावलाई मञ्चमा अर्का प्रतियोगीका रुपमा निम्त्याइयो । उनी पूर्ण रुपमा नेपाली पोसाकमा थिएनन्, खालि शिरमा ढाका टोपी मात्रै लगाएका थिए । रामायण पाठ सुरू गरे । शब्दहरु अक्मकिँदै उच्चारण गर्न थाले । न लय, न भाका !
यस्तै यस्तै गरेर धेरै प्रतियोगी आए । कसैले पनि धनवीर दाजुको जस्तो लय र भाकामा रामायण पाठ गर्न सकेनन् ।
समारोहको अन्तमा रामायण पाठ प्रतियोगिताका निम्ति फलाफल घोषणा गरियो । प्रथम स्थानमा ती भलादमी देखिने महानुभावको नाम आयो । द्वितीय र तृतीय स्थान पनि अन्यले नै ओगटे । धनवीर दाजुको नाम आएन ।
बुझ्दै जाँदा रामायण पाठमा प्रथम हुने भलादमी महानुभावले भानुजयन्ती समारोहमा मोटो रकम चन्दा दिएका रहेछन् । अरु दोस्रो र तेस्रो स्थानमा पुरस्कृत हुनेहरुले पनि निक्कै मोटो रकम चन्दा सङ्कलन गरेर बुझाएका रहेछन् । धनवीर दाजुले चन्दाको नाममा फुटेको कौडी दिएका थिएनन् ।

Facebook Comments Box

Similar Posts