डा. सावित्री श्रेष्ठ
कृष्ण मेरा सखा,
जसलाई मैले सबैभन्दा विश्वास र प्रेमसमेत गरेँ
जो सधैँ मेरो भरोसाको केन्द्रमा रहे
जुनै अप्ठ्यारोमा पनि, कृष्ण छन् जस्तो लाग्ने मलाई
स्वयंवरमा धनुषी चातुर्यले
अर्जुन मेरो पोल्टामा आइपरे
नजाने किन हो कृष्ण
मैले तिमीलाई झलक्क सम्झे
कुन्ती आमाको त के नै दोष र
कुनै वस्तु नै ल्याएछन् छोराले सोचेर
पाँचै भाइलाई बाँडेर लिनू भने
निःशब्द अर्जुन
यति पनि हिम्मत देखाएनन्
यी मेरी पूर्णाङ्गिणी
वस्तु होइन कि किनको पुर्जा छुटाउ
सत्यवादी भनिने युधिष्ठिरले पनि
र्याल चुहाए मेरो सौन्दर्यमा
बेठिकलाई बेठिक भन्न सकेनन्
कृष्ण, त्यो दिन पनि मैले तिम्रो प्रतीक्षा गरेकी थिएँ
तिमीले मिलाउने छौ नमिल्दा सत्यहरु
दोस्रोपटक विश्वास भत्कियो
एउटा भनेको पाँचओटा साँढेहरुको
पाञ्चाली भएँ म
म द्रौपदी, आगोबाट निस्किएकी
तर मेरो रोजाइको र स्वयंवरको मालाको
कुनै अर्थ, कुनै सम्मान राखेनन् है
सूर्यवंशी भनिनेहरुले, सूर्यकै तेजोबध गरे
म द्रौपदी, हरेक दिन बलात्कृत भइरहेँ
वैवाहिक बलात्कार पनि कसरी भनौँ
अर्जुनबाहेक, कसैसँग कहाँ मेरो बिहे भयो र
दुःशासनले दुस्साहस गरिरहे
मेरो चिरहरण गरिरहे
लछारपछार पार्दै रहे
सबै चुपचाप, सबै मौन
महाभारतका हस्तीहरु
के को हस्ती म त थु गर्छु
तमासे र निर्लज्जहरु
मेरो होइन त्यो दिन तिनीहरुको तेजहरण भएको हो
कृष्ण !
तिमीले पनि त्यो दिन गर्नु गर्यौ
सुदर्शन चक्र हातमा लिएर
वस्त्रहरु बर्साउँदै गर्यौ
महाभारतको सुरूआत गर्यौ
हुनुपर्ने त यो थियो कि
दुर्योधन र दुःशासनहरुको टाउकोमा सुदर्शन चक्र चल्नुपर्थ्यो
हुनुपर्ने त यो थियो कि
अन्यायविरूद्ध तिमीले शङ्खनाद गर्नै पर्थ्यो
त्यो अति सङ्कटको बेलामा पनि
मैले भरोसा गरेको थिएँ कृष्ण
तिमीले मेरो विश्वासको मान राख्ने छौ
तर त्यो दिन तिमीले
तिम्रो सुदर्शन चक्र र मेरो आँसु
एकैसाथ बगेको देख्दै देखेनौ
हामी स्तब्ध थियौँ
तिमीले देख्दै देखेनौ
आज पनि हामी स्तब्ध छौँ
स्तब्ध मौन मौन भएरै
सुटुक्क भन्दै छु, आज पनि तिम्रै सुदर्शन चक्र
त्यो दिन मलाई आफ्नो काम गर्न नदिएर
हुनै नपर्ने महाभारत युद्ध सुरू गर्यौ
द्रौपदीको विश्वासको मान राखेनौ
मेरो कृष्ण, म आज पनि लज्जित छु ।