डा. टीकाराम पोखरेल

ऊ आज फेरि मर्यो ।
‘फेरि’को मतलब ऊ यसअघि पनि मरेको थियो ।

उसले केही वर्षअगाडि जनताका सामु विभिन्न अश्वासन बाँडेर चुनाव जितेको थियो । त्यसपश्चात् उसले अश्वासनहरु पूरा गरेन । चुनाव जित्नुअगाडि जनतालाई जनार्दन र आफूलाई जनताको सेवक ठान्ने ऊ चुनाव जितेपछि आफूलाई जनार्दन र जनतालाई सेवक ठान्न थालेको थियो । अनि ऊ मर्यो  । हो, उसले अन्तरआत्मालाई ढाँटेको हुँदा ऊ अन्तरआत्माबाट मर्यो । जनताका अगाडि झुट बोलेको हुँदा जनताको दृष्टिमा मर्यो  । यसरी जीवनमा ऊ पहिलोपटक मर्यो ।

गत वर्ष ठुलो घुसकाण्डमा उसको नाम मुछियो । गाउँमा गरिब जनताका लागि अस्पताल बनाउने ठेक्कामा उसले ठेकेदारबाट ठुलै रकम हात पारेछ । घुसकाण्डमा ठेकदार विवादमा तानिएपछि अस्पतालको निर्माण पूरा भएन । अस्पताल नबनेपछि औषधी नपाएर गाउँका धेरै मान्छे मरे । औषधी खान नपाएर गाउँका मान्छे मर्नुअगाडि नै ऊ घुस खाएर मरिसकेको थियो । यसरी ऊ दोस्रोपटक मर्यो ।

मान्छे जीवनमा एकपटक मात्र मर्छ तर ऊ दुईपटक मरिसकेको थियो । दुई दुईपटक मरिसकेपछि अब त पक्कै नमर्ला, उसले जीवनको अमरत्व प्राप्त गर्यो होला भनेको त आज ऊ फेरि मरेछ । हो, आज ऊ फेरि मरेछ । आर्यघाटको ब्रह्मनालमा उसलाई लम्पसार पारेर तेस्र्याइएको थियो । त्यहाँ धेरै मलामी थिएनन् । यसअघि पटक पटक मर्दा उसले मलामी सिध्याइसकेको थियो ।

Facebook Comments Box

Similar Posts