विनोद नेपाल
(पोखराथोक, पाल्पा)
उसले सधैँझैँ बिहानै राशि˚ल सुन्यो । राम्रो रहेछ । हौसियो । खुसी हुँदै श्रीमतीसँग भन्यो, ‘आजचाहिँ पक्का काम बन्छ बुढी, म एकपटक साहुकहाँ गइहाल्छु ।’ झेँग्रो(थाङग्रो)मा भर्खर फल्न थालेका तरकारी हतारहतार टिपटाप पारेर दिँदै श्रीमतीले भनिन्, ‘ल यो साहुनीलाई दिनू, एक छाक भए पनि टर्छ यो सुक्खाको बेलामा ।’ ऊ सरासर साहुकोमा पुग्यो । हातको ताजा तरकारी साहुनीलाई बुझायो । स्वाभाविक थियो, साहुनी खुसी भइन् । खुसी हुँदै उनले बुढालाई चिच्याइन्, ‘ए छोराका बा, तल झर्नुस् त, को आ’छ ? हेर्नुस् त ।’ साहुजी हतारहतार तल ओर्लिए । ढोकासामु उभिएको उसलाई देख्नासाथ मुख बिगारेर भने, ‘को को न आयो भनेको त त्यही मगन्ते पो रहेछ, फेरि उही बाँकी ज्याला माग्न आएको त होला नि । होइन त ?’
‘होइन मालिक, बुढीले यस्तो बेला साहुकहाँ तरकारीको दुःख होला, यति भए पनि पुर्याएर आऊ भनी । त्यसैले आएको थिएँ । साहुनीलाई बुझाएँ । हजुरको दर्शन पाएँ । मलाई यही नै प्रशस्त भयो हजुर । फर्कें पनि ।’