डा. शेखरकुमार श्रेष्ठ
१. विषयप्रवेश
नेपाली साहित्य पठन र लेखनमा सुन्ने र सुनाउने कार्य परम्परागत रुपमा प्राचीन कालदेखि चलिआएको छ । कथाको जन्म पनि यही सुनाउने र सुन्ने क्रमसँगै विकास भएको कुरा कथाको व्युत्पत्तिगत अर्थ ‘कथ्’ धातुमा ‘आ’ प्रत्यय जोडेर बनेको शब्दबाट बोध हुन्छ । कविता पनि गुनगुनाएर सुनाउने क्रमसँगै विकास भएको कुरा यसको रचनाकारको गुनगुनाहटमार्फत व्यावहारिक रुपमा बोध हुन्छ । साथै कविताको आरम्भ वेदबाट भएको र वेदको विकास श्रुतिपरम्पराबाट भएको मान्यताले यही तथ्य देखाउँछ । यसरी सुन्ने र सुनाउने क्रममा अनेक मान्यता र शैली विकास, परिमार्जन हुँदै जाँदा उपन्यास, कथा र लघुकथाको विकास भएको मान्न सकिन्छ । यसै क्रममा सुन्ने र सुनाउने क्रमको कुनै घडीमा चुट्किला पनि देखा परेको मान्न सकिन्छ ।
आख्यान विकास हुँदै जाने क्रममा उपन्यास र कथा देखिएकोमा लगभग एक शताब्दी अघिबाट लघुकथा लेखिएको छ । दयाराम श्रेष्ठले नेपाली लघुकथा र कथाकारहरु पुस्तकमा भीमनिधि तिवारीको ‘शिलान्यास’बाट नेपाली लघुकथा लेखन सुरू भएको भनेपछि उनकै अध्ययनले सिद्धिचरण श्रेष्ठद्वारा लिखित ‘प्रतिहिंसा’ शीर्षकको लघुकथा १९९२ साल जेठ ३२ गतेको गोरखापत्रमा छापिएको तथ्य दिई उनलाई लघुकथाको पहिलो स्रष्टा भने । श्रेष्ठको यो भनाइ आधुनिक कथा सिर्जना गर्ने गुरूप्रसाद मैनाली (१९५७–२०२८) को तथ्यमा आधारित छ । मैनालीको पहिलो कथा ‘नासो’ शारदा (१९९२) मा छापिएको थियो । यसैबाट माध्यमिक काल अन्त भई आधुनिक काल सुरू भयो । मैनालीको नासो कथासङ्ग्रह ताना शर्माको सम्पादनमा २०२० सालमा निस्कियो । अतः सङ्ग्रहभन्दा पनि लेखनलाई मानेर इतिहास बन्ने भएकाले श्रेष्ठको खोजलाई सबैले स्वीकार गर्नुपर्ने देखिन्छ । यसरी सिद्धिचरणबाट बीजारोपण गरिएको नेपाली लघुकथा लेखनमा पूर्णप्रसाद ब्राह्मणबाट पहिलो सङ्ग्रह झिल्का (२००७) प्रकाशन भयो । यसले नेपाली लघुकथा लेखन र प्रकाशनमा सुन्दर गृह निर्माण भयो । त्यसपछि अगाडि बढ्दै जाने व्रmममा तिसको दशकको लेखनले स्थापनाका लागि धेरै दौडधुप गर्यो । यसैको परिणाम नेपाली आख्यानमा लघुकथा जोडिएर सिद्धान्त निर्माणसाथ स्थापित भयो । सत्तरीको दशकमा इन्टरनेट वा प्रविधिसँग साहित्य जोडिएपछि लघुकथा लेखन र पठनको चुलीले एकातिर अग्लाइ र अर्कातिर व्यापकता पाउँदै गयो । यसै सिलसिलामा असीको दशकको पहिलो वर्षदेखि यसले समृद्धि देखाउन थाल्यो । यसप्रकार नेपाली लघुकथाको विकासव्रmममा यसको अन्तर्यमा विभिन्न समस्या देखा परे । तिनैमध्ये कतिपय स्रष्टाका केही लघुकथा चुट्किलाजस्ता देखिए भने कतिपय चुट्किलामा लघुकथाको प्रभाव देखिन थालेको महसुस पाठकले गरे । यसैलाई सामान्यतः पृथक्बोध गराउने हेतुले प्रस्तुत लेख लेखिएको हो ।
२. लघुकथाको अर्थ
लघुकथा संस्कृत तत्सम शब्द ‘लघु’ र ‘कथा’को योगबाट बनेको हो । यसको शाब्दिक अर्थ छोटो कथा भए पनि कथा लेखनमा भएको विकास र विस्तारअनुसार कथा आख्यानको बृहत् रुप हो भने लघुकथा लघुतम् रुप हो ।
लघुकथा लेखनको स्रोत साहित्यका अन्य विधाको जस्तै प्रकृति, जीवन र जगत्मा जीवनको व्रिmयाकलाप नै हो । जीवनजगत्मा प्रकृति प्रदत्त वा प्रकृतिबाट हेर्न, चलाउन प्राप्त भएका सामग्री प्राकृतिक कला वा सिर्जनाभित्र पर्छ भने प्रकृतिका वस्तु लिएर मानव निर्मित सिर्जना कृत्रिम कला वा सिर्जनाका रुपमा चिनिन्छ । कलालाई ललित र व्यावहारिक दुई भागमा विभाजन गरिएको छ यसमध्ये वास्तु, मूर्ति, चित्र, सङ्गीत, साहित्य आदि ललितकला र कुनै पनि काम राम्रोसित गर्ने सिप, कौशल आदि व्यावहारोपयोगी चौँसट्ठी कला व्यावहारिक कला हो । ललितकलालाई चित्त प्रसन्न पार्ने, मन पर्दो, प्यारो, प्रिय, सुन्दर, रमणीय, कोमल, नरम, मृदु, लावण्य आदिले भरिएको कला भनिन्छ । ललितलाई नेपाली बृहत् शब्दकोशमा अलङ्कारसँग जोडेर ललितालङ्कार पनि भनिएको छ । यसको अर्थ कुनै पनि कार्य वा घटनालाई प्रत्यक्ष रुपमा वर्णन नगरी त्यस्तै अरु कुनै कार्य वा घटनाको उल्लेख गर्दा पर्ने अलङ्कार भनिएको छ । ललित शब्दका यी प्रासङ्गिक अर्थ हेर्दा सम्पूर्ण साहित्यका विधा, उपविधा वा प्रविधाले मनलाई आह्लादित बनाउनुपर्ने हुन्छ । यसमा सौन्दर्य र लावण्यजस्ता गुण हुनुपर्छ । साथै कुनै पनि घटनालाई कुराकानीमा जस्तो प्रस्तुत नगरी भएका घटनालाई वा भन्नुपर्ने कुरालाई घुमाउरो तरिकाले व्यक्त गर्नुपर्छ । सिधा भन्नुलाई उपदेश आदेशका रुपमा बुझिन्छ भने त्यसलाई नै घुमाएर सुन्दरतासाथ अर्थबोध हुने गरी व्यक्त गर्दा साहित्य हुन्छ ।
लघुकथा बुझ्न साहित्य बुझ्नुपर्छ । सहित हुनुको भाव वा गुण साहित्य हो । जीवनजगत्मा विभिन्न विषय छन् । नवीन विषय पनि थपिँदै छन् । यी विविध विषयलाई रुप, गुण, भावना आदिले सुन्दर बनाई सबैको हित अर्थात् प्रकृतिकै लाभका लागि सिर्जित रचना साहित्य हो । साहित्यलाई वाङ्मय पनि भनिएको छ । वाङ्मय भनेको गद्य वा पद्य भाषामा लेखिएको शास्त्र तथा काव्य दुवै प्रकारका समस्त भाषामा बद्ध रचनाको समूह वा ग्रन्थ हो । वाङ्मयभित्र शब्दहरुले युक्त वा वाणी र वचन पनि निबद्ध हुन्छ । त्यसैले लघुकथा के हो भनेर बुझ्न आख्यानका सबै विधा बुझ्न आवश्यक छ ।
सामान्यतः जीवन र जगत्सम्बद्ध घटनामध्ये एक वा बढी मूल (आधिकारिक) कथानकसँग सम्बद्ध भई दुई वा बढी प्रासङ्गिक कथानकको मेलबाट सिर्जित रचना उपन्यास हो । यसमा मूल कथानकसँगै आधिकारिक कथानकले व्यापक परिवेश र असीमित पात्र लिएको हुन्छ । उपन्यासले कथाको तुलनामा धेरै उद्देश्य प्रवाह गरेको हुन्छ । त्यस्तै कथामा जीवनजगत्का घटनामध्ये कुनै एक पक्षसँग सम्बन्धित घटना वा चरित्रलाई गद्यभाषाका माध्यमबाट प्रस्तुत गरिन्छ । यसमा उपन्यासको तुलनामा सीमित परिवेश र थोरै जीवन्त पात्र प्रयोग गरिन्छ । यसमा आधिकारिक कथा एउटा हुन्छ भने आवश्यकतानुसार आधिकारिक कथानकलाई जीवन दिने प्रासङ्गिक कथानक पनि आउँछ । यसै गरी जीवन र जगत्सम्बद्ध घटनामध्ये कुनै खास घटना, अनुभूति र विचारलाई विशेष फैलावट र विस्तारका साथ कुनाकाप्ची छानबिन गरी गद्यभाषामा लेखिएको कथा छोटोकथा हो । यसको आयामगत विस्तार लघुकथाको भन्दा लामो र लामो कथाको भन्दा छोटो हुन्छ । यो मझौला आयाममा लेखिन्छ । यसको स्थापित मान्यता बन्न सकेको छैन । यस विषयमा केही बहस भने भएको छ । यसै परिप्रेक्ष्यमा जीवन र जगत्मा घटेका वा घट्न सक्ने घटना वा व्यक्तिका चरित्रमध्ये कुनै खास घटनाले उब्जाएको द्वन्द्वात्मक परिणामलाई कारण र कार्यको शृङ्खलामा उनेर गद्यभाषामा लेखिएको आख्यान लघुकथा हो । यो तीव्र गतिका साथ परिणाम प्राप्तिका लागि अगाडि बढ्छ । यस आधारमा जीवन र जगत्को एउटा प्रवाहमा जमेको घटनालाई कुतूहल, कलात्मकता वा द्वन्द्व/सङ्घर्ष सिर्जना गरी शृङ्खलाबद्ध प्रस्तुतिका साथ गद्यभाषाका माध्यमबाट चोटिलो समापनसाथ लघु आयाममा लेखिएको कथा लघुकथा हो ।
३. चुट्किलाको अर्थ
लघुकथा र चुट्किलाबिच फरक जान्न यसको शाब्दिक अर्थमा जान आवश्यक छ । चुट्किलालाई नेपाली बृहत् शब्दकोशमा नाम र विशेषण शब्दका रुपमा अथ्र्याइएको छ जसमध्ये नाम पदवर्गअनुसार कुनै मनोरञ्जक वा घतलाग्दो कुरो वा त्यस्तो मनोरञ्जन दिने वा घत लाग्ने बोली वा कुरालाई चुट्किलो भनिएको छ भने विशेषण पदवर्गको अर्थमा छोटो, छरितो र चिटिक्कको भन्ने अर्थ दिइएको छ । यस अर्थलाई हेर्दा चुट्किलो विशेषण शब्दभन्दा पनि नामसँग जोडिएको देखिन्छ । नाम शब्दको अर्थमा हेर्दा मनमा घत/असर वा मन छुने गरी मनोरञ्जनको उद्देश्यले भनिने बोली वा कुरालाई चुट्किला भनिन्छ । यसबाट यो लेख्न नभई सुन्ने र सुनाउने क्रममा मनोरञ्जनलाई केन्द्रमा राखी सुरू भएको देखिन्छ । शाब्दिक अर्थ हेर्दा यसको सुरूआत लेख्नभन्दा रमाइलाका लागि भन्न विकास भएको बुझिन्छ ।
चुट्किलालाई अङ्ग्रेजीमा जोक्स भनिन्छ भने हिन्दीमा चुटकुला, परिहास, लतीफा आदि भनिन्छ । अङ्ग्रेजीमा जोक्सको अर्थ ‘मनोरञ्जनका लागि हाँसो गर्न गरिने कुरा’ तथा ‘रमाइलाका लागि गरिएको चाल’ भनिन्छ । हिन्दीमा चुटकुलाको अर्थ चमत्कारले भरिएको तथा विलक्षण युक्त भनाइ हो । हिन्दीमा यसलाई आनन्द दिने कुरो र लतीफा पनि भनिएको छ । यसरी हिन्दी चुट्किलाप्रेमी र साहित्यकारले अट्टहास उत्पन्न गराउने उद्देश्यले भनिने कुरालाई चुटकुला भनेका छन् ।
चुट्किलाका यी अर्थहरु हेर्दा यसलाई बोली वा कुराको रुपमा लिइएको छ । हाँसो, हँसी, मजाक, दिल्लगी, मनोरञ्जन र अट्टहास उत्पन्न गराउने बोली भनिएको छ । यसरी कथन, बोली वा उक्तिका रुपमा सुरू भई वर्तमान समयमा लेखिने र छापिने भएसँगै यसको विकास र विस्तार हुँदै गएको छ । चुट्किला लेख्यभन्दा कथ्य रुपसँग जोडिएको छ । यसको उद्देश्य ज्ञान, उपदेश वा हित गर्नुभन्दा मानिसलाई तत्काल मनोरञ्जन दिनु हो । चुट्किलाको यही विशेषताका कारण मनोवैज्ञानिक तथा मनोसाहित्यकारले यसलाई मानिसका लागि उपयोगी मानेका छन् । मानिसलाई दिक्क हुनबाट बचाउने, मानिसको स्वभाव परिवर्तन गरिदिने कुराकानीका रुपमा चुट्किलालाई लिएका छन् । यसैकारण यसलाई साहित्यको कुनै विधासँग सम्बन्धित गरेको देखिँदैन ।
यसप्रकार शाब्दिक अर्थमा ध्यान दिने हो भने लघुकथाको सम्बन्ध, आख्यान हुँदै साहित्य, ललितकला, कला र जीवनजगत्सँग छ भने चुट्किलाको सम्बन्ध मनोरञ्जन दिने बोलीसँग छ । तथापि कृतिका रुपमा हेर्दा यसको सम्बन्ध वाङ्मयसँग प्रत्यक्ष रुपमा जोडिन्छ । वाङ्मयसँग जोडिएको नाताले यो कला हो अनि बोली वा कुरासँग जोडिएकाले यो व्यावहारिक कला हो । यसै नाताले चुट्किला पनि कला हो । यसरी हेर्दा साहित्यको कुनै पनि विधा, उपविधा वा प्रविधाका रुपमा चुट्किलो जोडिएको देखिन्न । यति हुँदाहुँदै पनि यसमा घटना, विचार वा बोलीका केही प्रसङ्ग जोडिएको हुन्छ । डा. विदुर चालिसेको लघुकथाकल्प (२०८०) (लघुकथन संसक्तिको आधार, आकाङ्क्षा र शक्ति) मा सरलवाक्य, टुक्का, उखान, गाउँखाने कथा, कैरन, प्रकरी (उपाख्यान), पताका (उपाख्यान), किस्सा (कहानी) उपाख्यान (कथात्मक) कथाकुथुङ्ग्री हुँदै लघुकथालाई चिनाइएको छ । तथापि यसमा पनि चुट्किलाको प्रसङ्ग छैन । यसबाट पनि चुट्किला लेख्यभित्र नरहेर बोली वा कुराभित्र पर्ने अनुमान गर्न सकिन्छ ।
४. लघुकथा र चुट्किलाबिच फरक
प्रस्तुत उपशीर्षकमा एउटा लघुकथा र एउटा चुट्किलाका आधारमा लघुकथा र चुट्किलाबिच फरक जाँच्ने कोसिस गरिएको छ । यस सन्दर्भमा यहाँ किशोर पहाडीको किंवदन्तीमा सङ्गृहीत लघुकथा लिइएको छ भने www.bikramgautan.com.np बाट चुट्किला साभार गरिएको छ:
४.१. घटना
लघुकथा: अर्धसत्य – किशोर पहाडी चुट्किला: तिमी ठुलो भएर के गर्छौ ?
दुधको लाइन थियो ।
एक जना मान्छे असिनपसिन गरी दगुर्दै आएर लाइनभन्दा अगाडि बस्न खोज्यो । लाइनमा एक घण्टादेखि उभिएको गोविन्देले त्यसलाई पाखुरा समातेर तान्यो र भन्यो, ‘लाइनमा बस् ।’
त्यो मान्छेले रूँला झैँँ अभिनय गर्यो – ‘मेरी आमा बिरामी हुनुहुन्छ । उहाँलाई दुध लग्न लागेको ।’
गोविन्देले झन् तान्यो उसलाई र भन्यो– ‘फटाहा कुरा नगर, साले ! हामीलाई थाहा छ– आफ्नी आमाको निम्ति कसैले पनि यति धेरै सेवा गर्दैन । स्वास्नीलाई भन् न बरू, म पत्याउँछु ।’ शिक्षक : तिमी ठुलो भएर के गर्छौ ?
राम: बिहे…
शिक्षक: होइन, मेरो मतलब तिमी ठुलो भएर के बन्छौ ?
राम: दुलाहा …
शिक्षक: हरे ! मेरो मतलब तिमी ठुलो भएर के हासिल गर्न चाहन्छौ ?
राम: दुलही …
शिक्षक: उफ ! मेरो मतलब तिमी ठुलो भएर आफ्ना बाआमाका लागि के दिन चाहन्छौ ?
राम: नाति …
माथि एकातिर लघुकथा छ । अर्कातिर चुट्किला छ । पहिले लघुकथाका घटना हेरौँ ः
– गोविन्दे दुधको लाइनमा एक घण्टा अगाडिदेखि रहनु
– एक जना मानिस दौडिँदै आएर लाइनको अगाडि बस्नु
– गोविन्देले त्यसलाई तान्नु र पछाडि गएर लाइनमा बस्न भन्नु
– त्यसले रूँदै आमा बिरामी परेकोले आमाका लागि दुध लिन आएको भन्नु
– गोविन्दले झनै बल लगाई तानेर आमाको निम्ति होइन स्वास्नीका लागि दुध लैजान लागेको भने मात्र पत्याउने कुरा गर्नु
माथि लघुकथामा आख्यानको जस्तो घटना शृङ्खला छ । चुट्किलाको घटनामा शिक्षकले ठुलो भएर के गर्छस् भनी विद्यार्थीलाई सोधेको मात्र छ । अर्थात् यसमा एउटा मात्र घटना छ ।
४.२. पात्र
पात्रबारे थाहा पाउन फेरि ‘अर्धसत्य’ पढौँ । दुधको लाइन बसेको गोविन्दे, आमाका लागि दुध लिन आएको मानिस, आमा, दुधको लाइनमा रहेका अरु मानिस पात्र छन् । यी प्रमुख/सहायक, सत्/असत्, गतिशील/स्थिर, वर्गीय/व्यक्तिगत, मञ्चीय/नेपथ्य, बद्ध/मुक्तका साथै अन्य चारित्रिक गुणयुक्त छन् । तर चुट्किलामा शिक्षक, विद्यार्थी पात्र प्रत्यक्ष रुपमा तथा बा, आमा, दुलही, नाति कुराकानीमा पात्र छन् । शिक्षक र विद्यार्थी मञ्चीय पात्र भए पनि यिनले चारित्रिक विशेषता बहन गर्न सकेका छैनन् । यसमा चरित्र निर्माण भएको छैन ।
४.३. परिवेश
‘अर्धसत्य’मा दुधको लाइन बसेको स्थानमा प्रत्यक्ष घटना घटेको छ । दुध किन्न लाइन बस्नुपरेको अर्थात् दुध अभाव हुँदा पालो पर्खेर किन्नुपर्ने समय छ । आमा बिरामी परेको घटनालाई दिमागमा राख्ने हो भने लामो समय देखिए पनि घटित घटनाको समय सीमित छ । आमा बिरामी हुनु, आमालाई दुध खान दिन किन्न आउनु, लामो लाइन भए पनि आमालाई लगेर खुवाउन पछाडिका मान्छेको पालो मिचेर अगाडि बस्नु, एक घण्टादेखि लाइन बसेको गोविन्दलाई पालो मिच्नेसँग रिस उठ्नु र पाखुरा समातेर तान्नु, आमालाई दुध लिन आउनेले आमाको समस्या (कारूणिक भाव) देखाई अगाडि बस्ने अनुमति माग्नु, गोविन्देले आमाभन्दा स्वास्नी प्यारो ठान्नुपर्ने जमानामा आमाका लागि दुध माग्दा विश्वास नगर्नुजस्ता परिस्थिति निर्माण भएका छन् ।
चुट्किलामा शिक्षकका कारण कक्षाकोठा हो कि भन्ने देखिए पनि कक्षा वा स्कुलबाहिरको स्थान हुन सक्ने सम्भावना छ । यसमा स्थानगत र कालगत परिवेश छैन । त्यस्तै, यसमा पात्र छन् तर घटना घट्नुको परिस्थिति निर्माण छैन ।
४.४. भाषाशैली
लघुकथा र चुट्किला दुवैमा गद्य भाषाको प्रयोग हुन्छ । संवादका आधारमा हेर्ने हो भने लघुकथामा घटना वर्णन गरी कुराकानीका व्रmममा संवाद हुन्छ तर चुट्किलामा सुरूबाट नै संवाद छ र संवादकै सिलसिलामा अन्त्य भएको छ । यसमा एक पात्रले सोध्ने र अर्कोले जबाफ दिने काम भएको छ । जबाफ दिनेबाट उपयुक्त जबाफ नआई ठट्टा र मजाकका रुपमा आउँदा फेरि नबुझेको हो कि भनी सटीक उत्तर पाउन शिक्षकले प्रश्न सोधेको छ तर जबाफ दिनेले पटक पटक हाँसो उत्पन्न हुने मजाकका रुपमा जबाफ दिइरहेको छ । यसमा अनि, अनि वा त्यसपछि, त्यसपछि जस्तो क्रममा कुराकानी अगाडि बढेको छ । यसमा रस परिपाक हुने रसका तङ्खवमध्ये आलम्बन विभाव (पात्र) प्रयोग भए पनि उद्दीपन विभाव, विभाव, व्यभिचारी भावको प्रयोग छैन । तथापि लघुकथामा विषयालम्बन र आश्रयालम्बनजस्ता विभाव, उद्दीपन विभाव, अनुभाव, व्यभिचारी भाव हुँदै स्थायीभाव उत्पन्न भएको छ । लघुकथामा बिम्ब, प्रतीक, अलङ्कार, रीति, गुण, वक्रोक्ति, ध्वनिजस्ता पूर्वीय शास्त्रले प्रतिपादन गरेका साहित्यिक चिन्तन वा मान्यता प्रयुक्त छ । यसमा ललितकला, साहित्यिक गुण, आख्यानको गुण र स्वयम् लघुकथाका गुण छन् । यसको विपरीत चुट्किलामा छैन । चुट्किला प्रश्न, जबाफ, अर्को प्रश्न अर्को जबाफ हुँदै ठट्टा, परिहास वा मजाकमा सकिन्छ । यसैले शैलीका कोणबाट पनि लघुकथा र चुट्किलाबिच फरक छ ।
४.५. उद्देश्य
उद्देश्यका कोणबाट लघुकथालाई हेर्दा यसले आमाभन्दा श्रीमतीले भनेको मान्ने वा श्रीमतीको इच्छा पूरा गर्न बाध्य भएका कारण आमालाई दुध लगिदिन लागेको कुरा सामाजिक विकासमा असुहाउँदो भएको देखाउन खोजिएको छ । यसका विपरीत चुट्किलामा शिक्षकले विद्यार्थीको भविष्यबारे जिज्ञासा राखी प्रश्न सोधेको छ तर विद्यार्थीले ख्यालठट्टा र मजाकमा उत्तर दिएको छ । यसबाट चुट्किलामा हासपरिहास हुने, सुरूदेखि अन्तसम्म मजाकका कुरा भई मानिसलाई जिल्याउने, छक्क बनाउने, उट्पट्याङ बनाउने काम हुन्छ । यसको उद्देश्य व्यक्ति, समाजको हित, विचार वा मान्यताको पुष्टि वा स्थापनामा नलागी रमाइलो हुन्छ । यो छेउ न टुप्पाको कुराकानीको सन्दर्भबाट मानिस, समय, घटना वा परिवेशको खिल्ली उडाएर मनोरञ्जन दिनमा केन्द्रित रहन्छ ।
४.६. दृष्टिविन्दु
लघुकथामा स्रष्टाले विषयवस्तुलाई प्रथम (आन्तरिक) वा तृतीय (बाह्य) पुरूष दृष्टिविन्दुका माध्यमबाट प्रस्तुत गर्छ । माथिको लघुकथामा तृतीय वा बाह्य दृष्टिविन्दु छ । यसका विपरीतमा चुट्किलामा नाटकमा जस्तो संवाद छ तर घटनाको उठान नभई संवादको उठान छ । पात्रको चारित्रिक विकास र चित्रणका आधार नभई पात्र खडा भई बोलेका मात्र छन् । यसमा दृष्टिविन्दुले कुनै महङ्खव बोकेको देखिँदैन । संवादले चुट्किलामा नाटकीय गुण देखाए पनि साहित्यिक गुण वा विधागत मान्यता वा स्वरुपमा आएको देखिँदैन ।
४.७. द्वन्द्व
माथिको लघुकथामा गोविन्दे र दुध लिन आउनेबिच बाह्य द्वन्द्व छ । दुध लिन आउने र उसको परिस्थितिबिच पनि द्वन्द्व छ । नैतिक नियम अर्थात् मान्छेहरु लाइनमा बसेको देख्दादेख्दै लाइन मिचेको देखाई नियम मान्ने वा नमान्नेबिचको द्वन्द्व पनि छ तर चुट्किलामा द्वन्द्व नभई मात्र सवालजबाफ छ । यसैबाट समापन भएको छ ।
४.८. कुतूहल
माथिको लघुकथामा दुध लिन लाइन बसिरहेको ठाउँमा असिनपसिन भई दौडँदै आएको मानिस लाइन बस्ला वा नबस्ला, ऊ लाइनको बिचमा छिरेपछि उसलाई पछाडि बस्नेले बिचमा छिरी दुध लिन देला वा नदेला, गोविन्देले लाइनबाट थुतेपछि त्यो मानिस लाइनको पछाडि जाला वा नजाला, मानिसले आफ्नो परिस्थिति बताएपछि झगडा गरेर भए पनि नियम मान्न लगाउने गोविन्दले परिस्थितिलाई सामान्य बनाउला वा नबनाउला, गोविन्देले श्रीमती बिरामी भएको भए पत्याउँथेँ भन्दा अब घटनाले के मोड लिन्छ होला भन्ने जिज्ञासा वा कुतूहल छ । चुट्किलामा पनि तिमी भविष्यमा के बन्ने भन्ने प्रश्नको उत्तर के आउला, मजाकको उत्तर आएपछि अर्को उत्तर के आउला भन्ने जिज्ञासा हुन्छ र अन्तमा विचारहीन, सन्देशहीन, विवेकहीन, उटपट्याङ उत्तरले प्रश्न सोध्ने र सुन्ने सबैलाई हिस्स बनाउँछ । यसबाट चुट्किलामा कुतूहल भए पनि कुरा वा जबाफ एकपछि अर्को उटपट्याङ, हस्याइलो र ठट्यौलो बन्दै जान्छ ।
४.९. शीर्षक
लघुकथामा विषयवस्तु वा पात्रका आधारमा शीर्षक राखिन्छ । यसैअनुसार ‘अर्धसत्य’ राखिएको छ । चुट्किलामा विषयको खास तुक र प्रसङ्ग नहुने हुँदा शीर्षक राखिन्न । तथापि चुट्किला सङ्ग्रहमा कुराकानीको सन्दर्भ वा कुनै कथनलाई नै शीर्षक बनाएर राखिएको पाइन्छ । जस्तो कि माथिको चुट्किलालाई ‘तिमी ठुलो भएर के गर्छौ ?’ भनी शीर्षक राखिएको छ ।
५. लघुकथा चुट्किला बन्न सक्ने स्थिति
लघुकथा चुट्किला बन्न सक्ने स्थिति पनि रहन सक्छ । यसका लागि माथिको ‘अर्धसत्य’लाई यसरी परिवर्तन गरी हेरौँ:
गोविन्देले भन्यो– “लाइनमा बस् । ’
केटाले भन्यो– ‘मेरी आमा बिरामी हुनुहुन्छ । उहाँलाई दुध लग्न लागेको ।’
गोविन्देले भन्यो– ‘फटाहा कुरा नगर, साले ! हामीलाई थाहा छ, आफ्नी आमाको निम्ति कसैले पनि यति धेरै सेवा गर्दैन । स्वास्नीलाई भन् न बरू म पत्याउँछु ।’
यसमा लघुकथाका तङ्खव पाइँदैन । साहित्यिक र कलाका गुण पनि देखिन्न । यस अर्थमा यो चुट्किला बन्छ । यसैले लघुकथाका स्रष्टाले लघुकथा लेखनलाई सामान्य मान्नु हुँदैन ।
६. निष्कर्ष
लघुकथा आख्यानअन्तर्गत पर्छ भने चुट्किला आख्यानेतर विधा हो । लघुकथामा द्वन्द्वात्मक र न्यूनतम आदि, मध्य र अन्तको शृङ्खला देखिने घटना वा घटनावली हुन्छ भने चुट्किलामा एउटा घटना, परिस्थिति, वाक्य, कथन वा बोली लिएर हँसाउने कुराकानी हुन्छ । चुट्किला बोली वा कुरामा सीमित हुन्छ भने लघुकथामा आख्यानका तङ्खवहरु हुन्छन् । चुट्किला बोलाइबाट गरिने मजाकपूर्ण मनोरञ्जन हो भने लघुकथा सिर्जना, कला, भाव, व्यञ्जनाजस्ता साहित्यका गुण बोकेको रचना हो । चुट्किलाको उद्देश्य मनोरञ्जन दिने, अरुलाई उडाउने, मजाक गर्नेमा केन्द्रित रहन्छ भने लघुकथाले पाठकलाई भावमा डुबाएर आनन्द प्रदान गर्ने उद्देश्य राख्छ । रसका तङ्खवहरु लघुकथाको प्राण हो भने हँसाउनु, जिल्याउनु, ट्वाल्ल पारिदिनु चुट्किलाको प्राण वा उद्देश्य हो । अतः लघुकथा लेखकले कला, साहित्य, आख्यान र यसका तङ्खवलाई ध्यान नदिँदा वा एउटा प्रसङ्गमा रेला गरी घुमिरहँदा लघुकथा नभई चुट्किला बन्छ । चुट्किलामा आख्यान, साहित्य, कलाका गुण भर्दै जाँदा हाँसोमा टुङ्गिए पनि लघुकथाको स्वरुपमा आउन सक्छ । अतः एउटा घटना, एउटा विचार लिएर वा द्वन्द्व सिर्जना नगरी आख्यान तयार पार्नु राम्रो होइन । घटनाको शृङ्खला छैन भने आख्यान बन्दैन । साहित्यका गुण छैन भने लघुकथा हुँदैन । कलामा रहने कलात्मकता तथा ललितकलामा हुने रसिलोपन, सौन्दर्य र लावण्य छैन भने बातचित हुन्छ । तुक नभएको घटना, परिवेश, पात्र र उद्देश्य भए लघुकथा नभई ठट्टा बन्छ । त्यही ठट्टाका कुराले चुट्किला बन्छ । मूलतः चुट्किला रमाइलो कुराकानी भएकोले यसमा घटनाको शृङ्खला, पात्रको चारित्रिक गुणअवगुण तथा परिवेश नभई संवादको शृङ्खला मात्र हुन्छ । यसप्रकार एउटा कथन वा भनाइलाई लिएर त्यसपछि वा अनि भन्दै सवालजबाफमा समापन भए चुट्किला बन्छ ।