• सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’

म मरेपछि यो शरीरलाई
आगोमा नजलाइदिनू
छातीमाथि ढुङ्गा बाँधी
नदीमा नबगाई दिनू ।

खाल्डो खनी जमिनमा
माटोसँगै नसेलाईदिनू
अस्पतालमा फोन गरी
शव जिम्मा लगाइदिनू ।

काम लागुन् मेरा आँखा
काम लागुन् मेरा किड्नी
काम लागुन् मुटु, फोक्सो
काम लागोस् छाला पनि ।

जे जति जस्ता छन् मसँग
काम लागुन् ती सकल अङ्ग
पाउन् पुनर्जीवन जो कसैले
फेरियोस् जीवनको रुपरङ ।

बाँचुन्जेल धर्मकर्म नगरे ‘नि
मरेपछि दान बन्न सकोस्
खरानी र माटो हुनुभन्दा
अरुलाई काम लाग्न सकोस् ।

Facebook Comments Box

Similar Posts