नेत्रबहादुर श्रेष्ठ
(ठुलो सिरूवारी १३, सिन्धुपाल्चोक, हाल:  काठमाडौँ)

‘हजुरको घर कहाँ ?’ एक जना वृद्ध मानिसले एउटी महिलालाई सोधे ।
महिलाले जवाफ दिइन्, ‘प्युठानतिर हो बा ।’
वृद्ध मानिसले सोधे, ‘काठमाडौँतिर झरेको कति वर्ष भो नि ?’
महिलाले भनिन्, ‘धेरै भा’छैन, एकदुई वर्ष जति हुन लाग्यो ।’
वृद्ध मानिसले फेरि सोधे, ‘घरमा को को छन् त ?’
महिलाले भनिन्, ‘घरमा दुइटा केटाकेटी र म मात्रै छु ।’
‘अनि नानीको श्रीमान्चाहिँ कहाँ हुनुहुन्छ नि ?’ वृद्धले सोधे ।
महिलाले पुनः जवाफ दिँदै भनिन्, ‘उहाँ त विदेशमा हुनुहुन्छ ।’
‘यो घर आफ्नो हो कि भाडामा बसेको हो नानी ?’ वृद्धले प्रश्न गरे ।
महिलाले भनिन्, ‘आफैले बनाएको आफ्नै घर हो नि ।’
उक्त महिला आफ्नो पुख्र्यौली घर र सासूससुरा एवम् आफन्तलाई छाडेर काठमाडौँमा एक्लै बस्दै आएकी थिइन् । उनले गाउँघरको दुःखलाई बिर्सन श्रीमान्लाई विदेश पठाई सहरिया जीवनको सुख भोग्ने सपना साँचेकी थिइन् ।
त्यस वृद्ध मानिसले कुराकानीकै सिलसिलामा पुनः सोध्ने काम गरे, ‘नानीलाई काठमाडौँमा एक्लै बस्नुभन्दा आफ्नै गाउँघरतिर आफन्तसँग बस्न मन लागेन ?’
वृद्ध मानिसको उक्त कुरा सुनेपछि महिलाले जवाफ दिइन्, ‘ए बा ! गाउँघरमा भन्दा यहाँ सुविधा र सजिलो हुन्छ अनि यहाँ बस्दा इज्जत र मान पनि पाइन्छ नि त !’

Facebook Comments Box

Similar Posts