• श्रवणकुमार ढङ्गाना

मसँग भेट्दा ऊ मलामीबाट फर्किंदै थियो । उसले सुनाएअनुसार धेरै नै मलामी जुटेका थिए । खासमा धेरै मानिस देखेकैले ऊ पनि सरिक भएको थियो । त्यहाँ उसले काम गर्ने संस्थाका पूर्वदेखि वर्तमान सिइओसम्म आएका थिए । पूर्व सिइओलाई जाँदै गर्दा बाटैमा सहजै भेट गर्न पायो उसले । दुईचार जनाको समूहसँग गफ गर्दै उनी हिँडिरहेका थिए । सामान्यतः पदमुक्त भएपछि हराउने व्यक्तित्वको चमक अवकाशपछि पाएको एउटा कम महङ्खवको नियुक्तिले भए पनि धेरै हदसम्म थामिरहेको प्रस्टै देखिन्थ्यो । उनको समूहगत गफले उसलाई पनि प्रभावित पा¥यो । कुनै दिव्य वचन पहिलोपटक सुनेजस्तो । यो कुरा मलाई सुनाउँदासम्म पनि ऊ त्यस कुराबाट सम्मोहित देखिन्थ्यो । पूर्व सिइओ सा’पबाट बुझिने गरी उसले सुन्न पाएकोचाहिँ यति मात्र थियो, ‘मान्छेको जिन्दगी के छ र ? आज अहङ्कार भोलि खरानी ।’

पूर्व सिइओलाई उसले साष्टाङ्ग प्रणाम गर्यो । सिइओ मुस्कुराए । के छ ? भनी सोधे । उसले टाउको झुकाएरै इसाराले ‘ठिक छ’ भन्यो, बोलीचाहिँ फुटेन । उनी यति आत्मीय छन् भन्ने कुरा बहालवाला सिइओ हुँदासम्म कहिल्यै अनुभव गरेको थिएन । ऊ आनन्दानुभूतिले ओतप्रोत भयो ।

बहालवाला सिइओ एक हुल मानिसले घेरिएर हतारका साथ घाटतिर ओर्लिंदै थिए । उसले भेट गर्नु त परै जाओस् टाढैबाट नमस्कार गर्न पनि पाएन । ऊ केही खिन्न भयो । लाग्यो, उनी तल श्रद्धाञ्जली अर्पण गरेर तुरून्तै फर्किन्छन् । त्यसैले पूर्व सिइओको समूहलाई छाडेर ऊ त्यहीँ रोकियो र माथिबाटै तल नदी छेउमा लासलाई श्रद्धाञ्जली दिँदै गरेको कार्यमा मौन धारण गरेर सरिक भयो । एकैछिनपछि बहालवाला सिइओ उस्तै ऊर्जा र हल्का उकालोमा घटेको गतिका साथ भिडले घेरिएर फर्किए । ऊ परैदेखि साष्टाङ्ग नमस्कार गर्दै नजिकै पुग्यो र बाटो छाडेर छेउ लाग्यो । सिइओ मुस्कुराए । उसले आफैलाई देखेर मुस्कुराएको ठान्यो । नमस्कार फर्काएको थाहा पाएन तर ऊतिर फर्केर हेरेको भने भेउ पायो । उसलाई देखेर मुस्कुराएका थिए वा अरु नै कुराले ? अनि उसलाई नै हेरेका थिए वा अन्तै कतै ? यो उसले मलाई भेट्दासम्म पनि निक्र्योल गर्न सकेको थिएन तर आफैलाई विश्वस्त तुल्याउन खोजिरहेको थियो । ऊ सिइओकै पछि पछि लागेर घाटको कार्य नसकिँदै फर्कियो ।

हामी एकै क्षेत्रका हुनाले को बितेका थिए, मलामी जान ढिलो भए पनि घरमा पुगेर श्रद्धाञ्जली दिनुपर्ने व्यक्ति थिए कि भन्ने सोचेर उसलाई सोधेँ । मेरो प्रश्नपछि ऊ बिर्सेको कुनै काम सम्झिन खोजे जस्तो पर पर हेर्दै टोलायो । सायद कामको सम्झना भयो कि ? टाउकोको इसाराले ‘म जान्छु है’ भन्दै गयो । मैले पनि अलमल पर्दै इसारामै हुन्छ भनेँ । जाँदै गर्दा ऊ कसैलाई फोन गर्दै थियो, ‘हेलो दाजु ! अघि हामी मलामी गएका थियौँ नि ? …. ए तपाईं अझै त्यहीँ हुनुहुन्छ ? … बितेको चाहिँ खासमा को रे !’

Facebook Comments Box

Similar Posts