सिर्जना न्यौपाने
कस्तो चिज रहेछ यो डर
हरेक मानिसको कण कणमा लुकेको छ
कसैलाई आजको
कसैलाई भोलिको डर
खान नपाइएला भन्ने डर
ओहो ! डरैडर ।
देश होइन यहाँ विश्व नै डरमा छ
के जाति रोग कोरोनाले अझै
कति थर्कमान बनाउने हो
म अनि मजस्ता कतिलाई !
यहाँ सेतो प्लास्टिकमा बेरेर
हरिया लुगा लगाएका एक हुल मानिसले
पल्ला गरे काकालाई खै कता लगे रे ।
काकीले रूँदै भनिन् ।
दोष कसलाई दिनु !
मदेखि ऊ डराउँछ ऊदेखि म
कहाँ भागौँ ?
कति भागौँ आफ्नासँग ?
मेरो सरकार
अब रोगको उपचार गराउन सक्दैन रे ।
अस्पतालहरु खाली छैनन् रे ।
डरमाथिको यो डरले के हुने हो भोलि ?
अब छिट्टै
कलेजका ड्रेस खोज्ने दिन आओस् ।
अनि यो मुख छोप्ने मुखौटोलाई
पर पुग्ने गरी फ्याँकेर
आनन्दको श्वास फेर्न सकूँ ।