• अमृत

म बाटो हुँ जसको अन्त्य कतै छैन
म ‘म’ हुँ जसको कुनै आकार छैन

नपुगेर पुग्न बाँकी म हुँ
पुगेर पुग्न बाँकी म हुँ

उत्तरको खोजमा निस्केको प्रश्न हुँ
प्रश्नको मौन उत्तर म आफै हुँ

सकिएर नसकिने म हुँ
देखिएर नदेखिने म हुँ
म व्यापक हुँ
म सूक्ष्म हुँ
कारणविहीन अकारण हुँ
अन्त्य नहुने सुरू हुँ

यात्रामा निस्केको पथिक हुँ
सागरको अस्तित्व जोगाउने बुँद हुँ
सगरको अदृश्य म हुँ
देवगणको दृश्य म नै हुँ
जितजस्तो लाग्ने हार हुँ
स्वादजस्तो बेस्वाद हुँ
सुखजस्तो देखिने दुःखको पहाड हुँ
अर्थ देखिने अनर्थ हुँ

चितामा निदाएको सुन्दर निद हुँ
आगमन कुरिबसेको प्रतीक्षा हुँ
सत्य भनिबसेको असत्य हुँ
म कोही केही होइन मात्रै अभिनय हुँ ।

Facebook Comments Box

Similar Posts