- रूमानी कुलुङ
हृदयमा गुलाब
र, आँखामा हृदय बोकेर
भर्खरै,
आइपुगेको छु म
तिम्रो सहर…
बोक्न त–
आफैलाई पनि बोकेको छु
आफ्नै पिठ्युँमाथि
जिन्दगीलाई भारी कसेर
भारीभित्र छन्
भोगाइका अनगिन्ती पोकापन्तराहरु
प्रत्येक पोकापन्तराहरु
आ–आफ्नै अस्तित्वमा समाहित छन्
पोकापन्तरा–१ प्रेम
जसलाई,
हृदयको आँखाले मात्र
चिन्न सक्छौ तिमी
पोकापन्तरा–२ विश्वास
जसलाई,
पवित्र प्रेमले मात्र
जित्न सक्छौ तिमी
पोकापन्तरा–३ सपना
जसलाई,
आफू टुक्रिएर मात्र
अँगाल्न सक्छौ तिमी
छन त आँखाभरि छन्
विशद विपनाहरु
जो आँसुको झ्याल खोलेर
सधैँ घामको प्रतीक्षामा छन्
छन त छातीभित्र पनि छन्
टुक्रिएको मुटु
चोइटिएको मन
समयले मेट्दै मेट्दै गइरहेको घुर्मैलो तस्बिरहरु
जो म हाँस्नुको इन्द्रेणी पनि हो
र, हो म बाँच्नुको भरोसा पनि
हृदयमा गुलाब
र, आँखामा हृदय बोकेर
भर्खरै,
आइपुगेको छु म
तिम्रो सहर ।


