ज्ञानेन्द्र खतिवडा
(सालबारी, दार्जिलिङ)
आकाश आँगन हो चराको
मन लागे
ऊ उसैको आँगनमा
खेलिबस्छ/नाचिरहन्छ/रमाइरहन्छ
मन नलागे आकाशले
हात थामेर उठ्न सिकाएको
रूखको हाँगा हाँगामा उफ्रिबस्छ ।
उज्यालोको सुइँको पायो कि–
रूखको हाँगे–झ्याल ढोका खोल्छ
पातहरुको पर्दा पन्साउँदै
पुलुक्क चिहाउँछ बाहिर र
घरबाट फुत्त निस्कन्छ
अनि आँगनमा पुग्छ
रमाएर खेल्छ ।
मिठा मिठा गीत गाउँछ
आकाश हो चराको आँगन
त्यही चरा जब भुइँमा
सुद्धी हराएर खेल्न पुग्छ
शक्तिले मैमत्त बन्दै जान्छ
त्यसले सबभन्दा पहिले उड्न बिर्सन्छ
र अस्ट्रिच बन्छ
लामो घाँटीमाथिको टाउकोले
आकाशसित सिङ जुझाउँछ
चुच्चोले आकाशलाई ठुङ्न पुग्छ
खुट्टाले भुइँलाई कोतरिबस्छ
र,
बिस्तारै बिस्तारै उड्न बिर्सन्छ
अनि त
हिंस्रक पशुको दाँतमा पिसिँदै पिसिँदै
हराउँछ
मृत्युले निलिसक्छ
म पनि
भिक्ट्री–स्ट्यान्ड उक्लँदा नै
सर्वोच्च उक्लिएको ठानी
आकाशतिर उक्लिएर
धर्ती टेक्न भुलेको भए
अस्ट्रिच बनेर
भुइँ न आकाश भएर
धेरै पहिले नै
हराइसक्थेँ ।
मलाई भुइँभरि भएर
बाँच्नु छ
आकाश उक्लने बुद्धिले/
भुइँ टेकिरहने
मनमष्तिष्कले
मलाई मेरो आँगनबाट
पर नलगोस्
म यहीँ भुइँको मानिस
मलाई यही भुइँ
टेकेर उमेर बिताउनुछ ।


