निलीमा आचार्य
(असम, भारत)

नबाँध मलाई फलामे जन्जिरले
नलगाऊ मेरो स्वतन्त्रतामाथि अङ्कुश
म त सर्वत्र छु

यायावर हुँ
छैन घर–बार
तापनि खुसी नै छु

तिमीजस्तो होइन म
कुवाभित्रै समुद्र खोज्ने
निस्सासिएर बस्ने

जहाँ मन लाग्छ वहाँ जान्छु
सारा विश्व नै मेरो घर हो
त्यसैले थुन्ने प्रयास नगर मलाई
वर्ग आकृतिको सन्दुकमा

साङ्लो नलगाऊ
मेरो चालमा

मेरो केही आकृति छैन
पानीजस्तै स्वच्छ छु
हावाजस्तै स्वतन्त्र छु
न छन् भुजा न पाखुरा
त्यसैले मलाई चतुर्भुज/त्रिभुजको
आख्या नदेऊ
मलाई विष्णु बन्ने रहर छैन
वामन भएर बलीको घमन्ड
तोड्ने इच्छा पनि छैन
म त बस् बाँच्न चाहन्छु
म जान्दिनँ
आदिकाल
मध्यकाल
आधुनिककालको व्याख्या

अथवा
भक्ति
रीति
छायावादको परिभाषा

न मलाई थाहा छ
प्रयोगवाद
प्रगतिवाद
अथवा
स्वच्छन्दतावादको धारा

मलाई लिएर
नलगाऊ कुनै नारा

मुस्किलले म मुस्काउँदै छु
तिम्रो ‘टाग अफ वार’मा

धस्किँदै छु
भाँचिँदै छु
चुँडिँदै छु
खिइँदै छु

मलाई भेट्न चाहन्छौ भने
ढुङ्गाको थाप्लोमा बसी हावालाई सुन
नदी–खोलालाई हेर
शिशुको अबोध मुस्कानलाई पढ
म त चारैतिर छु
प्रकृतिमा छु
दयामा छु, करूणामा छु
खेतमा छु, मरूभूमिमा छु

तिम्रो हत्केलामा होइन
तिम्रो मनभित्र छु
मन्दिरमा होइन
मस्जिदमा होइन
मानवतामा छु
ममाथि नाना थरीका ज्यामितिक प्रयोग नगर साथी
यतिबेला तिम्रो प्रयोगशालामा म छट्पटाइरहेकी छु
प्राण निस्किन आँटेको जस्तो अनुभव भइरहेको छ

त्यसैले म बिन्ती गर्दै छु
मलाई हावा भई उड्न देऊ
पानी भई झर्न देऊ
सन्दुकमा थुनेर
कुनै अधिकार नलगाऊ ममाथि

मलाई स्वतन्त्र बाँच्न देऊ
म कविता हुँ
कविता भएरै बाँच्न चाहन्छु
कुनै अवतारी आत्मा भएर
बाँच्ने इच्छा छैन मेरो

Facebook Comments Box

Similar Posts