कृष्ण प्रधान
(मञ्जरी भिलेज, ईमाडोल, ललितपुर)

सत्ताको भूत सवार भएझैँ
ममाथि एसबेला
कविताको भूत सवार भएको छ ।
एस्तो बेला,
मेरो कवि पनि राँकेभूतजस्तै
जागित्रा जागेको छ ।
जताततै दुम्सीका काँडाहरु भेदेर
ढ्याङ्ग्रो ठटाएर
भुइँ नै फाट्ने गरी
बुरूक्बुरूक् उफ्रिँदै
बोक्सी डायनीहरु खोज्दै
तातो पुनिउको डाम डस्न भनेर
मधौरोको खोजी गर्दै छ,
सांसदहरुको सिङपुच्छर काट्दै
मत्ता हात्तीजस्तो
एसबेला
नकामैनकाम गर्ने
मुन्धुम पो फलाक्दै छ ।
कठै ! यो कविलाई कहाँबाट चढ्यो
एस्तो जागित्रा र
बक्न थाल्यो जथाभावी ?
सत्ता पाएर मात्तिएको साँढेजस्तै
अहिले जथाभावी डुक्रदै हिँड्दै छ,
बेला कुबेला
सत्ताको साँचो भाँच्ने कुरा गर्दै छ
कविता लेख्ने कलमकै टुँड भाँच्न खोज्दै छ
र,
कलममा हतियारको साँध लाउँदै
कविता छिमोल्ने कुरा गर्दै छ ।
यो कविताको राँकेभूत
खोइ कताबाट आयो ?
पूर्व पश्चिम उत्तर दक्षिण
चौघेरा चौकुना छेक्दै
कविताको रातो भाले मन्छाउँदै
मधौरोलाई भोग चढाउँदै छ ।
मधौरोको नाममा
स्वयम् भाले भोग चढ्दै छ
कवितालाई निमोठेर
शब्दभरि शिरच्छेदनका भोग छर्कंदै छ ।

मधौरोजस्तै कविता
मूर्च्छाबाट बिउँझने हो होइन
यो राँकेभूत मन्छाउने
मुन्धुम हेरेर बसेको बिचरो कवि,
भोग चढेको भालेजस्तै
थानकै छेउछाउ
छट्पटाइरहेछ ।

Facebook Comments Box

Similar Posts