डा. श्यामप्रसाद न्यौपाने
साहसी भए काटिन्छन् नि अप्ठ्याराहरु पनि
कर्मठले त पूरा गर्छन् नि अभिभाराहरु पनि
विचलित हुनु हुँदैन, बाटोमा तगारा आए भनेर
अँध्यारोमै त टिम्टिमाउँछन् नि ताराहरु पनि ।।१।।
विश्वलाई नै बन्धुत्वसँग जोडे कस्तो हुन्थ्यो होला
सदाचारतिर आफूलाई मोडे कस्तो हुन्थ्यो होला
अनुकूल भए मात्र मखलेल हुने ए ! बन्धुहरु हो
अर्कालाई गोयबल्स देख्न छोडे कस्तो हुन्थ्यो होला ।।२।।
भत्काउनु भत्काइयो, कतिपय थिति पनि
झेल्दै आउनुपरेको छ अनेक फजिती पनि
लिप्त भइदिनाले भ्रष्टाचारमा अगुवाहरु
समाजसेवा हुन सकेन अब ‘राजनीति’ पनि ।।३।।
छरपस्ट त छ नि हरेकको हविगत पनि
सम्हालेनन् कसैले पुख्र्यौली सत् पनि
आफै सगरमाथा बनेर कहाँ हुन्छ र
इज्जत दिए पो पाइने हो इज्जत पनि ।।४।।
सबैलाई सद्भाव र प्रेम दिन जान्नुपर्छ
दुष्कर्मबाट सधैँ अलग्गिन जान्नुपर्छ
ए ! आनन्दको खोजीमा भौँतारिनेहरु हो
आनन्द मनभित्रै हुन्छ, लिन जान्नुपर्छ ।।५।।


