गोविन्दबहादुर खड्का
(लामाटार, ललितपुर)
हराभरा सुन्दर शान्त स्वर्गजस्तो ठाउँ
विश्वभरि प्रख्यात छ नेपालको नाउँ
विश्वको सर्वोच्च शिखर हाम्रै देशमा पर्छ
त्यसैले त नेपालको इज्जत सबले गर्छ
चाँदीजस्ता टल्किएका अनगिन्ती हिमाल
मठमन्दिरले भरिएको धार्मिक स्थल नेपाल
कलात्मक चैत्य, देवल, धारा, पौवापाटी
पर्यटक भित्र्याउन सके देश पुग्छ माथि ।
चर्चित चर्चित नदी ताल अनगिन्ती झरना
मृग, मयूर वनमा नाच्छन् चर्छन् अनि अरना
हिमालमा डाँफे नाच्छन् राष्ट्रिय पक्षी हाम्रै
वनपाखामा लालीगुराँसले देश सधैँ राम्रै ।
केही कुरामा कमी छैन नेपालभरि पूर्ण
उचाइको हिमाल छ हाम्रै अन्नपूर्ण
विश्व प्रख्यात हुँदा पनि पर्यटकमा कमी
के कुरामा कमी भयो पत्ता लगाऔँ हामी ।
दुबिधा बढी सुविधा कम जहाज भाडा चर्को
ठाउँ ठाउँमा पर्यटकलाई गर्छन् झर्कोफर्को
पछि लागि दुःख दिन्छन् कतिपय ठाउँमा
नचाहिँदा झन्झट दिन्छन् घुमाउने नाउँमा ।
पथप्रदर्शक, सडक, होटल सुविधाको कमी
केही दिन बस्दा पनि बस्छन् गमी गमी
ठाउँ ठाउँमा होटल लज होमस्टे खोलुन्
जहाँ गए ‘नि सुविधाले पर्यटक भुलुन्
व्यवहारमा सुधार ल्याउन नकारात्मक छोडौँ
पर्यटकलाई स्वागत गर्दै हात हामीले जोडौँ
फाइदा पनि लिन सकौँ विकृति नि रोकौँ
उत्कृष्ट ठाउँ ठाउँमा घुमाएर देखाऔँ
होटल लज राम्रो चल्छ कामदारलाई काम
विदेशी मुद्रा वृद्धि हुन्छ चल्छ देशको नाम
पर्यटकहरु पाहुना हुन् पाहुनालाई मानौँ
सुविधा दिई खुसी पारी पर्यटकलाई तानौँ ।


