शम्भुप्रसाद भट्टराई
(विराटनगर १, मोरङ)
सन्ध्याको जीवन सधैँ सङ्घर्षमय रह्यो । गरिबी र अभावसँग जुझ्दै उनले उच्च शिक्षा हासिल गरिन् । एउटा राम्रो जागिर खाएर परिवारको आर्थिक अवस्था सुधार्ने उनको सपना थियो । यही सपना बोकेर धेरै कम्पनीमा धाइन् । सफलता हात लागेन । धेरै ठाउँमा योग्यताभन्दा बढी उनलाई उनको सुन्दरताका कारण हेरिन्थ्यो, जुन उनलाई पटक्कै मन पर्दैनथ्यो ।
एकदिन एउटा प्रतिष्ठित कम्पनीमा उनले मार्केटिङ म्यानेजर पदका लागि अन्तर्वार्ता दिने अवसर पाइन् । उनको योग्यता र अनुभव हेर्दा यो पद उनका लागि उपयुक्त थियो । अन्तर्वार्ताको दिन उनी निकै उत्साहित थिइन् । कम्पनीका प्रबन्ध निर्देशक (एमडी) एक जना अधबैँसे पुरूष थिए । अन्तर्वार्ता सुरू भयो । सुरूमा सामान्य प्रश्नहरु सोधिए, जसको जवाफ उनले आत्मविश्वासका साथ दिइन् ।
बिस्तारै एमडीका प्रश्नहरु अर्कै दिशातिर मोडियो । उनले सन्ध्याको व्यक्तिगत जीवन, उनको एक्लोपन र भविष्यका योजनाबारे अनावश्यक चासो देखाउन थाले । सन्ध्यालाई असहज महसुस हुन थाल्यो । एमडीले घुमाउरो पारामा शारीरिक सम्बन्धको आशय व्यक्त गर्न थालेपछि उनको धैर्यको बाँध टुट्यो । उनले दृढतापूर्वक एमडीलाई हेर्दै भनिन्, ‘सर, आवश्यकता र इच्छा फरक कुरा हुन् । संस्कारले ज्यादै ठुलो महङ्खव राख्छ । यदि संस्कार तलमाथि भयो भने धेरै कुरा तलमाथि हुन थाल्छ ।’
उनको यो भनाइले एमडी अवाक् भए । सन्ध्याले अस्मितालाई कुनै हालतमा जागिरसँग साट्न तयार नभएको स्पष्ट पारिन् । त्यहाँबाट बाहिरिइन् । उनलाई विश्वास भयो कि त्यो जागिर पाउँदिनँ ।
अन्तर्वार्ताबाट निस्किएपछि सन्ध्याको मनमा पीडा र निराशाका साथ एक किसिमको गर्व थियो । उनले आत्मसम्मानमा कुनै सम्झौता गरिनन् । घर फर्केपछि आमालाई घटनाबारे बताइन् । आमाले सन्ध्याको निर्णयलाई समर्थन गरिन् र उनलाई हौसला दिइन्, ‘छोरी, जागिर त धेरै पाइन्छ तर आत्मसम्मान एकपटक गुमायो भने फर्काउन सकिँदैन ।’
सन्ध्याले हार मानिनन् । उनले बुझिन् कि समाजमा यस्ता विकृतिहरु अझै छन् र यसको सामना गर्न अझ बढी साहसी हुनुपर्छ । उनले सानातिना काम गरेर जीविका चलाउन थालिन् । लक्ष्यबाट विचलित भइनन् । विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा आवेदन दिइन् । उनको दृढता र इमानदारीको कदर गर्दै, केही समयपछि एक प्रतिष्ठित गैरसरकारी संस्थामा परियोजना संयोजकको रुपमा जागिर मिल्यो ।
सन्ध्याले जागिरलाई अवसरका रुपमा लिइन् । इमानदारीसाथ काम गरिन् । मिहिनेत, लगनशीलता र नैतिकताले गर्दा उनी छोटो समयमै सफल भइन् । समाजका लागि केही गर्नुपर्छ भन्ने प्रण गरिन् । महिला सशक्तीकरण तथा लैङ्गिक समानताका क्षेत्रमा काम गर्न थालिन् ।
आज सन्ध्या सफल र सम्मानित महिला हुन् । उनले आफ्नो अनुभवबाट धेरै महिलालाई प्रेरणा दिइरहेकी छन् । सधैँ भन्छिन्, ‘जीवनमा धन कमाउनु मात्र ठुलो कुरो होइन, आत्मसम्मान र संस्कारलाई बचाएर राख्नु सबभन्दा ठुलो सफलता हो ।’


