तेजविलास अधिकारी
अन्धकारमय कालरात्रीमा कुम्भकर्ण निद्रा सुत्नेहरु पनि छन् । मध्यरातमा मुर्कट्टा देख्नेहरु पनि छन् । सुतिरहनेहरु केही लेख्दैनन् किनकि तिनीहरु केही देख्दैनन् । केवल स्वार्थको साङ्लोले तिनलाई बाँधेको हुन्छ । लुट्ने कर्ममा काबिल भएकाले मात्र श्रम शोषणको इतिहासको निरन्तरता दिन्छन् । चाहे दिन होस् चाहे रात, खराब शासकले गरेका सन्धि सम्झौता, पोसेका टोले गुण्डा अनि शोषण गरेको देशको अस्तित्व सबै सबै सपना र विपनामा आइरहन्छन् चिन्तकहरुको दिमागमा । कोरिन्छ नयाँ चित्र देश निर्माणको, खोजिन्छ अनेक विकल्प जीवनयापनमा जोडिएका लाखौँश्रमिकहरुको, बन्छ नयाँ र दर्विलो सङ्घर्षको इतिहास । हामीलाई इतिहासले पनि पीडा दिन्छ । ठिक वा बेठिक इतिहास पढेर पीडा बेहोर्नु । पाठक दुःखी पार्नुभन्दा पाठकलाई जगाउन इतिहासले सकोस् ।
भर्खरै एउटा कवितासङ्ग्रह सार्वजनिक भएको छ ‘मध्यरातमा मुर्कट्टा’ । कवि अनिल श्रेष्ठको छैटौँ काव्यकृति हो ‘मध्यरातमा मुर्कट्टा’ । उनका नवौँ कृतिहरु मध्ये आकारमा सानो भएर पनि पछिल्लो साहित्यिक साधना र सामाजिक जिम्मेवारीबाट निस्किएको यो कविता सङ्ग्रहलाई विवेक सिर्जनशील प्रकाशन प्रा. लि. ले प्रकाशनमा ल्याएको हो । कवितासङ्ग्रहभित्र जम्मा ३५ ओटा कविताहरु रहेका छन् । यति छोटा पनि कविता हुन्छन् ? भन्ने प्रश्न गर्न नभ्याउँदै उनका कविताहरुले मथिङ्गलमा कम्पन ल्याइदिन्छन् । अनि म भन्न सक्दिनँ ५,६ पङ्तिको कविता हुँदैन । कवितासङ्ग्रहभित्र कतै व्यक्ति विशेष नामसँग सम्बन्धित वर्णन छ त कतै कविकै मुखबाट केही प्रतिबद्धता गरिएका सन्दर्भ रहेका छन् ।
‘भाँचिएको सियो’, ‘एकदिन’, ‘वक्त’, ‘आजकल सिंहदरबारमा फूलहरु फुल्दैनन्, ‘तिम्रो स्मृतिमा’, ‘सत्ता’, ‘लय’, ‘जादुगर’, ‘इजलास’, ‘विमल निभा’, ‘व्यर्थ हाँसो’, ‘अनादि लय’ हुँदै अन्तिम अर्थात चौथो अनुच्छेदमा पुगेर कविताको व्रmम टुङ्गिन्छ । कवि आफ्ना कविताहरुमा व्यक्तिलाई गाली गर्दैनन्, प्रवृत्तिमाथि प्रहार गर्छन् । राजनीतिको ‘रा’ पनि उच्चारण नगरी राजनीति गर्नेहरुको उदाङ्गो व्रिmयाकलापलाई काव्यभाषा प्रयोग गर्छन् । जनयुद्धको आधारभूमि टेकेर आएको परिवर्तनले सामान्यभन्दा सामान्य जनतालाई छुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दछन् । कवि आफ्ना कवितामा कतै कवि विमल निभालाई चेतनाको गायकका रुपमा चिनाउँछन् त कतै खुसीराम पाख्रिनलाई सम्झिएर अहिलेको सत्ताप्रति अलिकता तीतो पोख्छन् । सम्मान गर्दागर्दै पनि कहिलेकाहीँ परिवेशले सम्मानित पात्रलाई अपमानित बनाएको सन्दर्भ प्रस्तुत गर्दछन् । पछिल्लो पाँच वर्षको अवधिमा लेखिएको कविताहरुमध्य अधिकांश २०७२ सालपछि संविधानसहित देशमा के के आयो भन्नेहरुलाई कसरी आयो खै परिवर्तन ? प्रश्नैप्रश्नको प्रहार गर्दछन् । शोषित पीडितको आवाज उठाउन तल्लीन कवि आफ्नो धरातल र विरासत बिर्सन चाहँदैनन् । नेपाली समाजको पक्षपातपूर्ण व्यवहारले चिन्तित समुदायले नेपाली हुनुको गौरव के ले गर्ने हो भन्ने प्रश्न गम्भीर ढङ्गले उठाएका छन् ।
जति समस्या आएपनि आफ्नो लय फेर्न हुन्न भन्दै ‘लय’ कवितामा नेपाली समाजले जतिसुकै कोल्टो फे¥यो भने पनि गुणात्मक समाज बनाउन वर्गीय हिसाबले समस्याको समाधान गर्न चुकेको विषय उठान गरेको छ । ‘इश्वरको जन्म’ कविताले इश्वरको नाममा लुट्नेहरुप्रति व्यङ्ग्य गरेको छ । इश्वर बन्ने र बनाउने प्रथा कहिलेसम्म रहिरहला भन्ने भाव व्यक्त गरिएको छ । ‘एकदिन’ कविताले पर्यावरणप्रतिको चिन्तालाई मुखर गरेको छ । ‘अगुल्टो’ कविताले विचारको बीज कहिल्यै ननासिने र नमासिने विषयतर्फ सङ्केत गरेको छ । पूर्व शासक र वर्तमान शासकहरु बर्बराइरहेका छन् । आफूलाई लागेको विषय नै पूर्ण सत्य हो भन्नेहरु आफूले आफैलाई राजनेता घोषित गरेकोप्रति आव्रmोश गर्न पुग्छन् । ‘सेलिब्रेटी’ कविताले २,४ कविता लेखेर पत्रिकामा छपाएपछि आफूले आफैलाई स्वघोषित कविको दर्जा दिनेहरुकै विगविगी चलिरहेको यथार्थ व्यक्त गर्दछन् । जाँडरक्सीको नशामा जनतालाई डुबाएर चुनाव जितेर जानेहरुले देशको भूगोललाई बन्दकी राखेर यावत काम गरेको र नागरिकहरुले त्यसको परिणति आज भोगिरहेको विषयहरु कविताहरुमा आएको छ ।
‘जादुगर’ कविताले स्वघोषित संबृद्धिका नेताप्रति गम्भीर व्यङ्ग्य प्रहार गरेका छन् । झन्डै दुई वर्षदेखि जनता स्वास्थ्य समस्याको त्रासमा बाँच्नु परेको र जनताका निम्ति सरकार काममा भन्दा कमिसनमा रमाएको सन्दर्भ कविताहरुले प्रस्तुत गरेका छन् ।
‘मध्यरातमा मुर्कट्टा’ कवितासङ्ग्रहले व्यापारीहरुको राजनीतिमा भएको पदोन्नति, भ्रष्टहरुले दिने गरेको असल शासनको नारा, आवधिक निर्वाचनका नाममा जनतालाई किनबेचको वस्तु बनाइएको वास्तविकताप्रति संवेदनशील भएर सोच्न र राहतका नाममा भएको अनियमितताको शृङ्खला डरलाग्दो रहेको विषयले सचेत नागरिकलाई पलायन हुन बाध्य बनाइरहेको त होइन भन्ने चिन्ता समेत व्यक्त भएको छ । कवि आफूलाई एउटा आम नागरिकको रुपमा उभ्याउँदै न्यायालयले गरेका गलत फैसलाप्रति पनि नागरिक आवाज सङ्गठित पार्न आह्वान गर्दछन् । कवि कवितामा समाजलाई केलाउँछन्, अनेक विषय खेलाउँछन् । कतिपय कविता साह्रै छोटो हुनाले कविताका पारखीहरु क्विताबाट तृप्त हुन नपाउँदै कविता सकिन्छ । राम्रा कविताहरुको रसस्वादन हराइरहेको वर्तमानमा कवि अनिल श्रेष्ठको यो कवितासङ्ग्रह उल्लेखनीय प्राप्ति मान्न सकिन्छ ।