शीतल गिरी

एकपटक जैविक जन्म लिएपछि अनि फेरि लेखकको आनुभूतिक जन्म हुन्छ । यसैले उसलाई समाजमा विशिष्ट बनाउँछ । यसैले उसलाई सामाजिक परिभाषा दिन्छ । कृति उसको आनुवांशिक प्रच्छन्नताको फोटोकपी हुन्छ । लेखकको सम्पूर्ण नियात्रामा पहिलो गुण भाषाको सहजता हो । यसको कारण विजय चालिसेको नियात्रा प्रवाहमान छ । उनको शैली वर्णनात्मक धेरै छ ।
नियात्राकार चालिसेले पाठकलाई नियात्रा समाप्त नहुन्जेलसम्म बाँधेर राखेका छन् । उनले आफूले यात्रा गरेको स्थान र यात्रामा भेटेका पात्रसँग साथसाथै राखेर पाठकलाई आफ्नो नियात्रा–संसारमा लिएर जान्छन् । नियात्रा सङ्ग्रहलाई आफ्नो शीर्षक प्रदान गर्ने यो नियात्रा ओह … नेपारु ! मा मैले सबभन्दा धेरै यसकारण मन पराएको हुँ किनभने यो नियात्रा नियात्राकारले यात्रा गरेको भरमा लेखिएको होइन, यसमा त एउटा जापानीले नेपाल र नेपालीप्रति स्वतःस्फूर्त रुपमा उजागर गरेको सम्मान छ । बौद्ध धर्म अपनाएका जापानीका लागि तथागत जन्मेको देश नेपाल पवित्र तीर्थस्थल हो । यसकारण नेपालको नाम सुन्नासाथ मुखबाट हर्षमिश्रित उद्गार निस्कनु सम्मान हो । जापानी केटीले विश्वको भूगोल र संस्कृति विषयको अध्ययन गर्दा नेपाल र नेपालीबारे जुन छवि मनमा बसालेकी थिई, यात्रामा उसबाट भएको सहयोगमा त्यहीँ सौन्दर्य पाउँछु— आफू जापान नगए पनि ती केटीलाई देख्दै नदेखे पनि सहयोगी भावना भएकी तिनीप्रति स्नेहको सम्मोहनले तानिन गएको थिएँ । कति राम्ररी धार्मिक स्मारक र मन्दिरको फरक बुझाउन सकेको । यस नियात्रा जापानी केटीको स्वच्छ सहयोग— यथार्थ जानकारी के नेपालमा आएका विदेशीलाई यस प्रकारका गहन ज्ञानसहितको जानकारी गराउने काम हामीबाट पनि भएको छ ।
हामी नेपालीले हामी कहाँ रहेको सामाजिक राजनीतिक संस्कार बुझेर हृदयदेखि अपनाएका छैनौँ, परिवर्तन आएको छ अवश्य सहज रुपमा अङ्गीकार गरेका छैनौँ, जनताको चाहना र नेताको चाहना फरक फरक हुन गएको छ, फलस्वरुप आजको समयमा जुन रुपमा देश र जनताले प्रगति गर्नुपर्ने हो त्यो हुन सकेको छैन । मजस्ता पाठक विदेशमा पुगेका नेपाली लेखकले देखाएको र चिनाएको जतिमा मक्ख पर्छौं । कति पो समय बित्यो र दोस्रो विश्वयुद्धले थिलथिलो भएको ! जापानीले अमेरिकी सामु लत्रेर भए पनि आफ्नो प्रतिभा र क्षमता देखाएरै छाडे । तुलना गर्छु तब पाउँछु हामीले सबल नेतृत्व पाउन सकेका रहेनछौँ, राष्ट्रलाई माया गर्न जानेका रहेनछौँ । नियात्रा ‘चरैवेती’मा नियात्राकार जापानमा रहेका कान्छा छोराबुहारीसँगै २०६८ सालको दसैँ मनाउन गएको प्रसङ्ग छ । आआफ्नो उद्देश्य हुन्छ जापान जाने । नयाँ ठाउँको यात्राको मोहमा नियात्राकार लोभिएका छन् । पारिवारिक भेट र भरखरै गोरखापत्र संस्थानको जिम्मेवारीबाट मुक्त भएको समय— यथार्थमा भ्रमण देख्न–सुन्न–भेट्न अनि समयको सदुपयोग ।
नियात्रा ‘ऊ … बुवा … !’ अढाइ वर्षकी नातिनी आयुषाको कारण पठनीय छ जसले नियात्राकारप्रति अनुराग राखेर निर्दोष र आत्मीय स्वागतले प्रफुल्ल बनाउँछ । नियात्राकारको आफ्नै हुस्सुपनले विमानस्थलमा विलम्ब हुनुपरेको घटनाले नेपालीलाई सचेत गराएको छ । प्रशान्त महासागर र चिनिया सागरको अतल जलराशि अवलोकनमा खर्चिएको शब्द उपयुक्त छ । ‘इनोकापसराको ऐनामा शासकीय सौन्दर्यचेत !’ मा जापानको रमाइलो पार्क र तलाउसँग नजिक हुन पुग्छौँ ।
‘आहा ….. कति गुनिला जापानी !’ नियात्रा स्टेसनकै रमाइलोमा धेरै बेर पाठकको मानसिकतालाई घुमाउन सक्ने क्षमता राख्छ । सभ्यताका उन्नायक साहित्यकार–कलाकारको सम्मानले नियात्राकारको मनलाई झक्झकाएको छ जापानको चलन देख्दा, साथै त्यो चेतनाको ज्योतिको प्रभाव नेपालमा कहिले पर्ने हो, साहित्य र कलाका माध्यमबाट नेपालको गरिमा बढाएका साहित्यकार कलाकारले कहिले न्याय पाउने हुन् । स्वामीभक्त हाचिको (कुकुर) ले पनि सम्मान पाउन सकेको जापान तब त श्रेष्ठ छ । सिबुया स्टेसनको पश्चिमोत्तर कुनोमा स्टेसनसँगै जोडेर बनाइएको हाचिकोको सालिकको मूल्य नेपाली मानसिकताभन्दा निकै बढी भएको लाग्यो मलाई । प्रोफेसर हिदेसाबुरो र उनको कुकुर हाचिको बिच कस्तो किसिमको प्रेम थियो ? हिदेसाबुरो र हाचिकोबिच कुन मोडमा आएर मानिस र पशुको भाव समाप्त हुन्छ ? यो प्रश्न हो, सभ्यता र संस्कारको स्वाभिमान राख्ने कुनै पनि नेपालीको मनले प्रेम वास्तवमा बुझेको छ जस्तो मलाई लाग्दैन ।
टोकियोबाहिरको पहाडी सव्रिmय ज्वालामुखी रहेको हाकोने उपत्यकामा रहेको एउटा विश्रामस्थलको भित्तामा अधिकांश देशका झन्डाका बिच आफ्नो देशको चन्द्रसूर्य अङ्कित झन्डा खोज्दा नपाएर नियात्राकार चालिसे रन्थनिएका होइनन्, नेपाली अस्तित्व रन्थनिएको हो । नियात्राको शीर्षक नै ‘हाकोनेले देखेन मेरो देश !’ ले नेपालमा जन्मिएका सिद्धार्थ गौतम बुद्धको उपदेश आदर्शको रुपमा मान्ने जापानले नेपाललाई बिर्सनु अवश्य स्वाभिमानी नेपालीलाई चोट पुर्याउने घटना हो । भागबन्डामा राजदूत बन्ने प्रचलन रहेको नेपालका असक्षम जागिरेले राष्ट्रियताप्रति अवश्य चिन्तित बन्दैन र बनेन । ‘मानवीय शौर्य र प्रकृतिको कोप !’ नियात्रामा जापानीको अनुशासन–कर्मठता–स्वच्छताको मापदण्ड याने सागरबन्ध वास्तवमा जापानी परिश्रमको, जापानी प्रगतिको कथा हो, जो बाँध बाँधेर समुद्रदेखि ल्याइएको ठुलो नहरद्वारा निर्मित नदीसञ्जाल । समुद्रदेखि ल्याइएका कृत्रिम नदीहरु ढुवानीको सहज जलमार्ग पनि बनिरहेको पाउँदा, नेपाली पानी खेर गइरहेछ असक्षम नेतृत्वको कारण सदुपयोग गर्न सकिरहेका छैनौँ । गरे के पो हुन्न तर हामी कहाँ उखाने जस्ता गुखाने गफाडी सरकार प्रमुख बन्न पुगेपछि चारैतिर लथालिङ्ग हुनु स्वाभाविकै हो । यस नियात्राको विशेषता भनेको जापानीले समृद्ध बनाएको जापान नेपालीलाई चिनाउनु नै हो ।
देखावा, अधिभौतिकताजस्ता खोक्रा मूल्य परम्पराको नाममा बयलयाडाजस्तै रिक्साको हत्थालाई छातीले पेलेर बलपूर्वक दुई जनाको बोझ मानिसले तान्ने वर्तमान समयको विषय–भिन्न पाटो ‘टोकियोमा कृष्ण दर्शन !’ नामक नियात्रामा स्पष्ट रुपमा पाइन्छ । जापानमा देखेका केही असमानताको दास्तान हो यो नियात्रा तर पनि नियात्राकारले सेन्सोजी मन्दिरको प्रवेशद्वारको छेउमै हिन्दु मिथकका अनेकौँ चित्र देख्दा एउटी नेपाली गृहिणी (नियात्राकारकी पत्नी) को मनमा खेलेको भावको चित्र उतार्न सफल छन् । ‘यो त मान्छे नै हो क्यार !’ सामाजिक–आर्थिक–शैक्षिक मात्र होइन कलाको क्षेत्रमा पनि फरक फरक मूल्यचेतनाको राम्रो चित्रण यस नियात्रामा छ । गरे के पो हुँदैन र, टोकियो टावरको मैनमूर्ति सङ्ग्रहालयमा रहेकोले विस्मित तुल्याएको बुझिन्छ । टावरको दक्षिणतिर समुद्र छेउको टोकियो खाडीमा आफ्ना दुईओटा प्वाँख फिँजारेर बसिरहेको नयाँ सहर ओदाइवाको विशालता थाहा पाइन्छ । अन्ध आधिभौतिकता खराब हो र उच्च शिक्षा राम्रो तर जापानले कुनै दिखावा नगरेर मानवीय मूल बुझेर सदुपयोग गर्न सकेको यस नियात्राबाट बुझिन्छ । जोडो–बौद्ध सम्प्रदायको प्रमुख मन्दिर सानयेन–जान कोडो–इन जोजाजीको मुख्यद्वार अति कलात्मक रहेकोले नै वर्णन गरेका छन् । ‘इन्द्रधनुषी पुल र सागरबस्ती !’ सन् १९८७ मा निर्माण सुरू गरेर ६ वर्षमा बनिसकेको इन्द्रधनुषजस्तै अर्धवृत्ताकार विशाल पुलले टोकियोलाई ओदाइवासँग जोड्ने वास्तुकलाको सुन्दर नमुनाको वर्णन छ यस नियात्रामा ।
जापानमा आफन्त भेटिएको, नेपाली हुनुको अर्थ थाहा पाएर मानवीय मूल्यको महङ्खवको चित्रण राम्ररी प्रस्तुत हुन सकेको छ ‘जीवन्त सङ्ग्रहालय पछिको रात्रिभोज’ नियात्रामा ।
नियात्रा ‘सलाम फुजीसान !’ अर्थप्रधान समाजको शैक्षणिक महत्त्वाकाङ्क्षाको प्रस्तुतीकरण जस्तो लाग्छ । माल पाएर पनि चाल नपाएका हामी नेपालीले जापानले आफ्नो ठाउँ सिँगारेर, देखाएर पर्यटक भित्र्याइरहेको छ तर हामी केही गर्न नसकेर चुकचुकाइ मात्र रहन्छौँ ।
‘टोकियोमा सामूहिक टीका’को मुख्य व्यवस्थापक (नेसनल डेमोक्रेटिक फेडरेसन, जापानको अध्यक्ष) सिर्जना काफ्ले थिइन् । जापानमा बस्दै आएका नेपालीबिच सम्पर्कको माध्यम बनेको यस संस्थाको कार्यक्रममा नियात्राकार चालिसेले निकै मानिस भेट्न पाए र नाङ्लो जत्रो छाती बनाउनु सुखद पक्ष हो । ‘विजुली बजार र साहित्यिक सम्मान !’ यस सङ्ग्रहको सबभन्दा सशक्त नियात्रामध्ये एउटा हो जहाँ नियात्राकारले धक फुकाएर ससाना कुरामा ध्यान दिएका छन् । सङ्ग्रहको नियात्राले कुनै न कुनै रुपमा जापानबारे गहन जानकारी गराएकै छ । त्यहाँ रहेका नेपालीको बसाइदेखि काम गराइसम्मको विवरण पाइन्छ । हुन त जापान भ्रमण पारिवारिक हो । छोराबुहारी–नातिनातिनीप्रतिको ममत्वले गराएको भ्रमण हो । यति भनेर मात्रै पनि पुग्दैन पारिवारिक भ्रमण भए पनि नियात्राकार साथमा थियो । साथै स्थापित साहित्यकार र पत्रकार हो, यस सम्बन्धको कारणले नियात्रामा जापानबारे गहिरो कुरा आउन सकेको पनि ।
यी नियात्राले जापानको विगत होइन वर्तमान देखाएको छ । कुनै पनि देशले प्रगति गर्न आफूकहाँ भएको प्रकृति, संस्कृति र संस्कारलाई सही किसिमबाट परिचालन गर्न सकियो भने समृद्धि प्राप्त गर्न सकिन्छ । यसका लागि देशवासीमा हाम्रो भन्ने भावना जगाएर निर्माणमा लगाउने नेतृत्व नेपालले खोजेको जस्तो बुझिन्छ । के जापान भनेको झकिझकाउ नै हो त ? के जापानमा धनी मात्रै छन् ? के जापानले भौतिक उन्नतिमा समुद्र–पहाड–आकाशलाई उछिनिसक्यो ? हो, यो जापानको एउटा पाटो हो तर त्यहाँ पनि प्लास्टिकका झुप्रामा कार्डबोर्डमा निलो प्लास्टिकको पाल मोरेर घरबारविहीन जापानी सुकुम्बासीको सङ्ख्या उल्लेख्य रहेछ । जापानी सम्पन्न सुन्दरताले छोपेको कारण कुरुप पक्ष रेडलाइटमा शरीर बेच्न बाध्य जापानी युवतीको अवस्था थाहा पाइयो ।
‘समान पीडाका भागीदार हामी !’ यस सङ्ग्रहको सबभन्दा स्पष्ट नियात्रा जस्तो लाग्यो । छोराबुहारीबाट एक्ल्याइएका वृद्ध एकल मानिसको पीडा छ यसमा । हो, यही चित्र नेपालका कतिपय परिवारमा छ र जेष्ठ नागरिकलाई छोराछोरीले सम्पत्ति दोहन गरी सडकमा फ्याकिने, वृद्धाश्रममा घचेटिदिने चलन चल्न थालेको छ ।
विजयको नियात्राले यस किसिमको जापानका बारेमा अपार ज्ञान गराउँछ । नियात्रा यति मात्र हुँदैन जति उहाँले लेख्नुभएको छ, नियात्राकार आनुभूतिक रुपमा यति मात्रै हुँदैन जति उहाँबाट शब्दरुपमा सेतो कागजमा अवतीर्ण भएको छ । नियात्रामा उहाँले यताउताका प्रश्न पाठकलाई छाड्नुभएको छ त्यो नै उहाँको अदृश्य मूल्यचेतना वास्तवमा साक्षात्कार गराउँछ ।

Facebook Comments Box

Similar Posts