हरि कट्टेल

मुखिया बा, ‘ए सन्ते ! एउटा घना बाँसको तामा मलाई दे है ।’
सन्ते, ‘हस् मुखिया बा हेरेर लानू न ।’
दिनानाथ, ‘ए सन्ते दाजु ! एक सानो सानो घना तामा मलाई है ।’
सन्ते, ‘हस् मालिक । यसो ठानमा हेरेरे लानू न ।’
नैनीदेवी, ‘ए सन्ते बाबु ! तिम्रो बाँस झाङमा त राम्रो तामा आएछन् । यस वर्ष घर छाउन लाउनु छ । चोया काढ्न लाउनुपर्यो  । एक घना अलि राम्रो तामा माग्छु है ।’
सन्तेले नाइ भन्न सकेन र भन्यो, ‘हस् मुखिनी आमै ।’
भोलिपल्ट बिहानै सन्तेको आँगनमा दलबहादुर आइपुगे । उनले सन्तेलाई भने, ‘सन्ते हौ ! यसपालि एउटा तामा मेरो है ।’
सन्तेलाई के भनूँ के भनूँ भयो । उसले मनमनै सोच्यो, ‘आ ! जे पर्ला पर्ला छैन भन्दिन्छु ।’
उसले साहस बटुलेर भन्यो, ‘खै हजुर तामा त पुग्ला जस्तो छैन त । धैरैलाई वचन दिइसकेँ । मेरो पनि यसपालि मतान छाउनु छ ।’
‘नाथे एक घना बाँसको तामा माग्दा पनि दाँतबाट पसिना पो चुहाउँछ हौ यो सन्ते ता । दे न एउटा घना !’ दलबहादुरले भने ।
सन्तेले नाइँ भनिरहन सकेन । भन्यो, ‘हुन्छ नि त हेरेर लानू हल्दार बा ।’
सन्तेकामा बाँस माग्नेहरुको निकै लर्को लाग्यो । सन्ते ‘भैगयो नि त हेरेर लानू’ भन्दै गयो ।
सन्ते दमाईको गाउँमा पानी चल्दैनथ्यो । ऊ गरिब थियो । उसको सात जनाको परिवार थियो । उसको सम्पत्तिको नाउँमा अलिकति घरबारी, सानो मतानघर, अलि तल सानो खरबारी र त्यसैको छेउमा सानो चोयाबाँसको एउटा ठान थियो । ऊसँग एउटा मेसिन थियो । ऊ यसो लुगा सिएर जीविका चलाउँथ्यो ।
एक महिनाजति पछि सन्ते स्वास्नीलाई साथै लिएर तल खरबारीको छेउमा रहेको बाँसघारीमा चोया काढ्ने, तामा बाँस र मतानको छानोको लागि भाटाको बाँस काट्न भनेर पुग्यो । बाँसझाङ नियाल्यो । बाँसघारीमा दुई चारवटा मात्र बाँस बाँकी थिए । चोया काढ्न मिल्ने नयाँ तामाबाँस त एउटै थिएन ।

Facebook Comments Box

Similar Posts