नन्दलाल आचार्य
१. सस्तो कि महङ्गो !
‘मगधलाई अनिकालले गाँज्यो । भोकमरीले जरा गाड्ने भयो । वैकल्पिक बाटो नखोजे हामीलाई हराएर अनिकालले साम्राज्य खडा गर्ने भयो ।’ मगध नरेशले यसो भनिरहँदा प्रधानमन्त्री चुप थिए ।
नरेशका कुरा सुनेर मन्त्रीगणले मुखामुख गरे । अन्ततः सबैभन्दा सस्तो वस्तु खाएर अनिकाल धपाउने निष्कर्ष निकालियो । सबै जनाले सजिलै प्राप्त हुने सस्तो खाद्यवस्तु ठम्याउन व्यापक छलफल गरे । मासु नै सर्वसुलभ हुने सस्तो खाद्यान्न भएको निष्कर्ष सार्वजनिक भयो ।
शक्तिशाली प्रधानमन्त्री भएर पनि मूकदर्शक मात्रै बनेको देखेर नरेशले प्रश्नको वाण उनीतिर सोझ्याए । प्रत्युत्तरमा प्रधानमन्त्रीले समय मागे । त्यस दिनका लागि सभा विसर्जन भयोे ।
गहिरो साँझ परेपश्चात् नरेशसँग सल्लाह गरी एक लाख रूपियाँ बोकेर उनी हरेक मन्त्रीनिवास धाए । मन्त्री मतलाई आँखा चिम्लेर ल्याप्चे लगाउने मन्त्रालयका उच्च पदस्थ कर्मचारीकहाँ पुगे ।
सबैले एउटै बोली बोले, ‘नरेश असाध्य बिमार देखियो । विशिष्ट व्यक्तिको मुटुको एक टुक्रा मासु खुवाउन सके नरेशको ज्यान बच्ने वैद्यको भनाइ छ । कृपया एक लाख रूपियाँ लिएर राजाको ज्यानका लागि मुटुको एक टुक्रा मासु दिनुस् ।’
राजाको ज्यान बचाउनका लागि भन्दै सबैले एक लाखमा अरु एक लाख रूपियाँ थपिदिए तर जतिसुकै अनुनयविनय गर्दा पनि आफ्नो मुटुको एकटुक्रा मासु दिएनन् ।
२. जेलज्ञान
‘मेरा लागि संसार स्कुल हो । सूर्य कल्याणको मुहान हो ।’ म एक्लै भट्भट्याएको देखेर मेरा छिमेकी कैदी ट्वाल्ल परेर मतिर एकोहोरो हेरिरहेका थिए ।
मेरो मन पनि सन्किहालेको थियोे । म थप्दै थिएँ, ‘वरपरका बोटबिरूवाले पौरखीको हात चुमिरहेका छन् । अटल अडानमा रहने मानिसले पत्थर पगालिरहेछ । एकताले स्थिति मजबुत बनाइरहेछ ।’
मैले मन खोलेर बगाएको देखेर सुन्नेजान्नेले मेरो दिमागी हालत बिग्रेको बताए । म अझ बिग्रेको देखाउन अभ्यस्त थिएँ । किनभने म प्राकृतिक जीवनशैलीबाट अप्राकृतिकमा धकेलिएको थिएँ ।
‘अई, तँलाई नखाएको विष लागेकै हो ?’ एक रैथाने ज्यानमाराले हकार्दै मलाई सोधेका थिए ।
‘म तिमीजस्तो अर्की श्रीमती ल्याउन भएकीलाई ठहरै पार्ने कायर हैन । नेपाल सरकारको शिक्षा आयोग लडेर शिक्षक भएको व्यक्ति हुँ । मलाई अपमान सह्य छैन । सामान्य आदर पनि गर्न नचाहने हो भने मेरा लागि मुखलाई दुःख नदेऊ ।’
उसको जवाफले मेरो मुखमा उल्टै ताला लागेको छ । उसको अनुहार सम्झ्यो कि मलाई त्यही ध्वनिले मगज गिजोल्न थालिहाल्छ, ‘म गँवार हुँ । समाजको अवनतिको संवाहक हुँ । म समाजको धमिरो हुँ । मलाई जेल कोचेर सरकारले सपार्न खोज्दै छ । तर भाइ, तिमी मास्टर हौ । समाजमा किरण छरी अन्धकार नास गर्ने वैधानिक सपथ लिएका मान्छे हौ । तिमीले आफ्नै धर्मपत्नीलाई आत्महत्या गर्ने वातावरण बनाउनुचाहिँ कहाँसम्मको आदरणीय काम हो ? दुनियाँलाई सपार्छु भनेर आफ्नै घरबार उजाड्ने तिमीजस्तो धोकेवाजलाई जेलको हैन फाँसीकै सजाय हुनुपर्छ ।’