विमल खतिवडा ‘माइला’
(सिलगढी, भारत)
सत्य बोल्नु, मनको कुरा जस्ताको तस्तै खोल्नुचाहिँ कलियुगमा नचल्ने रहेछ । वीरमानले बाल्यकालदेखि नै सिकेको ज्ञान थियो, सत्य बोल्नू । हजुरबुबाले ‘सत्यमेव जयते’को पाठ राम्रै घोकाएका हुन् । यसैलाई धर्म मानेर पालन गर्दै आएको थियो वीरमानले । उसले आफूले आफूलाई साँच्चै नैतिकताले परिपूर्ण ठान्थ्यो । सबैसँग मुस्कान छरेर बोल्ने बानी थियो उसको । ऊ घरमा मात्र नभएर स्कुल र गाउँतिर पनि सबैको प्यारो थियो ।
वीरमान निक्कै खुसमिजाजको मान्छे हो र थियो । तर जसो जसो ऊ जीवनमा परिपक्व हुँदै गयो उसले जीवन बुझ्न थाल्यो, यो त कलियुग रहेछ छलकपट गर्नेहरुको राज चल्दोरहेछ । उसको सत्यवादीपन त घरगाउँलाई सूचनाको स्रोत मात्र पो रहेछ । उसको मधुर मुस्कान र उदार हृदय त उसैको कमजोरी पो बन्दै रहेछ । घरकाले पनि उसको हरेक शब्दको गलत अर्थ मात्र निकाल्दा रहेछन् । उसको हर्ष र खुसी पनि उनीहरुलाई कहाँ मनपर्दोरहेछ र ! उसलाई के थाहा, मनमा एउटा र मुखमा अर्कै कुरो बोक्ने पो सत्यवादी र महान् हुँदोरहेछ । मान्छेलाई चिल्लोचाप्लो पो घस्नुपर्दो रहेछ । बिचरा ! वीरमान यो सब बुझ्छ तर अपनाउन जान्दैन । हिजोआज आफन्त सबै मिलेर उसको साह्रै गिल्ला गर्छन् । उसलाई हेप्छन् । त्यसैले हिजोआज वीरमान मौन छ । उसका मनका कुरा मनमै दब्न थालेका छन् । उसको सत्यवादीपनले उसको जिब्रो थुतेको छ । तर ऊ असत्य बोल्न सक्दैन किनकि उसको प्यारो हजुरबुवाले सिकाउनुभएको ज्ञान हो नि त यो । उ केवल ईश्वरसँग मात्र बोल्छ अचेल । बिचरा ! होचो वीरमानको मुखमा सधैँका लागि घोचो पसायो घरसमाज र परिवारका सदस्यले ।