- युवराज मैनाली
वस्तुहरु उनका सामु नतमस्तक थिए । उनले समयमा, सम्बन्धमा, रगतमा, हावामा अनि अस्तित्वको प्रत्येक आयाममा कर लगाएका थिए । जसले सास फेथ्र्यो, त्यसले मूल्य चुकाउँथ्यो । न्याय उनका पाइलामा लम्पसार थियो, सत्य उनका शब्दहरुमा मौनमग्न । उनका आदेशहरुले युद्ध सुरू गर्थे, देशहरु नष्ट हुन्थे, समय झुक्थ्यो, भाषा लोप हुन्थ्यो । उनको प्रकट छवि निर्मल, पवित्रताको एउटा सटीक पर्याय । तर जरा कतै पुरिएका थिए, अदृश्य तर अटल ।
उनले समयलाई गुलाम बनाए ।
उनले अस्तित्वलाई करमा रुपान्तरण गरे ।
उनले आफ्नै छायालाई समेत झुकाए ।
तर केही थिए अज्ञात, अव्यक्त, अनिर्वचनीय । स्वादको संवेदनामा अनपेक्षित घर्षण भयो । जिब्रोले मानेन, अन्नले स्विकारेन । चिकित्सकले हिम्मतपूर्वक सुझाए, ‘अब केवल रिक्तताको स्वाद लिनुहोस् ।’ महलको भान्साले इन्कार गर्यो । हातहरुले परिकार मात्र गने, जिब्रो शिथिल रह्यो ।
शून्यले पहिलोपटक टोक्यो ।
सम्पूर्ण ब्रह्माण्ड उनको मुट्ठीमा थियो । आफ्नै उदर शान्त गराउन उनी असमर्थ भए । भोकको हल्का टोकाइले अकथनीय पीडा भरेको थियो । यो उनले सिर्जना नगरेको पहिलो शक्ति थियो ।
उनले पश्चात्तापको द्वार ढक्ढक्याए । भित्र केवल मौनता थियो । स्वीकारोक्तिले काख फिजाएन, आत्मबोधले आलिङ्गन गरेन। भोजको निमन्त्रणा पठाइएको थियो तर पाहुनाहरु अनुपस्थित थिए ।
समय उपस्थित थियो तर बोल्दैनथ्यो ।
सत्ता उपस्थित थियो तर समाउँदैनथ्यो ।
शरीर उपस्थित थियो तर स्विकार्दैनथ्यो ।
महलको प्रत्येक कुना अब एक जना मात्र उपस्थिति थियो… … उनकै । … … किञ्चित हलुका, किञ्चित अलि पर ।
भोज समारोहमा अब केवल रिक्त प्लेटहरु थिए र तिनको छायाँमा, उनको आफ्नै आकृति ।
सम्राट् अझै पनि सिंहासनमा थिए ।
सर्वशक्तिमान् ।
अन्नबिनाको ।
अर्थबिनाको ।