डा. गणेशप्रसाद भट्टराई

ऊ नदेखिएको मान्छे हो । ऊ उपस्थित हुँदैन । गफको विषय बन्छ । गफले मलाई पगाल्छ, अरुलाई पगाल्छ । चुम्बकको चुम्बकीय क्षेत्रमा पसेको फलामको टुक्रालाई झैँ उसले आफ्नो बनाउन सक्छ । ऊ अरुलाई परिवर्तन गर्न सक्ने ऊर्जा हो । ऊ छेपारे रुपको अदृश्य क्रान्ति हो ।
म जे देख्छु, त्यो ऊ देख्दैन । म जे लेख्छु, त्यो ऊ पढ्दैन । म ऊसँग टाढिन खोज्छु, ऊ नजिकिन खोज्छ । नजिक्याइमा प्रेम र विश्वास हुनुपर्छ । ऊसँगको नजिक्याइमा म त्यो देख्दिनँ । ऊ जति नजिक आउँछ आत्मीयताको विष्फोट हुन्छ र मेरो सिर्जनशीलता एउटा कालो विश्वास बनेर हराउँछ । आकाशीय पिण्डलाई कृष्णछिद्रले निलेझैँ मेरो पवित्र सोचलाई उसले निलिदिन्छ र विकृति वमन गर्छ । म फेरि उसैलाई विश्वास गर्छु । उसैको केन्द्रतर्फ नजिकिन चाहन्छु । चुम्बकको चुम्बकीय क्षेत्रमा पसेपछि म पनि चुम्बक नै बनेजस्तो ठान्छु ।
ऊभन्दा पहिले नै म विद्यालय गएको हुँ । मैले समाजका अन्तरमनमा पसेर उसले भन्दा धैरै भोटा फटाएको हुँ । मेरो शरीरबाट उसको भन्दा धैरै पसिना बगेको छ । आँसु पनि मैले नै धेर झारेको छु । लुगा मैरै बढी फाटेका छन् । पैतालाको छाला मेरै फाटेको छ । घर मेरै चुहिएको छ । खोर मेरै रित्तिएको छ । बालबच्चा मेरै रोएका छन् । उसलाई यो सबै थाहा छ तर ऊ पढेर संसार जानेको भान गर्छ । ऊ मेरै अघि प्रशान्त महासागरमा जलयात्रा गरेको र अन्टार्कटिकामा हिउँ खेलेको बखान गर्छ । गाउँघरमा हुने आमसभामा चर्को स्वरमा पसिनाको मूल्य सुनाउँछ । गरिबको दुःखको बखान गर्दै सुखी संसार बनाउने योजना सुनाउँछ र मखमली रूमालले आँसु पुछेझैँ गर्छ । नाङ्गा आङको कुरा गर्छ । खाना, नाना र छानाको कुरा गरेर थाक्दैन । फुटेका कुर्कुच्चालाई आर्थिक क्रान्तिसँग जोड्छ । चुहिएको छानो टालेर समृद्धि यात्रा गर्ने कुरा गर्छ । बालबच्चालाई मिठाई बाँडेर आफ्नो जन्मदिन मनाउँछ । म ऊ बन्न नसकेकामा मेरा आँखाले मस्तिष्कलाई जिस्काउँछन् । मस्तिष्कले अपहेलित प्रशंसालाई तिरस्कार गर्छ । म शान्त मनले पीडा समन गर्छु किनकि म कहिल्यै ऊ बन्न सक्दिनँ ।
बिउ उम्रँदा आवाज आउँदैन । बिरूवा बढेको पनि देखिँदैन । रूख बनेपछि हावा चल्दा आवाज आउँछ । रूख ढल्दा त ठुलै आवाज आउँछ । बिउ रोप्न खोस्रिएको जमिन र रूख ढल्दा चोट सहने जमिन एउटै हो, मात्र बिउ र रूख फरक हो । आवाज ननिकाली जन्मने मानिस र आवाज गुमाएर मर्ने मानिस एकै हो तर अवस्था फरक हो । म फरक अवस्थामा फरक बन्न सकिनँ । म रूख बन्न सकिनँ, केवल बिउमै सीमित रहेँ । मैले बिउको मूल्य देखेँ, उसले हाँगाको विस्तार रोज्यो । ऊ रूख बन्यो । हावा चल्दा गर्जन र ढल्दा आवाज निकालेर आधारलाई चोट पुर्याउन सक्ने बन्यो । ऊसँग अरु डराए र आफूलाई आफूभित्रै लुकाए । सबै डराएको ठानेर उसले हालिमुहाली गर्यो । रूखले लडेर रूखै भाँच्यो । म बाढीले नबगाउने दुबो बन्न खोजेँ । ऊ बाढी रोक्ने छेकबार बन्यो । बाढी निम्त्याउने वर्षा पनि बन्यो । रुप फेरिरह्यो । उसले चर्चा पायो । म बिउ नै रहेँ, चर्चाको विषय बन्न सकिनँ । मेरो अस्तित्व सकेर ऊ परिचित बन्यो । मानिसले फल रोजे, बिउ कसैले रोजेनन् । सानो बिउमा लुकेको ठुलो संसार कसैले देखेन ।
ज्वाला दन्किएपछि प्रकाशको चर्चा हुन्छ । तापको वर्णन हुन्छ । भुङ्ग्रो लुकाउने खरानीको कल्पना कसैले गर्दैन । खरानीविना आगाको अस्तित्व छैन भन्ने ज्वालाले बुझ्दैन । ऊ दन्किन्छ, फैलिन्छ र जलाउँछ । हामी क्षणिक तातामा रमाउँछौँ । जब ज्वाला दन्कन छाड्छ, ढाड चिसिइसकेको हुन्छ । ज्वाला दन्किँदा हात अघि बढ्छन् । आँखाले ज्वाला देख्छ । ढाड चिसिएपछि खरानीमा छोपिएको कोइलाको काम आउँछ । खरानीभित्रको न्यानो पाउन हात बढ्दैन । ढाड सेकिएको आँखाले देख्दैन । ऊ आँखाले देख्ने कर्ममा लाग्यो र छिटै चर्चा कमायो । म खरानी बनेँ, भुङ्ग्रो जोगाएर प्रमिथस बन्न खोजेँ । मैले अरुले मात्र देख्ने नदेखिने कर्म रोजेँ । मैले कहिल्यै ऊ बन्ने कोसिस गरिनँ ।
ऊ हातमा विकास बोकेर गाउँ छिर्यो । भाषामा नयाँ लवज थप्यो । आमालाई ममी बनायो । बाहरु ड्याड बने । बिस्तारै काकाकाकी, सानाबासानिमा, फुपूफुपाजु, हजुरबाहजुरआमा गाउँबाट हराए । सहरमा नाता हरायो । पारिवारिक स्नेह हरायो । मानवता हरायो । समाज सभ्य बन्यो । हाम्रा खानेकुरा हराए । पोसाक हराए । चाडपर्व हराए । बालीनाली हराए । खेतीपातीको शैली परिवर्तन भयो । उर्वर खेतमा घर फले । शीतल जङ्गलका रूख ढले र फेदमा रिसोर्ट बने । डाँडाकाँडा कोतरिए, बाढी निम्तिए । बलियाहरु विदेश लागे । जीवनशैली फेरियो । करेसाबारीमा वनमारा उम्रियो । हिजो आफ्ना बारीका फलफूल र तरकारी बेच्नेहरु आज मार्टमा फ्रुट र भेजिटेबल किन्न थाले । ज्येष्ठ नागरिक वृद्धाश्रममा थुपारिए । छोराबुहारी र छोरीज्वाइँ विदेशमा झिलिमिली हेरेर रमाए ।
विद्युतीय माध्यमबाट थाहै नपाई आकाशमार्ग हुँदै तार तारभित्रबाट घुसेर अनलाइन ममता घर घरमा पस्यो । विचार बन्दी भए । ऊचाहिँ निष्फिक्री घुम्न थाल्यो । उसले यसलाई आफ्नो सफलता ठान्यो । रक्सीको चुस्कीमा मातिएर महानताको पाठ पढाउन थाल्यो । शक्तिशाली उसका वरिपरि भक्ति परिव्रmमा सुरू भयो । उसले दिन बिर्सियो, माग्न सिक्यो । ऊ किन्न सक्ने भयो । मन किन्यो, तन किन्यो, मत किन्यो । उसले मलाई आँखा चिम्लने आदेश दियो र यसपालि पुनः मुखिया चुनियो ।
आँखा चिम्ले पनि मैले आँखाको ढकनीभित्रबाट उसलाई देखिरहेँ । ऊभित्रका अङ्गप्रत्यङ्ग, प्रणाली र संयन्त्र देखिरहेँ । मैले वृद्धाश्रमका आमाका आँसुले माटो भिजेको देखेँ । बाका चाउरिएका आँखाभित्र वात्सल्य देखेँ । मेरो इतिहास र गौरव देखेँ । उसले मानिसका लुगा च्यातेर नङ्ग्याएको देखेँ । नाङ्गिन खोज्नेका बिचमा ऊ रमाएको देखेँ । म आँखा चिम्लेर म बनिरहेँ, ऊ आँखा खोलेर काँधमा चढिरह्यो । खोक्रा मस्तिष्कको आकर्षण बनिरह्यो । मैले उसको टाउको निहुराउन सकिनँ । ऊ शिर ठाडो पारेर ऊ बनिरह्यो ।
ऊ अरुका आँसु झार्न सक्छ, पुछ्न जान्दैन । अट्टहास दिन्छ, अरुको मुस्कान देख्न सक्दैन । मुस्काएको देख्यो कि आरिसले धपधपी बल्न थाल्छ । बल्न थालेपछि निभ्न जान्दैन । निभ्छ त्यति बेला जब मुस्काउनेलाई भस्म बनाउन सक्षम हुन्छ । उसले ऊ बन्न जानेको छ, म बन्न सक्दैन । म कदापि ऊ बन्न सकिनँ । ऊ म बन्न सकेन । म बन्ने कहिल्यै चेष्टा पनि गरेन ।

Facebook Comments Box

Similar Posts