नेत्रप्रसाद न्यौपाने
स्रष्टाप्रतिको प्रभावभन्दा सिर्जनाभित्र स्वाद लिन पाउँदाको स्वाद नै बेग्लै हुन्छ । एकछिन कल्पना गर्नुहोस् । तपाईं एउटा होटलमा जानुभयो र खाजा खानुभयो भने खाजा कसले बनाएको हो । खाजा बनाउने मानिस कस्तो छ । ऊ कुन ठाउँको हो वा कुन वर्गको हो भनेर खोजी गर्नतर्फ लाग्नुहुन्न । खाजाको स्वाद कस्तो छ भन्नेतर्फ तपाईंको ध्यान जान्छ । खाजा सारै स्वादिलो रहेछ भने यति स्वादिलो खाजा बनाउने को रहेछ भनेर बरू खाजा बनाउनेको खोजी गर्न थाल्नुहोला । यसको अर्थ मैले साहित्यलाई खाजासँग तुलना गरेको चाहिँ पक्कै होइन तर सामान्य अर्थमा त्यस्तै त्यस्तै बुझे पनि हुन्छ ।
हामी पाठक, कुनै कृति पढ्नुभन्दा पहिले नै लेखकको खोजी गर्छाैं । लेखकले कति कृति लेखेको छ, लेखक कुन क्षेत्रको हो, ऊ कुन वर्गमा पर्छ, जातीय दृष्टिले लेखक कुन जातको हो, उसको शैक्षिक योग्यता के हो, साहित्यिक क्षेत्रमा उसको नाम प्रचलित छ वा छैन आदि आदिको खोजीपछिमात्र किताबका भित्री पन्नाहरु पल्टाइन्छन् । आफूले नचिनेको, कहिल्यै नसुनेको वा बाहिरी गातामा लेखकको विस्तृत परिचय नभएको पुस्तक रहेछ भने किताबको बाहिरी आवरण हेरेर थन्क्याउँछौँ । यहीँबाट साहित्यमा विभेद सिर्जना हुन थाल्छ ।
मेरा हातमा परेको पुस्तक होऐलानी घाम । यो हाइकुसङ्ग्रह हो । म सच्चा पाठक हुँ भने यस कृतिको बाहिरी आवरणमा लेखिएको विधा नहेरी भित्री कुरा पढेर यो कुन विधाको कृति हो भनेर छुट्याउन सक्नुपथ्र्याे । कृति पढेर विधा छुट्याउन सकिँदैन भने त्यो विधागत सचेत पाठक नै होइन । विधागत असचेत पाठकले कृति पढेरस्वाद लिन सक्दैन । त्यसैले विधाको स्वाद पाउनेले नै कृतिको स्वाद लिन सक्छ ।
ऐलानी घामभित्रका हाइकुहरु पढ्दै गएँ । १,५१५ ओटा हाइकुपछिको अर्काे पन्नामा चिसा अगुल्टा (सेन्र्युसङ्ग्रह) लेखिएको थियो । सेन्र्यु र हाइकु छुट्याउन नसक्नेले यो कृति पढ्नुको कुनै अर्थ छैन । मैले सेन्र्यु पढिनँ । मलाई सेन्र्यु पढ्न मजा लागेन । सेन्र्युहरु बेग्लै व्यङ्ग्यात्मक रसास्वादन गर्ने खालका थिए होलान् । चिसा अगुल्टा पढेपछि यी सेन्र्यु रहेछन् भनेर मैले छुट्याउन पाउनु पथ्र्याे । स्रष्टाले मलाई सहज बनाइदिनुभयो । सहजताबाट पाठकले भित्री मर्म खुट्याउन सक्दैन । पाठकलाई विधागत पूर्वसङ्केत गरिदिनुभएकोमा स्रष्टालाई साधुवाद ।
ऐलानी घाममा १,५१५ ओटा हाइकु छन् । ऐलानी घाम आफैमा प्रतीकात्मक र बिम्बात्मक छ । हुन त हाइकु त्यसै पनि बिम्बात्मक हुनुपर्छ । प्रतीक नै हाइकुको प्राण हो तर बिम्ब वा प्रतीकलाई कुन रुपमा प्रयोग गरिएको छ वा कुन क्षेत्रको बिम्बप्रतीकका रुपमा प्रयोग गरिएको छ भन्ने कुराले बढी महङ्खव राख्छ । ऐलानी घामका हाइकुभित्र प्रशस्त पौराणिक बिम्बप्रतीकको प्रयोग पाइन्छ । तिनै बिम्बप्रतीकलेहाइकुहरु जीवन्त छन्, प्राण भरिएका छन्, चलायमान् छन् ।
हिन्दूधर्ममा शालिग्रामको विशेष महङ्खव छ । शालिग्राम विष्णुको प्रतीक हो । प्रतीकलाई समेत प्रतीक बनाएर दिल पौडेलले हाइकुलाई अझ प्रतीकात्मक बनाएका छन् । महाभारतका हरेक पात्र आफैमा कुनै घटना वा सन्दर्भका प्रतीक हुन् । ती प्रतीकात्मक पात्रका विषयलाई आफ्ना हाइकुमा प्रतीक वा बिम्ब बनाएर हाइकुमा प्राण भरिएको छ । कृष्ण महाभारतको कूटनीतिज्ञ वा चतुर पात्र हुन् ।दिलले आफ्ना हाइकुमा बारम्बार कृष्णको कूटनीतिपनलाई बिम्बका रुपमा प्रयोग गरेका छन् । यक्षको प्रसङ्ग महङ्खवपूर्ण छ । यक्षप्रश्न आफैमा जटिल र बौद्धिक छ । यस्तो जटिल प्रसङ्गलाई हाइकुमा बिम्ब बनाउन सक्नु हाइकुकारको विशेषता हो ।
महाभारतका पाण्डवलाई काञ्जी (नारीको कन्धनी) का रुपमा प्रस्तुत गरेर पाण्डवप्रति गम्भीर व्यङ्ग्य प्रहार गरिएको छ । बकासुर जुन महाभारतको एक राक्षसीय पात्र हो । भीमले उसको हत्या गरेको प्रसङ्ग महाभारतमा रोचक ढङ्गले वर्णन गरिएको छ । बकासुरलाई ऐँजेरूसँग तुलना गरी प्रतीकात्मकतालाई अझ प्रभावकारी बनाइएको छ । अर्जुनको सारथिलाई काली बिराली, विष्णुलाई महापातक, पाण्डवको स्वभावलाई कामरुप, दुर्याेधनलाई दुर्बुद्धि, चीरहरणलाई तुरग (घोडा) आदिको प्रतीक बनाएर हाइकुलाई बढी व्यङ्ग्यात्मक बनाइएको छ । पराशर, दधीचि, देवयानी, ययाति, शिखण्डी,अग्निहोत्री, अग्नि कवच, बभ्रुवाहन, द्रोण, शकुनी, अङ्गद, द्रौपदी हाइकुभित्रदेखिएका प्रतीकात्मक महाभारतीय पात्रहरु हुन् ।
महाभारतसँगै रामायण, श्रीमद् भागवत्, देवी पुराण, विष्णु पुराण, शिव पुराणका पात्र र प्रसङ्गदिलका हाइकुका बिम्बप्रतीकका रुपमा पङ्क्तिबद्ध उभिएका छन् । धार्मिक आस्था बोकेका पौराणिक वा धार्मिक ग्रन्थका अधिकांश पात्रमाथि लेखकको दृष्टिकोण सकारात्मकताभन्दा नकारात्मकतातर्फ केन्द्रित छ जुन ग्रन्थका पात्रविना स्रष्टाका लगभग आधा हाइकु अपुरा हुन्छन् । शालिग्रामलाई रापिलो, धर्मलाई डम्फु, शिलारुपी ईश्वरलाई दानवी रात, इन्द्रधनुषलाई जमरा धान, नारदलाई खुर्सानी चोर, कुशको औँठीलाई मुसाफिर मन्त्रणा, आशुतोष (शिव) लाई कोहिनुर, नन्दन वनलाई कलुषित कण्टक, जनकलाई भदौरे झरी, विष्णुलाई भँगालो, चन्द्रलोकलाई पिठ्युँको ढेबु, देवगणिकालाई लाछीका डाडुपन्यु, रामलीलालाई थारो विचार, पशुपतिको दर्शनलाई छट्टुका पट्टु, वृषवाहनलाई अन्नपूर्णको ढिस्को आदि धार्मिक–पौराणिक ग्रन्थबाट लिइएका प्रतीक हुन् ।
त्यसै गरी सुँडे भुँडे देवता, स्वर्गको बागी, काल भैरव, लक्ष्मी, मन्दोदरी, रावण, भोगवादी देवता, बली, सप्तर्षि, पार्वती, सन्त्रस्त देवता, महाकाली, ईश्वर, अयोध्या, मधुकैटभ, स्वर्ग, हनुमान, ऋषभदेव, मूर्ति, मन्दिर, इन्द्र, परी, सुग्रीव, राम, महादेव, देवादिदेव, बुद्ध, रामायण, सती, अप्सरा, अमृत, वैकुण्ठ, कुम्भकर्ण, उर्वशी, चित्रगुप्त, इन्द्रलोक, यमराज, सूर्यग्रहण, कुम्भीपाक, सूर्य देव, दैत्य, गोपिनी, लक्ष्मण, सीता, स्वस्थानी, तुलसी मठ, कंस, भिक्षु, रामलीला, चन्द्रलोक, कल्पवृक्ष, कुबेर, साधना, नन्दन वन, भष्मेश्वर, आदिनाथ, गायत्री, चण्डी, हविष्य, हवन, पीयूष आदि पौराणिक वा धार्मिक ग्रन्थसँग सम्बन्धित विषयवस्तु हुन् । पौराणिक विषयवस्तुलाई नै बिम्बप्रतीक बनाएर पौराणिक पात्र वा विषयमाथि नै धज्जी उडाउन सक्ने क्षमता दिल पौडेलमाछ ।
कतिपय हाइकुमा पूर्वीय दार्शनिक सन्दर्भलाई पनि बिम्ब र प्रतीकका रुपमा प्रस्तुत गरिएको छ । पूर्वीय दर्शनले सांसारिक जीवनलाई मिथ्या सम्झिन्छ । भौतिकवादलाई क्षणिक मान्छ । आत्मिक ज्ञानविना मोक्षप्राप्ति सम्भव छैन भन्ने विषयमाथि स्पष्ट दृष्टिकोण प्रस्तुत गर्छ । यिनै विषयलाई प्रतीक र बिम्ब मानेर दिलले आफ्ना दिलका बहहरु पोखेका छन् । साङ्ख्य दर्शन, योग दर्शन, वेदान्त दर्शनका कतिपय सन्दर्भहरु प्रतीकात्मक रुपमा लिइएका छन् । मोक्षजस्तो दार्शनिक विषयलाई प्रजातन्त्रजस्तो व्यावहारिक पक्षसँग जोडेर हेरिएको छ । मानवीय चञ्चले आत्मालाई समेत अन्धविश्वासी बनाइएको छ । भ्रान्तिमय सांसारिक जगत्मा कावा खाँदै पतङ्गीय जीवन बिताउने नाशवान्, क्षणभङ्गुर जीवनले हाम्रा दार्शनिक र पौराणिक ग्रन्थहरुको गहिराइ नाप्न सकेनौँ । त्यसैले पनि दिल पौडेल मानवीय आस्थामाथि व्यङ्ग्य प्रहार गरिरहेका छन् ।
समग्रमा ऐलानी घामका हाइकुहरु बौद्धिक कसीमा रगटिएका छन् । बिम्बप्रतीक प्रयोग गर्नलाई विषयवस्तुको गहिरो ज्ञान हुनु आवश्यक छ जुन दिल पौडेलमाछ । एउटा प्रतीकले एउटा प्रसङ्ग वा घटनालाई बोकेको हुन्छ । एउटा हाइकुभित्र दुईदेखि तीनओटा बिम्बप्रतीकको प्रयोग भएका छन् । हरेक बिम्बप्रतीकले पाठकको मस्तिष्कमा एउटा फराकिलो सन्दर्भ छोडेको हुन्छ । सन्दर्भ यतिमात्र हो कि आफूले खाने थालमा चुठ्नु हुँदैन । आफू जन्मिएको धर्ती बिर्सिनुहुँदैन । भाइ फुटाएर गवार लुटाउनेहरु धेरै छन् । गाई मारी गधा पोस्नु भनेको आकाशतिर फर्केर थुक्नु जस्तै हो । हल्लिएको दाँत एक दिन फुक्लिन्छ फुक्लिन्छ । हाम्रा दार्शनिक धरोहरहरु हाम्रा दरिला आधार हुन् । तिनीहरुलाई अझ उद्याउनुपर्छ । चिनीको नाम जपेर मुख गुलियो हुँदैन । तेल निकाल्ने पदार्थमा तैलीय गुण हुनुपर्छ । बालुवा निचोरेर तेल निस्कँदैन । तैलीय गुण भएका पदार्थलाई चिन्ने कोसिस पाठकमा हुनु जरूरी छ । नत्र हाइकु मात्र हाइकु रहन्छ । बाँदरले अङ्गुर खट्टा छ भनेर छोडे जस्तै हाइकुका ग्रन्थहरु पुस्तकालयमा सजिएर बस्ने छन् ।
स्रष्टालाई साधुवाद । कृति अमर हुन्छ । यस युगका पाठकले नबुझेर केही हँुदैन । रावण मरेर लङ्का खाली हुँदैन । नयाँ रावण जन्मिन्छ र लङ्का पनि नयाँ बन्छ ।
अस्तु