देबकी केसी
बैँसमा त पोकली औधी सुन्दरी थिइन् । त्यसो त आज उमेरले पचासौँ वसन्तमा पाइला चाल्दा पनि उनको सुन्दरतामा कमी देखिँदैन । गाउँकै एउटा सामान्य व्यापारीसित बिहे हुुँदा पोकलीको उमेर लगभग चौध वर्षको मात्र थियो तर व्यापारी पच्चिस नाघिसकेका थिए । विवाहपश्चात् पोकलीले व्यापारी लोग्नेको राम्रो माया पाएकी थिइन् । सामान्य गाउँलेभन्दा अलि सम्पन्न व्यापारीले पोकलीलाई अभावसँग टाढै राख्यो । सानै उमेरमा विवाह भए पनि पोकलीको जीवनमा दुःखको छायाँसमेत पर्न दिएको थिएन व्यापारी लोग्नेले । त्यसमाथि दुई छोरा र दुई छोरी जन्माएर लोग्नेको पोल्टामा हालिदिएपछि त पोकलीको जीवनमा मायाको भारी बर्सात नै भयो । गाउँलेहरु सबै इष्र्यालु बन्थे पोकलीको सुखी जीवनसित ।
एकदिन अचानक मुटुको व्यथाले व्यापारी लोग्नेलाई मृत्युलोक पु¥यायो । त्यसपछि त देखिन थाले पोकलीका जीवनमा दुःखका रेखाहरु । व्यापारी लोग्नेले जोडेको जायजेथा सबै छोराछोरी पढाउँदा रबिहे गर्दा सकियो । सम्पतिका रुपमा बाँकी रह्यो ठिङ्ग एउटा घर । दुःखको बोझले थाप्लो थिचिँदै गएर होला पोकलीको सुन्दरतामा पनि बिस्तारै धब्बा लाग्न थालेको महसुस हुन्थ्यो तर बैँसालु रहरका छालहरु भने बेजोडसित उर्लिरहेका हुन्थे उनका मनमा ।
पढाइ, लेखाई र बिहेदानपश्चात् छोराछोरी लाखापाखा लागे । पोकली घर रूङ्ने गोठालो मात्र भइन् । फुर्सदिलो र एक्लो जीवन बिताउन पोकलीलाई मुस्किल प¥यो । फुर्सदको समय बिताउने मेलोका रुपमा चारपाँचओटा बाख्रा पालेकी थिइन् उनले । बिहान चुलो जलायो । तारे जङ्गलमा बाख्रागोठालो बन्यो । दिन कटायो । साँझ चुलो जलायो । पेट भ¥यौे । निद नआएपछि लोग्नेको सम्झनामा बिछ्यौना स्पर्स गर्दै मिठो अनुभवको कल्पनामा डुबुल्की मार्दै रात बितायो । पोकलीको जीवन बित्दै थियो यसरीनै ।
तारे जङ्गलमा बाख्रागोठालो हुँदा पोकलीको मुखबोलाउ साथी बनेको थियो कुभिन्डे । वास्तविक नाउँ त उसको राम । पोकलीले जेठो छोरो र कुभिन्डेकी आमाले उसलाई एकै दिन जन्माएका थिए केवल एक घण्टाको अन्तरमा । जन्मदानै उसका हातगोडा अस्वाभाविक रुपमा मसिना र लुला थिए ।पिठियुँमा मासुको डल्लो थियो । दिनप्रतिदिन उसको उमेर त बढ्यो तर उचाइ बढ्न सकेन । बैँसमा पनि उसको उचाइ अन्दाजी साँढेतीन फिटजति मात्र थियो । त्यसमाथि शरीरकै ओजन जति मासुको डल्लो पिठियुँमा बोकेको थियो उसले । पोलियोले सुकेका जस्ता भएका थिए उसका दुईओटा गोडा । ऊ शारीरिक अपाङ्गता बोकेर बाँच्यो समाजमा । शरीरको पछाडि भागमा कुभिन्डोजस्तै डल्लो भएका कारणसमाजले न्वारान गरिदिएको थियो कुभिन्डे ।
आफ्नो वास्तविक नाउँ बिलाएर थपिएको नयाँ नाउँ कुभिन्डेभनेर समाज उसलाई गिज्याउँथ्यो । उसको उचाइमा हाँसो गर्दै समाजले अर्को नाम पनि थपेको थियो बाउन्डे र बामपुड्के । शारीरिक अपाङ्गता बोकेर बाँच्नु उसको रहर अवश्य थिइन तर के थाहा, शारीरिक अपाङ्गता बोकेर जिउनुको यथार्थसभ्य समाजमा गनिने सभ्य नागरिक भनाउँदालाई ?
कुभिन्डेको उमेरले जवानी त छोयो तर उचाइ भने बालपनमै सीमित रह्यो । समयसँगै उसमा पनि जवानीका छालहरु त उर्लन्थे तर बिलाउन बाध्य हुन्थे । शारीरिक अपाङ्गताकै कारण घरबार हुन नसक्दा विवश थियो ऊ भाइको सुखी परिवार देखेर रमाउन । ऊ अपाङ्गमै गनिन्थ्यो समाजका लागि । रााज्यका लागि पनि । किनकि सरकारको अपाङ्गता भत्ता बुझेको थियो उसले । त्यसबाहेक घरका सारा काम शारीरिक रुपले सबल मान्छेले जस्तै गथ्र्यो ऊ । भाडावर्तन सफा गर्ने, भाइका छोराछारी हेर्ने, खाना बनाउने, घर सफा गर्ने सबै कुभिन्डेको थाप्लोमा । वास्तवमा भन्ने हो भने ऊ नोकरजस्तै थियो घरको । शारीरिक अपाङ्गताले बाँचेको उसलाई गधा बनाएर मोज गर्थे शारीरिक रुपमा सक्षममा गनिने उसका भाइका परिवार ।
घरमा पालिएका सातओटा बाख्राका पनि असल सेवक थियो कुभिन्डे । बाख्रागोठालो बनेर तारे जङ्गल जाँदा उसको राम्रो सहकर्मी भइसकेकी थिइन् पोकली । एकअर्काका दुःखसुख साट्ने असल सहकर्मी बनेका थिए उनीहरु । कुभिन्डेको शारीरिक बनावट देखेर हाँस्थ्यो समाज तर उसको शारीरिक बनावटको पनि प्रवाह नगरी हरबखत नजिक रहन्थी पोकली ।
बैँस त आखिर बैँस नै हो, कसले छेक्न सक्छ र बैँसमा रङ्गिन सपना बुन्नेहरुलाई । उसको शारीरिक आकृतिले उसका पनि उर्लंदो बैँसलाई के छोप्न सक्थ्यो र ? ऊ पोकलीलाई देखेर मनमनै रङ्गीन सपनाको महल बनाउँथ्यो । त्यसो त हरबखत ऊसँगै रहँदा तारे जङ्गलमा पोकलीले पनि उससितका रङ्गीन सपना नउनेको कहाँ हो र ? उससितको रङ्गीन सपनाको माला उन्दा उमेरको अन्तरले पनि समाजले शङ्का नगर्नेमा विश्वस्त थिइन् पोकली । अन्यत्र सपना बुनेर समाजमा उल्टै बेइज्जतीको टीका लगाउनुभन्दा त कुभिन्डेसँगको गुप्त सम्बन्ध नै उत्तम ठान्थी पोकली । दुवैका मनमा रङ्गीन सपना थिए । केवल सपनालाई उजागर गर्ने साहस पलाइसकेको थिएन दुवैमा । सपनालाई चपाएर बाँचेका थिए उनीहरु । शारीरिक अपाङ्गताको तगारो हटाएर पूर्ण बैँसको अनुभवमा डुबुल्की मार्न चाहन्थ्यो कुभिन्डे पोकलीसित । पोकली पनि आतुर थिइन् उसको बैँसको उन्मादमा हराउन, उसको शारीरिक अपाङ्गताको तगारो उखेलेर ।
तारे जङ्गलको बाख्रागोठाले जीवनमा कैयौँपटक दुवै एकअर्कालाई हेर्दै मुस्कुराएका थिए । तारे जङ्गलको हरियालीजस्तै एक्लो र अपाङ्गताले भरिएको उनको जीवनमा पनि हरियाली छाएको थियो । मुख मात्र बोल्न डराएको जस्तो । आँखाले दुवैले मनको भाका बुझिसकेका थिए । दुवैभित्र कताकता लाज तगारो बनेर खडा थियो ।
मेरा नि बाख्रा हेर्र्दै गर है कुभिन्डे । म यसो झाङतिर जान्छु । आज खानामा गडबड भएछ कि क्या हो, पेट गडबड भयो भन्दै पोकली दिनहुँ झाङभित्र पस्थिन् । आधा घण्टा जति हराउँथिन् । थाहा छैन, उनी के गरेर बस्थिन् ?झाङबाट निस्कँदा भने उदास अनुहार लिएर निस्किनथिन् । एकदुईपटकको उनको यो बहानालाई कुभिन्डे सोच्थ्यो, पक्कै पोकलीको खानामा गडबड भएछ क्यारे तरउनको हरदिनको बहानाले कुभिन्डे प्रस्ट भइसकेको थियो कि पोकलीको खानामा होइन गडबड मनमा थियो । मनको गडबड मुखले ओकल्न नसक्दा खानालाई दोषी बनाउँथी पोकली । पोकली सधैँझाङबाट निस्कँदाको उदास अनुहारलाई कुभिन्डेले राम्रोसित नियालेको थियो ।
कुभिन्डे असल मौकाको पर्खाइमा थियो । आखिर किन रोक्न सक्थ्यो र शारीरिक अपाङ्गताले उसलाई । पोकलीको मनको चाहना पनि उसले बुझेको थियो । ऊ चाहन्थ्यो, उमेर, नाता र शारीरिक बनावटको तगारो हटाएर बैँसको रहर खन्याउन पोकलीमाथि । आखिर पोकलीको पनि चाहना त्यही थियो, उमेर, नाता र शारीरिक बनावटको तगारो फालेर कुभिन्डेले आफ्नो सारा बैँसको रहर आफूमाथि मात्र एकलौटी रुपमा खन्याओस् । मन भए त रुप पनि नचाहिँदो रै’छ । मन नभएपछि सुन्दर रुपमा पनि खोट देखिँदो रै’छ । उनीहरु दुवै जना एकअर्काको मनमा अटाइसकेका थिए । त्यसैले होला रुपको तगारो फेरिपनि एकदिन सदाझैँ पोकली त्यही बहाना बनाएर झाङभित्र पसिन् । अब थिचिएका आफना रहरलाई स्वतन्त्र छाडिदिने विचारले कुभिन्डेलाई निकै घत्घचायो । ऊ पनि बाख्रा धपाउँदै चिप्लिएको बहानामा त्यहीँझाङमा पस्यो । खिन्न अनुहार पारेर झाङभित्र पसेकी पोकली आफ्नो अङ्गको स्पर्शमा झाङभित्र रमाइरहेकी थिइन् । पोकली सधँै खाना गडबडको बहाना बनाएर झाङभित्र के गर्दिरहिछिन् भन्ने बुझ्न कुभिन्डेलाई समय लागेन । उसलाई अनायास आफ्नो समीप देख्दा पोकलीको मुहारमा तेज छायो । कुभिन्डेको अनुहार पनि उस्तै तेजमय भयो ।
कुभिन्डेले बल्ल धेरै समयपछि आफ्नो मनको रहर बुझेछ भने सोचेर पोकली मक्ख थिइन् । कुभिन्डे पनि आफ्नो मनको रहर पूरा गर्न पाउने समय आएको देख्दा निकै खुसी थियो । धेरै समयपछि समाज, लाजर शारीरिक अपाङ्गताको तगारो बिर्सेर उनीहरुले निमोठेर राखेका आफ्ना रहरलाई त्यही झाङभित्र पूरा गरे । आफूहरुले बुनेका कल्पनालाई यथार्थको स्वाद चाखेर उनीहरु निकै बेर झाङमा रमाए ।
मिठो घाँसको खोजीमा पोकलीको एउटा बाख्री आफ्नो पाठोसहित त्यहीँझाङमा छिरेपछि भने उनीहरुले आफ्नो स्वर्गीय संसारमा केही बाधा पुगेको महसुस गरे तर पनि पशु हो भनेर परवाहनै राखेनन् । निकै बेरपछि थकान मिसिएको अनुहारमा दुवैले उज्यालो पस्केर हाँस्दै भने, घाँस त जता पनि छ नि यिनीहरुलाई पनि यहीँ आउनुपर्ने । बाख्री र पाठोलाई दुवैले त्यहाँबाट खेदे । सायद नसोचेको काममा बाधक बने भन्ने लागेर होला बाख्री पनि लजाउँदै आफ्नो पाठो लिएर झाङबाट बाहिर निस्किइन् ।
झाङबाट बाहिर निस्कँदा पोकलीको अनुहारमा आज पहिलेको भन्दा बेग्लै किसिमको चमक थियो । कुभिन्डेको मुहारमा पनि उत्साह त्यतिकै बेजोडको थियो । सायद दुवैले निमोठिएका रहरलाई स्वतन्त्र भएर पूरा गर्न पाएर होला, यति धेरै खुसी पलाएको उनीहरुको मुहारमा । त्यसपछि त तारे जङ्गल र उनीहरु एकअर्काको पूरकनै बने । दुवै तारे जङ्गलविना बाँच्न नसक्ने पो भए । त्यसपछि भने एक्लो र उदासीपना उनीहरुका जीवनबाट भाग्दै गयो । तारे जङ्गलका धेरै झाङ र खोल्साहरु नियमित रुपमा उनीहरुका मनका रहर पूरा गर्ने महल बन्न थाले । त्यहीँझाङ र खोल्साको मिठो तृप्तिको अनुभव बोकेर साँझ बाख्रा लिएर उनीहरु घर फर्कन्थे र रात त्यहीँ झाङ र खोल्साको तृप्तिको अनुभव बोकेर आफ्नो आफ्नो बिछ्यौनामा रात कटाउँथे ।